२५ वर्षपछि थारु फिल्म ‘करम’लाई नेपाली फिल्म जगतले सम्मान गरेको छ। गत कात्तिकमा हङकङमा आयोजित इन्फा अवार्डमा सो फिल्मलाई सम्मान गरेको थियो। त्यही सम्मान आयोजकले फिल्मका निर्माता/निर्देशकलाई एक कार्यक्रममा हस्तान्तरण गरेको छ। वि.सं २०४७ सालमा पहिलोपटक प्रदर्शनमा आएको करम थारु भाषाको पहिलो फिल्म हो। फिल्म बनाउन मुख्य भूमिका परशुराम चौधरीले गरेका थिए। उनी यस फिल्मका अभिनेतामात्र थिएनन्, निर्माता, निर्देशक, पटकथा, ध्वनी, द्वन्द्वलगायत उनी स्वयंले गरेका थिए।
नेपाल म्याक्सको ब्यानरमा निर्मित सो फिल्ममा थारु अगुवा तथा समाजसेवी रामलाल चौधरीको पनि योगदान थियो। उनले फिल्ममा अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए। सोही फिल्मले २५ वर्षपछि सम्मान पाउँदा उनी निकै खुसी भएको बताए। उनले यो सम्मानले थारु चलचित्रकर्मी र थारु समुदायमा उत्साह ल्याएको बताए।
कसरी बन्यो ‘करम’
वि.सं २०४६ साल। देशले एउटा इतिहास रच्ने तरखरमा थियो। जनताहरु बहुदलीय व्यवस्थाका लागि सडक तताइरहेका थिए। तत्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषणा गरे। त्यसपछि संविधान निर्माणबारे चर्चा हुन थाल्यो। थारुहरु पनि आफ्नो हक अधिकार सुनिश्चित गराउन छलफलमा जुटे। साहित्यको माध्यमबाट, चलचित्रको माध्यमबाट कसरी थारु समुदायलाई जागरुक बनाउन सकिन्छ भनेर ब्यापक छलफल भयो।
करम फिल्मको एउटा गीत हेर्नुस्:
त्यतिबेला नै सुनसरीका परशुराम चौधरी म्युजिक नेपालमा ध्वनी सम्पादकको रुपमा काम गर्दैथिए। विभिन्न छलफलपछि परशुराम चौधरीले करम बनाउने निधो गरे। त्यसका लागि साथ दिए रामलाल चौधरीले। परशुराम चौधरीले आफूले इख लिएरै थारु भाषाको पहिलो फिल्म ‘करम’ बनाउने निधो गरेको बताए।
२०४६ सालको सरस्वती पूजाका दिन करमको शुभ मुहूर्त गरियो। सुटिङ भने सुनसरीको झुम्का वरिपरि गरियो। फिल्म पोष्ट प्रोडक्सनमा गयो। पछि फिल्म तयार भयो। फिल्म तयार भएपछि प्रदर्शणको लागि निर्माताहरुलाई हम्मे हम्मे भयो। त्यसबेला सिनेमा हलले थारु फिल्म प्रदर्शन नगर्ने भनेपछि निर्माताहरु जिल्लिए। तर उनीहरु हरेस भएनन्। प्रत्येक थारु गाउँमा जेनेटर र टिभी बोकेर प्रदर्शनमा हिँडेको अभिनेता परशुराम चौधरी बताउँछन्।
फिल्ममा सप्तरी र मोरङिया संस्कृतिबारे देखाइएको छ। त्यसबेला यी दुई ठाउँका थारुहरुले एकअर्का ठाउँका युवायुवतीसँग विवाह गर्दैनथे। यो फिल्मको प्रदर्शनीपछि यी दुबै ठाउँका मानिसहरुमा जनचेतना बढेको परहुराम चौधरी बताउँछन्।
परशुराम चौधरीको लागि ‘टर्निङ प्वाइन्ट’
अढाइ दशकअघि रेकर्डिस्टका रूपमा फिल्म लाइन छिरेका परशुराम चौधरी आज आफैं अभिनय गर्छन्, पटकथा लेख्छन्, निर्देशन गर्छन्। छायांकन, सम्पादक, ध्वनि र पार्श्व संगीतमा समेत उनको अनुभव छ। सुनसरी झुम्कामा जन्मेका उनले २०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्समा डिप्लोमा गरे। लगत्तै नेपाल टेलिभिजनमा एक वर्ष जागिर खाएर छाडिदिए। दस वर्ष म्युजिक नेपालमा काम गर्दा हजारौं गीत रेकर्डिङ गरेको उनको अनुभव छ।
फिल्मको निर्देशन र छायांकनमा कोर्स गर्न सिंगापुर गएपछि उनको कामले गति लियो। आफ्नै समुदायप्रति केही गर्ने अठोटपछि उनी थारु भाषाको फिल्म बनाउन कस्सिए।
‘त्योबेला म एकमात्र चौधरी थिएँ, यो पेसामा,’ उनले भने, ‘मेरो समुदायका लागि मैले केही नगरे कसले गर्ने?’ उनले आफूले इख लिएरै थारु भाषाको पहिलो फिल्म ‘करम’ बनाउने निधो गरेको बताए।
तीन लाखमा यसको निर्माण सकेका चौधरीले डेक, जेनेरेटर र टिभी बोकेर गाउँगाउँ फिल्म देखाए। ‘त्यही फिल्मले मलाई चिनायो,’ उनी सम्झन्छन्, ‘लगत्तै मेरो फिल्म भिडियो महोत्सवमा सेलेक्ट पनि भयो।’
२२ विधाको महोत्सवमा १३ विधामा मनोनीत हुने एकमात्र फिल्ममा ‘करम’ परेपछि उनी थप उत्साहित भए। सुन्धारामा निर्णायक मण्डलले फिल्म हेरिरहँदा परशुराम रत्नपार्कतिर बरालिए। मध्यान्तरमा उनी त्यहाँ पुग्दा ‘चौधरी भाइ खोइ’ भन्दै निर्णायकहरूले खोजी गरिरहेको सुने। उनले पक्कै पनि निर्णायकले ‘खत्तम फिल्म बनाइस्, यस्तो नि फिल्म हुन्छ’ भन्दै गाली गर्ने सोचे। त्यस्तो भएन। निर्णायकबाट राम्रो फिल्म बनाएको टिप्पणी सुनेपछि उनको खुसी अझ बढ्यो।
उनले महोत्सवमा निर्देशन, कथा, पटकथा, ध्वनि, कलाकार, फिल्मलगायत सात विधामा उत्कृष्ट अवार्ड पाए। ‘प्रायजसो अवार्ड वितरण हुँदा मेरै नाम सुनिन्थ्यो,’ उनले सम्भि्कए, ‘सात विधामा अवार्ड पाएर धेरै खुसी भएँ।’ प्रत्येक पाँच किलोको सातवटा अवार्ड ग्रहण गर्दा उनीसँग ३५ किलो जम्मा भएको थियो। उनले बोक्न नसकेर श्रीमती र आफन्तलाई बोकाएर अवार्ड घर लगेको बताए।
त्यसपछि परशुरामले फर्केर हेर्नु परेन। ‘अवार्ड पाएर यो क्षेत्रमा झन धेरै काम गर्ने जाँगर आयो,’ उनी सुनाउँछन्, ‘परिश्रमको फल जो पाएको थिएँ।’ उनी आफू थारु फिल्मको निर्देशक भनेर चिनिँदा गौरव महसुस गर्छन्। ‘थारुको कोखबाट जन्मेर मलाई गौरव लाग्छ,’ उनले भने, ‘त्यसैले प्रेरित भएर मैले थारुका धेरै फिल्म, टेलिसिरियल र डकुमेन्ट्री बनाए। उनी अझै पनि एनटिभी प्लसमा थारु भाषाको टेलिसिरियल बनाउँछन्।
उनको खुबी थारु फिल्मको निर्देशन र अभिनयमा मात्र होइन, पश्चिम बंगालमा बन्ने बंगाली, सुरजापुरी भाषाको फिल्ममा पनि त्यत्तिकै माग छ। बंगाली भाषाको फिल्म ‘साप कन्या, काहार कसुर’को निर्देशन र अभिनय गरिसकेका उनले हाल ‘जीवनेर संघर्ष फिल्म’मा निर्देशक र मुख्य अभिनेताका रूपमा अभिनय गर्दैछन्। मैथिली, भोजपुरी फिल्ममा समेत अभिनय गरिसकेका छन्।
‘भागी के रेखा’, ‘सैंया भेल जमैया’, ‘बेटी’लगायत फिल्ममा उनले निर्माण, निर्देशन र मुख्य भूमिकामा अभिनय गरे। उनी अहिले पनि थारु राजनीतिक विषयमा फिल्म बनाउँदैछन्। ‘राणाकालदेखि अहिलेको गणतन्त्रसम्मै थारु समुदायका कोही न कोही राजनीतिमा सक्रिय छन्,’ उनले भने, ‘उनीहरुको भूमिका कस्तो रह्यो, को कुन पदसम्म पुगे, को मन्त्री बने, यिनै विषय फिल्मले समेट्ने छ।’
‘कट भन्नेवितिकै अभिनय बिर्सिए’
थारु कलाकारहरुलाई क्यामेरा फेस गर्न निकै अफ्ठ्यारो लाग्यो। उनीहरु क्यामेरा अगाडि पर्नेवितिकै अभिनय बिर्सिन्थे। यसले गर्दा सुटिङ नै प्रभावित बन्यो। यसको विकल्पमा निर्देशक परशुराम चौधरीले सबैलाई महिनौ दिन ‘डायलग’ घोकाए। सबैले डायलगसँगै एक्सप्रेसन दिन पनि सिके। पछि फिल्मको सुटिङ गर्न सजिलो भएको परशुराम चौधरी बताउँछन्।
निर्माता रामलाल चौधरीलाई पनि क्यामेरा फेस गर्न बडो धौधौ भयो। उनी पहिलो कटमै अभिनय बिर्सिएको सुनाए। ‘सुटिङ गर्न धेरै नै एक्साइटेड थिए। तर क्यामेरा अगाडि पर्नेवितिकै अभिनय बिर्सिए,’ उनले भने।
करमवीर घोषणा
करमको रजतजयन्तीको उपलक्ष्यमा निर्माण टोलीलले अर्को फिल्म घोषणा गरेका छन्। करम बनेको २५ वर्षपछि सोही दिन अर्थान् यस वर्षको सरस्वती पूजाका दिन ‘करमवीर’को शुभ मुहूर्त हुने परशुराम चौधरीले बताए। यस फिल्मबाट थारु फिल्म जगतमा एउटा नयाँ मोड लिने विश्वास उनले लिएका छन्।