आन्दोलनका विषयमा मधेसी मोर्चाभित्र विवाद

madhesi-leaders

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सडक आन्लोलन गर्ने विषयमा विवाव बढ्दै गएको छ। वार्ताको औचित्य नभएको भन्दै सडक आन्दोलनको पक्षमा रहेका फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीका नेताले बताइरहेका बेला फोरम लोकतान्त्रिकले भने संवाद समितिमार्फत् विवाद सुल्झाउनुपर्ने बताएपछि मोर्चाभित्र विवाद बढेको हो।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको केही दिन अगाडि बसेको केन्द्रीय समितिको बैठकले सहमतिको पहल गर्नुपर्ने र सहमति हुनै नसक्ने अवस्था आएमात्र सडक आन्दोलनमा जानुपर्ने निर्णय गरेको थियो। फोरम लोकतान्त्रिको उक्त निर्णयपछि मोर्चाभित्र विवाद झन बढेको छ। ‘हामीले सहमतिलाई पहिलो प्राथमिकतामा राखेका हौं,’ फोरम लोकतान्किका केन्द्रीय सदस्य लक्ष्मण थारुले भने, ‘सहमति हुनै नसक्ने अवस्था आयो भने त सडक आन्दोलनको विकल्प छैन।’

फोरम लोकतान्त्रिकले सहमतिको सम्भावना अन्त्य भइनसकेको निष्कर्ष निकाल्दै सहमतिको प्रयास गर्ने जिम्मा अध्यक्ष विजय गच्छदारलाई दिएको छ। स्रोतका अनुसार गच्छदारले माघ ८ गते सहमतिका लागि आफूले राखेको प्रस्तावप्रति सत्तापक्ष दल सकारात्मक भएको भन्दै आफ्नो प्रस्तावमै सबै दल एकै ठाउँमा बस्ने वातावरण बन्ने बैठकमा बताएका थिए।

आन्दोलनमा तत्काल जाँदा त्यसलाई जनताले नरुचाउने प्रसंग सुनाउँदै गच्छदारले केन्द्रीय समितिको बैठकमा सहमतिबाटै संविधान जारी गर्नुपर्ने र त्यसको लागि आफूले पहल गर्ने बताएका थिए।

मधेसी मोर्चाका अन्य घटकले भने सहमतिको सम्भावना टरेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन्। फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले आन्दोलनमा जाने विषयमा मोर्चाभित्र कुनै विवाद नरहेको दाबी गर्दै मोर्चाका अधिकांश दल आन्दोलनको पक्षमा रहेको दाबी गरे। ‘कतिपय अवस्थाम विजय गच्छदारजीले सहमतिबाटै जाउँ भन्नुभएको छ,’ राउतले भने, ‘सहमतिको पक्षमा त सबै दल छन् र सहमतिको सम्भावना नरहेको अवस्थामा आन्दोलनका विकल्प रहँदैन।’ उनले फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीले स्पष्टरुपमा आन्दोलनमा जाने निर्णय गरिसकेको जनाउँदै मोर्चाभित्र कुनै विवाद नरहेको दाबी गरे।

तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने आन्दोलनको विकल्प नरहेको भन्दै सबै कुरा आन्दोलनबाट छिनोफानो हुने दाबी गरे।

फोरम लोकतान्त्रिकका एक नेताका अनुसार मोर्चाभित्रका केही दलमा सहमतिविरोधी नेता हाबी भएकाले केही समस्या भएको बताए। ‘सधैंभरि सत्तामा बसेका केही दलका केही नेता अहिले सडक आन्दोलनको कुरा गर्दैछन,’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘विजय गच्छादारले ल्याएको प्रस्तावमा सहमति जुट्यो भने गच्छदारको हाइट बढ्छ भनेर सहमति हुन नदिने प्रपन्च भइरहेको छ।’

Leave a Reply

Your email address will not be published.