टेक्न्द्र बस्याल– बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारमा दैनिक सात सय बढी पर्यटक आवतजावत गर्छन्। यहाँ इन्टरनेट, टेलिफोन, टेलिभिजन, पत्रपत्रिका र रेडियोको पहुँच कम छ। ठाकुरद्वारका रिसोर्टमा बसेर एक रात बिताउनेलाई सूचना र सञ्चारसँग टाढा हुँदा नियास्रो लाग्नु स्वाभाविक हो। तर पर्यटकको नियास्रोमा उज्यालो ल्याउने काम यहाँका थारू युवायुवतीले गर्दै आएका छन्।
रिसोर्टमा बस्ने आन्तरिक र बाह्य पर्यटकलाई थारू युवायुवतीले झुम्रा र हुर्दंग्वा नाचमा मजाले रमाउने बनाउँछन्। मंसिर, पुष, माघको चिसोमा झुम्रा र हुर्दंग्वा नाचले तातो र गर्मीमा जोसिलो बनाउँछ। ठाकुरद्वारका २२ रिसोर्टमा मागअनुसार युवायुवती नाच प्रस्तुत गर्छन्। हमार सांस्कृतिक युवा क्लब ठाकुरद्वारा-५ का ३१ जना युवायुवती यहाँ पुग्ने पर्यटकलाई थारू समुदायको झुम्रा र हुर्दंग्वा नाच र गीतले मख्ख पार्छन्। उक्त क्लबमा विद्यालयमा पढ्दै गरेका १३ युवा र १८ युवती आबद्ध छन्।
जगदम्बा उच्च माविमा कक्षा ११ मा पढ्दै गरेकी हमार सांस्कृतिक युवा क्लबकी प्रदेशेनी थारूले दैनिक कुनै न कुनै रिसोर्टमा नाचको माग हुने गरेको बताइन्। ‘हामी एक रिसोर्टमा एक घण्टा नाँच र गीत प्रस्तुत गर्छौ,’ उनले भनिन्, ‘एक रिसोर्टबाट तोकेरै एक हजार र पर्यटकले खुसी भएर स्वेच्छाले सहयोग दिन्छन्।’ एक दिनमा एकदेखि तीनवटा रिसोर्टसम्म क्लबका युवायुवती नाच देखाउँछन्। एक रिसोर्टबाट तीन हजारसम्म रकम संकलन हुने उनीहरू बताउँछन्।
क्लबमा कक्षा सातदेखि १२ सम्म पढ्ने युवायुवती आबद्ध छन्। थारूको पुर्ख्यौली कला, संस्कृति बचाउन र देखाउन पाएकोमा थारू युवायुवती खुसी देखिन्छन्। थारू कला, संस्कृति र थारूको अस्तित्व नै मेटिन्छ कि भन्ने डरले अहिले नयाँ पुस्ता सचेत देखिन्छन्। बीबीएएस बोर्डिङ स्कुलमा कक्षा सातमा पढ्दै गरेका सुधन थारूले आफ्नो कला संस्कृति जोगाउन रिसोर्टमा गएर नाच देखाउने गरेको बताए। ‘दिनभर विद्यालयको पढाइ सकेर साँझमा दुई तीन घण्टा रिसोर्टमा साथीहरू नाच देखाउँछन्,’ उनले भने, ‘संकलित रकम क्लबमा सरसामान किन्ने, सामाजिक कार्यमा लगाउने र साथीबीच बाँड्ने गर्छौ।’
उनीहरू संस्कृति संरक्षण मात्रै होइन थारू संस्कृतिको प्रचार गर्न विदेशीलाई दैनिक नाच देखाउँछन्। जापान, अमेरिका, जर्मनी, बेलायत, भारतलगायतका देशबाट पर्यटकलाई नाच देखाउँदै आएका छन् उनीहरूले। यहाँ नयाँ पुस्ताको कला, संस्कृतिमा रमाउन विदेशी पनि हुरुक्क हुने गरेको क्लबकी इन्द्रमा थारूले बताइन्। थारू होम रिसोर्टका सञ्चालक मोहनलाल थारूले क्लबको थारू कला, संस्कृति विदेशी र आन्तरिक पर्यटकलाई परिचित गराउने काम गरेको बताए।
नाचबापत पर्यटकले खुसी भएर रकम दिने गरेको उनले जनाए। हमार सांस्कृतिक युवा क्लबका युवायुवती थारू परम्परागत पोसाकमा सुरुमा झुम्रा र अन्त्यमा जोसिलो हुर्दंग्वा नाच देखाउँछन्। झुम्रा र हुर्दंग्वा नाचमा एकजना मादले, दुईजना नाच्ने र एकजना नक्कलकर्ता जोकर साथ प्रस्तुत गरिन्छ। थारू समुदायको विशेषता एकै प्रकारका पोसाक र दर्जनको समूहमा नाचिने झुम्रा हो। झुम्रा नाचमा लहँगा, चोलिया, सप्की, मादल ट्याम्की, रिवन, झ्याली, खस्टार, माला, बाला चाहिने इन्द्रमाले बताइन्। यो नाचमा करिब १२ जनाको समूह नाचिन्छ।
यो नाच खासगरी कैलाली, कञ्चनपुर, बर्दिया र देउखुरीमा बढी प्रचलनमा छ। यो नाचलाई स्थानको भिन्नता अनुसार झुमरी, झुमरा, झुमर, धुमर र धुमरा आदिले चिनिन्छ। यो नाचमा दुईतर्फबाट आलोपालो गरी गीत गाइन्छ। महिला महिलाबीच र पुरुष पुरुषबीच पनि यो नाच नाच्ने प्रचलन छ। यो झुम्रा नाचमा केटाकेटीसँगै नाच्ने प्रचलन छ। थारू समुदायका उमेर र लिङ्ग अनुसार फरक फरक समूहमा नाचिन्छ।
आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिरिवाज, धर्म र संस्कार भएको थारू जातिका आफ्नै विशेष किसिमको मौलिकता र पहिचानअन्तर्गत झुम्रा नाच पनि पर्छ। थारू समुदायमा सिकार गर्ने, नाचगान गर्ने तथा खेती पशुपालनमा आबद्ध यी जातिको विशेष किसिमको आफ्नै अस्तित्व तथा मौलिकता रहेको छ।
नागरिक पश्चिमेलीबाट साभार