थारू जातिको लोककला, संस्कृति र गीति साहित्य

Tharu Fold Dance-3

छबिलाल कोपिला– नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देशको रूपमा चिनिन्छ। यहाँ प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबास हुँदै आएको छ। ती जातजातिको आफ्नै कला, संस्कृति, रहनसहन, लवाइ–खवाइका साथै बोल्ने भाषा पनि फरक–फरक रहेको छ। यही विविधितामा हाम्रो आफ्नै पहिचान लुकेको छ।

भावनात्मक अभिव्यक्ति लिखित, मौखिक वा सांकेतिक रूपमा अरूलाई अभिव्यक्त गर्ने र अरूको अभिव्यक्ति आफूले सजिलै थाहा पाउने माध्यम भाषा हो र आत्माभित्रको विचार सामाजिक परिवेशमा देखापरेका मानवीय व्यवहार, क्रियाकलाप तथा प्राकृतिक सौन्दर्यलाई कुनै पनि भाषामा लिखित वा मौखिक रूपमा संग्रहित भाव साहित्य हो। साहित्यमा रस, छन्द, गुण, अलंकार, रीति–रिवाज, कला, संस्कृति तथा प्राकृतिक सुन्दरता समावेश गरिएको हुन्छ। मानव समाजमा भाषा र साहित्य एउटा अपरिहार्य तइभ्व हो। यसले हरेक समुदाय तथा जातजातिको रहनसहन, कला, संस्कृतिको पहिचान गराइरहेको हुन्छ। त्यसैले यहाँ बसोबास गर्ने हरेक जातजातिको मौलिक सृजनाको संग्रह नै लोकसाहित्य हो।

लोक गीति साहित्यबारे कुरा उठाउँदा लोक गीति साहित्य के हो? भनेर बु‰नु पर्ने हुन्छ। सामान्यतया कुनै भाषाको लोकलयमा सजिलै गाउन सकिने गीत नै लोक गीत हो। यसै सेरोफेरोमा रहेर सृजना गरिएको साहित्य लोक गीति साहित्य हो। यसमा मधुर भाका, धुन र स्वर समायोजन गरिएको हुन्छ। गीतले निश्चित क्षेत्र ओगट्ने भएता पनि त्यस गीतलाई मौलिक रूपमा उजागर गर्न सकियो भने बृहत् क्षेत्र बनाउन सक्छ। थारू समुदायमा प्रचलित लोक गीतको आफ्नै मौलिक विशेषता रहेकको छ। क्षेत्र अनुसार थारू लोकसाहित्यमा विविधता भए पनि सारमा समान भाव व्यक्त गर्दछ र यसले सामाजिक परम्परा मूल्य र मान्यता अनुरूप आफ्नो छुट्टै पहिचान कायम गरेको छ। थारू लोक गीति साहित्यभित्र सजना, सजनी, झुमरा, माँगर, धमार (धुम्रु, दफैया), मघौटा, सुर्खेल, लगनी, वनगीतवा, शिउफूलवार, राम विहग्रा, छुट्की फूलवार, बर्का फूलवार, उदासी, सिगरु, सखिया, मघौटा, अष्टिम्की गीत, पचरा, मैना, ढक्हेर गीत, विदेशियालगायतका रहेका छन्।

यी प्रचलित लोक साहित्यको कहिले र कसरी सुरुवात भएको हो भन्ने कुरा निश्चत रूपले तोक्न सकिँदैन। लोक साहित्यको इतिहास मानवजातिको उत्पत्ति सँगसँगै सुरु भएको हो। थारू समुदायमा प्रचलित गीतको पनि कुनै लिखित अभिलेख नभएकोले यसको सुरुवात मानव बस्तीसँगै भएको अनुमान गर्न सकिन्छ। मान्छे आफैं श्रमिक भएकोले आफ्नो श्रमलाई सरल र आनन्दमय बनाउनको लागि गीतको सुरुवात गरेको हुनु पर्छ। विशेष गरेर थारू समुदायका मानिसलाई पेसागत रूपमा हेर्ने हो भने पनि खेती किसानी गर्ने भएकोले कहिले खेतबारी, वनजंगल, गाई–गोरुको गोठालो जाँदा या अन्य कुनै काम गर्ने क्रममा सामूहिक या एकल रूपमा गुनगुनाउँदा गुनगुनाउँदै निस्केका सुरिलो स्वरको मौलिक ढाँचामा शब्द व्यवस्थापन गरी तयार गरेको सृजना नै लोक गीत हो। थारू समुदायमा प्रचलित अधिकांश गीतहरू श्रमसँग जोडिएर गाइने भएकोले पनि सजिलै अनुमान लगाउन सकिन्छ। यसरी श्रम गर्दा थकान महासुस नहोस् भनेर या कामलाई सरल र सुगम बनाउनको लागि स्वस्फूर्त रूपमा निस्किएका भावको प्रस्तुति नै लोक भाका हो।

पछि यो लोकसाहित्यको प्रयोग र विस्तार विभिन्न चाडपर्वहरू मेला पर्व एउटा रमाइलो र मनोरञ्जनको रूपमा भयो। चाडपर्वको सुरुवातसँगै मानिसलाई गीतका अतिरिक्त नाच्ने पनि बनायो। नाच पनि गीतको प्रभावबाटै भएको अनुमान गर्न सकिन्छ। गीत गाउँदा उक्त भाव र भाकासँग मानिसलाई झुम्ने बनायो र विस्तारै लय र तालसँगै नाच्न सिकेको हुनु पर्छ। जस्तै सखिया गीत। यसरी अहिले थारू लोक साहित्यलाई हेर्ने हो भने गीत र नाचको पनि एकदम नजिकको सम्बन्ध रहेको पाइन्छ। यो गीत सामूहिक रूपमा नाचिन्छ। यो नाच महिलाले गोलो घेरा या पंक्तिबद्ध रूपमा मादलको तालमा नाच्दै गाउँछन्। यसमा मडरिया (मादल बजाउने व्यक्ति) केही पुरुषबाहेक सबै महिलाहरू हुन्छन्। यस गीतमा विभिन्न सन्दर्भहरू जोडिएका हुन्छन्। यो गीतको केही अंश यस्तो छ।
‘आझु अझु कैले रे डाडु आझु नही अैले रे,
सखिरी! भुरी करैयक मडिया गैलाँ रे अमलाई।’

यस्तै बर्कीमार पनि सखिया नाच जस्तै देउताको स्तुति गीत हो। त्यसैले यो गीतको सुरुवात गर्नु भन्दा पहिले छाँकी (रक्सी) अनिवार्य चढाउनु पर्ने हुन्छ। यो गीत हरेरी पूजापछि सुरु हुन्छ। तर, केही पुराना व्यक्तिहरू यसको सुरुवात थारूहरूको बर्का अट्वारीदेखि सुरु हुने बताउँछन्। बर्कीमार गीत बसेरै पनि गाउन सकिने गीत हो। थारू जातिको पौराणिक बर्कानाच यही गीत गाएर नाचिन्छ तर अहिले यो नाच पनि दुर्लभ भइसकेको छ। गीत भने आंशिक रूपमा कहिलेकाहीँ चाडपर्वको बेलामा सुन्न पाइन्छ।

Tharu Fold Dance-2

यस्तै पर्वगीत मध्ये धमार पनि महइभ्वपूर्ण गीत मानिन्छ। यसलाई धुमरु, दफालगायत नाम दिएर पनि चिनिन्छ। यो गीत पुस महिनाको अन्तिम दिन (सुवर मर्लैक दिन) बाट गाउने बैठाकुर (बसेर गाइने गीत हो। त्यसैले धमार पुसको अन्तिम दिनको साँझ आआफ्नो इष्टमित्रको घरमा गाएर सुङ्गुरको मासु र जाँडसँगै रातभरि जाग्रम बसेर गाइन्छ र बिहान कुलो, घाट, नदी, पोखरीमा गई नुहाइधुवाइ गरी आफ्नो पुर्खा, इष्टमित्रको घरमा सेवाढोग गर्दै आशीर्वाद लिने र दिने गरिन्छ। यसै क्रममा बाँकी रहेको धमार फेरि गाउने गर्छन। धमारको केही अंशः
उजरल दिहवा शंख पिपरहवा,
जेहि तिर बटाँ सिरमल जोगिया,
एक रूप जोगिया सय रूप बसिया
जोगियक बसिया सुनटी सुहावन।।

यी गीतबाहेक थारू लोक गीति साहित्यमा ऋतु गीतहरू थुप्रै छन्। थारू जाति मूलतः श्रमिक भएका कारण आफ्नो कामको साइत हेर्ने पनि आफ्नै किसिमको परम्परा छ। थारू जातिले परापूर्वकालदेखि खेती किसानी पेसा अपनाउँदै आएकोले काम अनुसारको गीतको पनि सृजना गरेको हो। ती गीत मध्ये सजना मुख्य हो। यो गीत जाडोयाम सकिएपछि या शिशिर ऋतुपछि वसन्त ऋतुको आगमनसँगै जब वनजंगलका रूखबिरुवामा नवपालुवा टुसाउन थाल्छन्। यता किसानहरू आफ्नो नयाँ खेतीपातीको लागि बिग्रिएका हलो, कोदालो बनाउँछन्। र, वसन्त पञ्चमीको दिन सबै किसानले आआफ्नो खेतबारीको एक कुनामा हलोले जोतेर या खनेर खेतीपातीको सुरुवात गर्छन्। यही अवसरमा हर्षोल्लाससाथ सजना गाउँछन्। सजनाको केही अंशः
केकरी पलाइल सरी सुगुन रे,
उरीरे बना लगलो।
केकरी पलाइल तुँते मैनारे,
जुगरे जुग रहलो।।

विवाह मानिसको अनिवार्य तइभ्व हो या जीवनमा मानिसले एकपटक विवाह गर्नै पर्ने हुन्छ। विश्वका हरेक जातिमा विवाहशैली फरक फरक रहेको छ। नेपालमा पनि विभिन्न जातजातिको आआफ्नो शैली रहेको छ र विवाह पनि आआफ्नै परम्परागत शैलीमा गर्ने गर्छन्। थारू जातिमा पनि आफ्नै मौलिक परम्परा छ र विवाह गर्ने आफ्नै शैली छ। थारू जातिमा विवाह शिवरात्रिपछिको फागुन महिनामा उपयुक्त समय मानिन्थ्यो पहिले। तर, बाह्य प्रभावले अहिले अन्य महिनामा पनि विवाह गर्ने प्रचलन आइसकेको छ।

Tharu Fold Dance-1

विवाह गर्दा थारू जातिमा एक विशेष किसिमको गीत गाइन्छ। जसलाई माँगर भनिन्छ। माँगर विवाहको हरेक चरणमा फरक फरक लयमा गाइने भएकोले फरक—फरक नामले चिनिन्छ। जस्तै ड्यूली दर्ने (विवाहको पहिलो दिनको साँझ दाल दर्ने बेला गाइने गीत ड्यूली दर्न माँगर भनिन्छ। यो माँगर गाउँका भान्सा गर्न आएका महिलाले जाँतोमा दाल दर्ने (पिस्ने बेला गाउँका गधुरिया सामूहिक रूपमा गाउँछन्। जुन यस्तो छः
हरे कहाँवैते सिरिजल करौडा वन हाय रे करौडा वने रे,
कहाँवैते सिरिजल दूधी बाधिन हाय रे करौडा वन।।
हरे कहाँवैते सिरिजल झाली मकुवा धानी कहाँवैते उरुदा न रे।
कहाँवैते सिरिजल सडिया ओहिरे भिनसडिया।।

यसैगरी (२) दुल्हा सप्रैना (३) दुल्हा निकर्ना (४) चल्तु माँगर (५) डोला उठैना (६) बैठाकुर (७) सम्धी—सम्धा लग्ना माँगर (८) पाउ पूज्ना माँगर (९) विदा मग्ना (१०)) दुल्ही निकर्ना माँगर (११) डोली उठैना (१२) उल्टा चल्तु माँगर (१३) दुल्हनियक माँगर (१४) उल्टा बैठाकुर माँगर (१५) छपिया माँगर लगायत १५ थरी लयमा गाइने माँगरहरू छन्। र, यी सबै भिन्न– भिन्नै अवस्थामा गाइन्छ।

थारू लोक गीति साहित्यमा थुप्रै गीतहरू छन्। तर सबै गीतबारे यो सानो लेखमार्फत् प्रस्तुत गर्न सकिँदैन। त्यसैले केही गीतबारे संक्षिप्त रूपमा चिनाउने प्रयास मात्र गरिएको छ। पहिले—पहिले यस्ता लोक साहित्यहरुले स्थानीय स्तरमा मौखिक रूपमा विकसित भएको हो। पुराना पुस्ताले जुन लय, भाकामा गाउथे र त्यसैलाई परिमार्जित गर्दै पछि विभिन्न रूपमा ढालेर गाउन थालेको पाइन्छ। कामको थकाइबाट आराम लिन विभिन्न चाडवाडमा नाच्न गाउन थालियो। र, यसैलाई गाएर नाचेर रमाइलो गरी आफ्नो अभिन्न संस्कृतिको रूपमा समाज लिन थालेको सजिलै अनुमान गर्न सकिन्छ। विगतमा थारू लोक गीति साहित्य लिखित रूपमा नभए पनि मानिसको ओठ र गलामा प्रिय बन्न निकै सफलता पायो।

थारू लोक गीतिसाहित्य निकै धनी मानिए पनि पिछडिएको क्षेत्रको उत्पीडित साहित्य हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ। यहाँको पछिल्लो पुस्ताले आफ्नो लोकभाकाप्रति त्यति चासो नदिनुको अर्काे कारण सञ्चार माध्यम पनि एक हो। अहिले विद्युतीय सञ्चारमा (रेडियो र टेलिभिजनमा) विभिन्न कार्यक्रम सञ्चालन गरे पनि थारू लोकगीतको पक्षमा कार्यक्रम सञ्चालन गरेको पाइँदैन। केही एफएममा थारू कार्यक्रम सञ्चालन नभएका होइनन् तर, कार्यक्रम सञ्चालकले नै यी कुरामा ध्यान दिएको पाइँदैन। थारू गीतको नाममा नेपाली, हिन्दी या भोजपुरी भाषाका गीत प्रसारण हुन्छन्। केही थारू भाषाका गीत प्रसारण भए पनि लोकभाका वा लोकलयमा गाइएका गीत प्रसारण हँुदैनन्। छापा सञ्चार माध्यमको पनि अवस्था त्यही छ। थारू भाषाका एक सय भन्दा बढी पत्रपत्रिका प्रकाशित भइसकेका छन्। तर, कुनै पत्रिकाले लोकगीतलाई प्राथमिकताको क्रममा राख्दैनन्। केही अपवाद बाहेक कुनै पत्रिकाले लोकगीत विशेषाङ्क भनेर स्थान दिइएको छैन। यही उपेक्षाका कारणले यहाँका लोकभाकाका प्रतिभाहरू अन्य गीततिर आकर्षित हुन बाध्य भएका छन् र थारू लोकभाका आफैं ओझेलमा पर्न थालेको छ। पुराना भाका ओझेल मात्रै परेको छैन, ती भाकामा सृजना भएका गीत माटोमुनि दबेर पनि जाँदैछ।

त्यसैले थारू लोक गीतिसाहित्यको भविष्य चुनौतीपूर्ण छ। यो चुनौतीपूर्ण घडीमा ती गीतलाई समयसँग परिमार्जन गर्दै संरक्षण गर्नु आजको बौद्धिक जगत् र गीतका पारखीको दायित्व हो। यसको लागि छलफल, गीत गोष्ठी, लोक गीत प्रतियोगितालगायत विभिन्न कार्यक्रममार्फत् नयाँ पुस्तालाई सचेत गर्नु पर्छ। सञ्चार माध्यमबाट पनि प्राथमिकतासाथ प्रकाशन तथा प्रसारण गर्नु पर्छ। अन्यथा भोलिका दिनमा थारू जातिको कला, साहित्य र संस्कृतिको अभावमा अस्तित्वसमेत हराएर जान सक्ने सम्भावना देखिन्छ। त्यसैले आफ्नो कला, संस्कृति र साहित्यको संरक्षणको लागि सबै तहका थारू समुदाय गम्भीर भएर लाग्नु पर्छ। यसको लागि गैरथारूले पनि उत्तिकै सहयोग गर्नु पर्ने देखिन्छ।

नागरिक पश्चिमेलीबाट साभार

यो पनि पढ्नुस्: थारु संगीतमा प्रेम र समर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *