संविधानमा जनजाति महासंघको ध्यानाकर्षण

nagendra Kumal

नेपाल आदिवासी जनजाति महासंघले अन्तरिम संविधानको राज्य पुनसंरचना सम्बन्धी व्यवस्थामा उल्लेख भए अनुसार जातीय, भाषिक, सांस्कृतिक, समुदायको बसोबास, भौगोलिक, ऐतिहासिक निरन्तरता, सामथ्र्यका आधारमा राज्य पुनःसंरचना हुनुपर्ने मागसहित सभासद्हरुको ध्यानाकर्षण गराएको छ । उसले ऐतिहासिक पृष्ठभूमिको पहिचानलाई मध्यनजर गरी प्रदेशको नामांकन गर्न आग्रह गरेको छ ।  महासंघले सोमबार बानेश्वरस्थित एक होटेलमा भेला बोलाएर आफ्ना मागका बुँदाहरुप्रति सभासदहरुको ध्यानाकर्षण गराएको हो । महासंघले विगतमा सरकार र आदिवासी जनजातिबीच भएका सम्झौता लगायतका ११ बुँदे माग अघि सारेको छ । महासंघका अध्यक्ष तथा हालै मनोनित सभासद नगेन्द्र कुमालले सभामुख, प्रधानमन्त्री, राष्ट्रपतिलगायत निकायको ध्यानार्षण गराउने जनाए । 

‘मुलुक यतिबेला संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा छ तर यति नै बेला मुलुकमा जताततै अन्योल र अनिश्चितता व्याप्त छ,’ महासंघको ध्यानाकर्षणपत्रमा छ, ‘संघीयता, निर्वाचन प्रणाली, न्यायपालिका, शासकिय स्वरुप र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने बारे केही राजनितिक दलहरु विगतको नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयूक्त संघर्ष समिति र नेपाल सरकार बीच भएको २० बुँदे तथा ९ बुँदे सहमति तथा अन्तरिम संविधान २०६३ बाट पछाडि हट्न खोजिरहेका छन् ।’ साथै, उत्पीडित, अन्याय, विभेद, बहिष्करणमा पारिएका आदिवासी जनजातिहरुको पहिचान, हक अधिकार सुनिश्चित हुने संविधान नबन्ने खतरा बढेको भनिएको छ ।

महासंघले सार्वभौमिकता र राष्ट्रिय स्वाधिनताको रक्षा, पहिचानसहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्र, मिश्रति निर्वाचन प्रणाली हुनुपर्ने भनेको छ । ‘राज्यका सबै अंग र तहहरुमा सिमान्तकृत, अतिसिमान्तकृत, लोपोन्मुख तथा जातीय जनसंख्याको आधारमा, समाबेशी तथा समानुपातिक प्रतिनिधित्व र आदिवासी जनजातिहरुको स्रोत र साधन माथिको पहुँच र नियन्त्रण अब बन्ने नयाा संविधानमा सुनिश्चित गर्न नेपाल आदिवासी जनजाति महासंघ जोडदार माग गर्दछ,’ उल्लेख छ । पहुँच र प्रतिनिधित्व ग्यारेन्टी गर्नको लागि समानुपातिक समावेशी प्रतिनिधित्व सहितको दुवै तहमा मिश्रति निर्वाचन प्रणाली अपनाउनु पर्ने भनेको छ ।

स्वतन्त्र, निष्पक्ष, पंहुज र सहज न्याय प्राप्तिका लागि समानुपातिक समावेशी न्याय प्रणाली, संघीय न्यायिक आयोग र प्रदेशिक न्यायिक आयोग हुनु पर्ने भनेको छ । स्थानीय, प्रान्तीय र संघीय अदालतहरुमा आदिवासी जनजातिहरुको प्रथाजनित कानुन तथा आईएलओ-१६९ र संयुक्त राष्टसंघीय घोषणापत्र -युनडि्रप) ले दिएको अधिकारको व्याख्या तथा न्याय निरुपणका लागि छुटै ईजालसको व्यवस्था हुनुपर्ने भनेको छ । आदिवासी जनजातिहरुको सर्वाङ्गण विकास तथा अधिकारहरु स्थापित गर्नको लागि आदिवासी जनजाति संवैधानिक आयोगको सुनिश्चित गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published.