छोरीलाई स्कुल पठाउन साइकल

Kamalari_Cycle

दुर्गालाल केसी– विद्यालय जान एक घन्टा हिँड्नुपर्ने बाध्यताबाट गंगापरस्पुर ३, कटियानगाउँकी पुनम चौधरी अब मुक्त भएकी छन् । शनिबार साइकल पाएपछि उनलाई अब विद्यालय नियमित जान पाउने आशा पनि बढेको छ । ४ कक्षा अध्ययनरत पुनमलाई साँझ-बिहान घरको काम सकेर विद्यालय नियमित जान निकै कठिन थियो । आर्थिक अवस्था कमजोर भएका पुनमजस्ता बालिकाको समस्यालाई मध्यनजर गरी गढवा, गंगापरस्पुर र गोबरडिहा गाविसमा साइकल अभियान चलाइएको छ ।

चार वर्षदेखि जारी यो अभियानले विद्यालयमा छोरीहरूको संख्या बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आमा समूह गंगापरस्पुरकी अध्यक्ष बिमला चौधरीले बताइन् । ‘साँझ-बिहान घरको काम भ्याएर समयमै विद्यालय पुग्न निकै समस्या हुन्छ,’ उनले भनिन्, ‘साइकल पाएपछि विद्यालय जान प्रोत्साहन मिलेको छ । साइकल पाउनलाई पनि छोरी विद्यालय पठाउने चलन बढेको छ ।’

सानो रकममा पनि छोरीलाई कम्लरी पठाउने अभिभावक अहिले विद्यालय पठाउन तयार भएको ७ कक्षा अध्ययनरत चैनपुरकी शर्मिला चौधरीले बताइन् । ‘एक-दुई वर्ष विद्यालय भर्ना भयो, त्यसपछि काममा गयो । यहाँ छोरीलाई नपढाउने रोग नै थियो,’ उनले भनिन्, ‘साइकल पाइने भएपछि बाआमा पनि छोरी पढाउन तयार भएका छन् ।’

छोरीलाई कम्लरी पठाउन मोलमोलाई गर्ने माघी पर्व अब शिक्षाका लागि हौसला लिने अवसर बनेको छ । पाँच वर्षअघिसम्म माघ १ देखि थारू समुदायका छोरीलाई कम्लरी पठाउने प्रचलन थियो । यस प्रचलनलाई निरुत्साहित गर्न माघीको अवसरमा छोरीलाई विद्यालय पठाउन साइकल दिने गरिएको छ । शनिबार ५४ बालिकाले साइकल पाएका छन् ।

छोरीलाई विद्यालय पठाउन नसक्ने विपन्न र कम्लरी पठाउने थारू समुदायलाई लक्षित गरी यो अभियान थालिएको साइकल वितरण गर्दै आएको संस्था क्रियटिङ पोसिबिलिटिज -सीपी) नेपालका निर्देशक दिनेश सापकोटाले बताए । ‘साइकलले बालिकालाई विद्यालय जान प्रोत्साहन गरेको छ । अभिभावक पनि साइकलप्रति चासो दिन थालेका छन्,’ उनले भने, ‘सानो उमेरमा साइकलका कारणले पढ्न जान्छन् । ठूलो भएपछि आफैं पढ्ने चेतना विकास हुन्छ । ध्यान दिने भनेकै बाल्यकालमा हो ।’

१२ वर्ष पुगेका बालिकालाई साइकल दिने गरिएको छ । साइकल पाउन १२ वर्षसम्म कुर्नुपर्ने भएपछि छोरीलाई आधारभूत शिक्षा दिलाउन अभिभावक तयार हुने सापकोटाले बताए । साइकल पाइने भएपछि आमाबुबा पनि विद्यालय पठाउन तयार भएको गढवाकी ३ कक्षा अध्ययनरत कविता कुमालले बताइन् । ‘हिँड्दै विद्यालय आउँदा-जाँदा धेरै समय लाग्छ । यसले घरको काम नोक्सान हुन्छ भन्ने थियो,’ उनले भनिन्, ‘साइकल पाएपछि विद्यालय छिटो पुग्न र घर र्फकन पनि सजिलो भएको छ । घरको काममा कम हानि पुग्छ । नत्र पढाइ छुटाएर कम्लरी पठाइहाल्थे ।’

साइकल वितरणमा अर्को सर्त बनाइएको छ अविवाहित । पढ्दापढ्दै विवाह गर्नेले साइकल नपाउने भएकाले बालविवाह निरुत्साहित भइरहेको गढवाकी सीता कुमालले बताइन् । ‘विवाह नगरी पढ्नेले मात्र साइकल पाउँछन् । विवाह गर्दै, पढाइ छोड्दै गर्ने चलनलाई यसले कम गरेको छ,’ उनले भनिन्, ‘अब दुःख गरेर भए पनि पढ्नुपर्छ भन्ने भावना विकास भएको छ ।’ चार वर्षअघि १६ जनालाई साइकल बाँडेर यो अभियानको सुरुवात गरिएको थियो । दोस्रो वर्ष २६, तेस्रो वर्ष ३६ र यस वर्ष ५४ जनालाई साइकल बाँडिएको छ ।

बाल कल्याण समितिको अगुवाइमा २०६५ माघ १ गते जिल्लालाई कम्लरी मुक्त घोषणा गरी कम्लरीलाई घरमा फर्काउने अभियान थालिएको थियो । मुक्त कम्लरी विकास मञ्चका अनुसार हालसम्म पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १२ हजार बढी कम्लरी कामबाट मुक्त भएका छन् ।

कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published.