जनजाति महासंघका महासचिव भन्छन्, ‘आङकाजी प्रवृत्ति’ले जनजाति आन्दोलन अप्ठेरोमा

Pemba Gurung

नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटेले आङकाजी शेर्पा प्रवृत्तिका कारण नेपालको जनजाति आन्दोलन अप्ठेरोमा परेको बताएका छन् । आङकाजी प्रवृत्तिकै कारण जनजाति आन्दोलन कमजोर बनेको बताएका छन् ।
सुदूरपश्चिमको विकट हिमाली जिल्ला बाजुराको अल्पसंख्यक भोटे समुदायबाट राजनीतिमा सामेल हुने पेम्बा गुरुङ भोटे अहिले सभासद समेत छन् । एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति थालेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न आएका पेम्बा वर्गीय मुक्तिको कुरा गर्दागर्दै जातीय मुक्तिको बाटो हिँड्न थाले । ठाकुर गैरे अनेरास्ववियुको अध्यक्ष हुँदा पेम्बा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
त्यसपछि उनी आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको महासचिव निर्वाचित भए । पेम्बालाई हालै नेकपा एमालेले छुटेको अल्पसंख्यक आदिवासीको तर्फबाट मन्त्रिपरिषदबाट सभासद मनोनित गर्‍यो ।
पछिल्लो समय महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले वर्तमान महासचिव पेम्बा गुरुङ भोटेमाथि ‘जनजाति विरोधी र एमालेको भरौटे’ भन्दै सामाजिक सञ्जालमार्फत तीब्र विरोधको अभियाननै चलाइरहेका छन् । हालै बुटवलमा सम्पन्न महासंघका जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलामा पेम्बामाथि आङकाजी पक्षधरले हातपातको प्रयास समेत गरे ।
सोही भेलाले पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा महासंघ सहभागी नहुने निर्णय गरेपछि महासंघको वर्तमान नेतृत्व र पूर्व नेताहरुबीच वाकयुद्ध चलिरहेको छ ।

तपाईमाथि बुटवलको जनजाति भेलामा आक्रमण भयो नि होइन ?
ममाथि आक्रमण किन भयो भन्ने अहिलेसम्म बुझ्न सकेको छैन । हामीले निम्ता नदिए पनि निवर्तमान महासचिव आङकाजी शेर्पा बुटवल पुग्नुभएछ । उहाँ पुगेपछि हामीले मञ्चमा आसन ग्रहण गरायौं, भाषण पनि गर्न दियौं । उहाँले मञ्चमा उभिएपछि महासंघ विरुद्ध, हाम्राविरुद्ध मनपरि बोल्नुभयो ।
आमन्त्रित मान्छेले आयोजक जस्तै बनेर महासंघ पद्मरत्न नेतृत्वको मोर्चामा सहभागी हुन्छ भन्न थाल्नुभयो । उहाँले बोलेपछि मैले यो विषय बन्दसत्रमा छलफल हुन्छ भनेपछि नियोजित रुपमा दुई चारजना मान्छे ममाथि आक्रमणमा उत्रिए ।

अनि तपाईले आङकाजी शेर्पाको आम्दानीको स्रोत भएको भन्दै विदेशका शाखालाई भेलामा सहभागी हुन दिनु भएन रे नि त ?
आङकाजी शेर्पासँगै बेल्जियम शाखाको अध्यक्ष पीजी शेर्पा पनि जानु भएको रहेछ । उहाँ संघीय समाजवादी पार्टीको नेता पनि हो । त्यो भेला जिल्ला अध्यक्षहरुको मात्र थियो । मैले उहाँलाई प्रवास शाखाका अध्यक्षहरुको भेलामा बोल्न दिइन्छ भनेको हो ।

तपाई, तपाईका अध्यक्ष नागेन्द्र कुमाल र निवर्तमान अध्यक्ष राजकुमार लेखीलाई बाहुनक्षेत्रीको पक्षमा लागेको आरोप पनि सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ नि ?
हाम्रो पूर्वमहासचिव आङकाजी शेर्पा र उहाँका केही मान्छेले यस्तो गरिरहेको भन्ने हामीले बुझेका छौं । तर, उहाँहरुले हामीलाई जे आरोप लगाइरहनुभएको छ, आफ्नो अनुहार एकपटक हेर्न आग्रह गर्छु । वास्तवमा नेपालको आदिवासी जनजाति आन्दोलनमा आङकाजी शेर्पा प्रवृति एउटा नकारात्मक प्रवृत्ति हो, जसले हाम्रो पहिचानको आन्दोलनलाई अप्ठेरोमा पारेको छ । फेसबुक र सोसल मिडियामा उट्पट्याङ लेख्दैमा र ठाउँ कुठाउँ उट्पट्याङ हर्कत गरेर हिँड्दैमा आदिवासीको अधिकार स्थापित हुँदैन ।
अर्को कुरा, बाहुन क्षेत्रीलाई गाली गरेर हाम्रो आन्दोलन सफल हुँदैन । म वर्गीय विभेद हटाउन राजनीतिमा लागेको मान्छे हुँ । पछि बुझ्दै जाँदा वर्गीमात्र होइन, जातीय विभेद पनि रहेछ भन्ने देखेर जातीय मुक्तिको आन्दोलनमा हिडेको हुँ । यस्ता कमजोर मानसिकताका व्यक्तिहरुको आरोपबाट बिचलित हुन्न ।

नयाँ संविधानमा आदिवासी जनजातिका अधिकार स्थापित गर्न एकजुट हुने बेलामा तपाईहरु त फुट्नुभयो होइन ?
हामी फुटेका होइनौं, जनजाति महासंघको छाताबाट केही हाम्रा पूर्वजहरुले षड्यन्त्रमूलक ढंगबाट अलग हुन खोज्नुभयो र गल्ली गल्लीमा विभिन्न मोर्चा खोल्दै महासंघलाई कमजोर बनाउने प्रयास भयो । तर, महासंघका जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाले एकमतले निर्णय गरेर नया संविधानमा आदिवासीका सबै अधिकार स्थापित गर्न महासंघकै नेतृत्वमा आन्दोलन गर्ने र दबाब सिर्जना गर्ने निर्णय भइसकेको छ ।
त्यसअघि हामीले संघीय परिषद सचिवालय र ५६ ओटा जातीय संगठनहरुको भेलामार्फत पनि म्यान्डेट लिइसकेका छौं ।

पद्मरत्न तुलाधरको नेतृत्वमा गठित राष्ट्रिय आन्दोलनमा सहभागी नहुने निर्णय चाहिँ किन गर्नुपर्‍यो त ?
यसबारेमा केही भ्रम छन्, त्यसलाई तोड्न चाहान्छु । नेपाल आदिवासी जनजाति महासंघको २४ वर्षको इतिहासमा महासंघ कुनै पनि संगठन वा मोर्चाको नेतृत्वमा एउटा घटकका रुपमा सहभागी भएको छैन र हुन पनि सक्दैन । तर, दुर्भाग्य नै भन्नुपर्छ, महासंघका केही पूर्वनेताहरुले महासंघलाई कमजोर बनाउने र सिध्याउने खेल लामो समयदेखि खेल्दै आउनुभयो । उहाँहरुले पछिल्लो समय पद्मरत्न तुलाधरलाई खडा गर्नुभयो । तर, महासंघ व्यक्तिको पछि लाग्न सक्दैन ।
दोस्रो कुरा महासंघ भनेको आफैंको विशाल संगठन हो । यसमा कांग्रेस, एमाले, माओवादीलगायत सबै दलमा आवद्ध जनजातिहरु छन् । गाउँदेखि प्रवाससम्म संगठन छ । यस हिसाबले जनजाति महासंघ भनेको तीन दलभन्दा पनि ठूलो संगठन हो । हामीले चाहेको खण्डमा जस्तोसुकै आन्दोलन पनि हाम्रो नेतृत्वमा उठाउन सक्छौं, कुनै व्यक्तिलाई गुरु थाप्न जानु पर्दैन ।
तेस्रो कुरा चाहिँ महासंघ सबैको साझा हो, यसमा कांग्रेस एमालेका मान्छेहरु पनि छन् । तर उहाँहरुले गठन गरेको राष्ट्रि आन्दोलन समिति भनेको एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धनको एउटा जातीय घटकमात्र हो । आज महासंघ एउटा दलको मोर्चामा घटक भएर जाने हो भने भोलि कांग्रेस एमाले लगायत अन्य दलका जनजातिले अर्को मोर्चा बनाउलान्, महासंघ कता लाग्ने ? त्यसैले महासंघको नेतृत्वमा सबै आउनुपर्छ भनेको हो ।

अनि तपाईका अध्यक्ष र पद्मरत्न तुलाधरले संयुक्त वक्तव्य नै जारी गरेर संयुक्त रुपमा जाने भनेको होइन ?
हामी पद्मरत्न तुलाधर नेतृत्वको आन्दोलन समितिसँग पनि सहकार्य गर्न लचिलो थियौं । तर, त्यहाँभित्र रहेका महासंघका पूर्वनेता सुरेश आलेमगरदेखि आङकाजी शेर्पासम्मका व्यक्तिहरुको संकीर्ण व्यवहार र शैलीले गर्दा आम आदिवासी जनजाति त्यसमा जान नसक्ने भए ।
उहाँहरु आफू हुन्जेल महासंघ ठीक, आफू नरहेपछि महासंघ सिध्याउने भनेर लाग्नुभयो । उहाँहरु एमालेभित्रका जनजाति नेताहरुलाई जनजाति नै नमान्ने, कांग्रेसका जनजातिलाई जनजाति नै नभन्ने जस्तो अति संकीर्ण चिन्तन बोक्नुहुन्छ । एमालेमा रहेर पहिचानको पक्षमा लड्ने जनजातिहरुलाई छि-छि र दूर-दूर गर्ने अनि माओवादी, संघीय समाजवादीमा रहेका पहिचान बिरोधीलाई पनि अँगालो हाल्ने तरिकासँग त महासंघ सहमत हुन सक्दैन । महासंघसबैको छाता संगठन हो ।

तपाईलाई एमालेले दिएको सभासद छाड्ने कि जनजातिले दिएको महासंघको महासचिव छाड्ने भन्ने चुनौति आइरहेको छ, कुन छाड्नुहुन्छ छाड्नै पर्दा ?
म अहिले जुन पदमा छु, कसैले दयामायाले दिएको पद होइन । म नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनबाट दुई तिहाई बहुमतले निर्वाचित भएको महासचिव हुँ । जसले यस्तो कुरा उठाएका छन्, तिनीहरु आदिवासी जनजातिको मत पाउन नसकेर पराजीत भएकाहरु हुन् । मैले आदिवासी जनजातिको विपक्षमा के अपराध गरेको छु र मैले राजीनामा दिने ?
जहाँसम्म सभासदको कुरा छ, सभासद पनि मलाई तिनीहरुले दयामायाले दिएका होइनन् । मलाई मेरो पार्टीले नेपालका अन्तरिम संविधान अनुसार छुटेका अल्पसंख्यक आदिवासी जनजातिको तर्फबाट आवश्यकताका आधारमा मन्त्रिपरिषदबाट बनाएको हो । म आवश्यकता आधारमा सभासद बनाइएको व्यक्ति हुँ, आदिवासी जनजातिको पक्षमा संविधान बनाउन गएको हुँ, त्यसबाट बिचलित हुने कुरा छैन ।

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष र महासचिवमध्ये राजकुमार लेखी बाहेक अरु सबै पद्मरत्न तुलाधरको मोर्चामा आउ भनेर तपाईहरुलाई दबाव दिइरहेका छन्, यस हिसाबले त जनजाति आन्दोलनको मूलाधार त उनीहरु भए नि होइन र ?
अहिले सुशील कोइराला प्रधानमन्त्री हुन्, माधवकुमार नेपालले भनेको कुरा मलधार हुँदैन । को व्यक्ति कता लाग्यो भन्ने कुराको खासै अर्थ हुदैन । मुख्य कुरा संस्था हो । समग्र आदिवासी जनजाति आन्दोलनको अगुवाइ गर्ने जिम्मेवारी महासंघको काँधमा छ । हामी हाम्रा अग्रजहरुलाई पनि आग्रह गर्छौं । तर, महासंघलाई कमजोर बनाउने र कुनै दलको मोर्चामा सहभागी हुने कुरामा महासंघ सहमत हुन्न ।

महासंघको राष्ट्रिय भेलामा पनि ४६ जिल्लाका अध्यक्षले त पद्मरत्न नेतृत्वको आन्दोलनमा सहभागी हुनुपर्छ भनेर प्रस्ताव राखेका थिए रे त ?
त्यो वक्तव्य जुन आङकाजी शेर्पाले बाहिर लैजानुभयो, सरासर झूठो हो । महासंघका कुनै पनि जिल्ला अध्यक्षले त्यसो भन्नुभएको छैन । केही साथीहरुलाई अर्कै प्रयोजनका लागि भनेर कागजमा सही गराएको भन्ने पनि सुनियो ।

मात्रिका पौडेल/अनलाइनखबर साभार

Leave a Reply

Your email address will not be published.