थारु कल्याणकारिणी सभाले कुरीति हटाउन सकोस् : पद्मनारायण चौधरी

Tharu_lawmakers-12, Padmanarayan Chaudhary

पद्मनारायण चौधरी पूर्वी नेपालबासीका लागि परिचित नाम हो। लहानको सगरमाथा चौधरी आँखा अस्पताल स्थापनाका लागि १४ विघा जग्गा दान गरेका चौधरी र उनका परिवारले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको छ। आँखा उपचारजस्तो पुण्यकाममा योगदान गरेको कदरस्वरूप नेपाल नेत्र ज्योति संघले चौधरीलाई सम्मान गरिसकेको छ। नेपाल नेत्र ज्योति संघको केन्द्रीय सदस्य तथा सिरहा अध्यक्ष चौधरी विराटनगर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्ष हुन्। नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नम्बर–१ बाट संविधानसभामा सभासद् रहेका चौधरीसँग नागरिक पूर्वेलीका लागि चुमन बस्नेतले गरेको कुराकानी :

 

सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पतालले आँखा उपचारका लागि पूर्वी नेपालमा ठूलो योगदान गरेका छन्। यसको सुरुआती अवस्था कस्तो थियो?
सगरमाथा अञ्चलमा सुरुआतमा नेपाल नेत्रज्योति संघले लहानमा सगरमाथा आई केयर सेन्टर खोलेको थियो। सन् १९२३ बाट नै रामु उमा स्मारक अस्पतालका केही कोठामा सेन्टर सञ्चालनमा थियो। बिस्तारै बिरामीको सङ्ख्या बढ्दै गयो र जर्मन डाक्टर हेनिङले यहाँ अस्पताल नै स्थापना गर्नुपर्ने आवश्यकता देखाउनुभयो। त्यहीअनुसार अस्पताल पनि बन्यो र अगाडि बढियो। र, मात्र सगरमाथा चौधरी आँखा अस्पताल होइन, यसलाई कसरी स्थायी गर्ने भन्ने छलफल भयो। पछि आएर विराटनगरमा पनि आँखा अस्पताल खोल्ने मनस्थितिमा हामी पुग्यौं र सगरमाथा चौधरी आँखा अस्पतालले बचत गरेको रकमबाट विराटनगरमा सर्वप्रथम एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँमा साढे आठ विघा जग्गा लिलामी सकार गर्‍यौं। पछि अन्य जग्गा पनि थपेर जग्गाको साइज साढे १० विघा पुर्‍याइयो। सिबिएमले फेरि यो सेक्टरलाई पनि अध्ययन गर्नु भयो र यहाँ पनि सम्भाव्यता छ, यहाँ पनि राम्रो अस्पताल बन्न सक्छ भन्नुभयो। र, दुवै अस्पताल मिलेर पूर्वाञ्चलको सारा आँखा उपचार कभर गर्न सकिन्छ भन्ने लक्ष्य लिएर त्यसैअनुरूप हामी अहिले धेरै अगाडि बढिसकेका छौं।

अहिलेको अवस्थामा दुबै अस्पताल लगभग बराबरको अवस्थामा पुगिसकेका छन्। दुवै अस्पताल अर्थात् सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल दाजु–भाइजस्तो लाग्दैन। सँगैका सहयात्रीजस्तो लागिरहेको छ।

दुवै अस्पतालले आँखाका कत्ति बिरामीको उपचार गरिरहेका छन्?
विराटनगर आँखा अस्पतालले अहिले बर्सेर्िन लगभग सवादुई लाख बिरामीको ओपिडी गरिहेको छ। सगरमाथा चौधरी आँखा अस्पतालले एक लाख ८५ हजारको ओपिडी गरिरहेको छ। तर, जब क्याट्र्याक सर्जरीको कुरा आउँछ, बर्सेनि ५३ देखि ५५ हजार सगरमाथा आँखा अस्पतालले गरिरहेको छ। ५१ देखि ५३ हजारको हाराहारीमा विराटनगर आँखा अस्पतालले पनि आँखाको शल्यक्रिया गरिरहेका छ। दुवैबीच दुई हजारको मात्र फरक रहन्छ।

दुवै अस्पताल सञ्चालनमा नेपाल नेत्र ज्योति संघको भूमिका कस्तो छ?
दुवै आँखा अस्पताल नेपाल नेत्र ज्योति संघअन्तर्गत नै सञ्चालित भएका हुन्। म त दाताको नाताले भनूँ या संघ सिरहा जिल्ला शाखाको सभापतिको नाताले, संघको केन्द्रीय समिति सदस्यको नाताले म यसमा सहभागी छु। सम्पूर्ण रूपमा हेर्ने हो भने धेरै आँखा अस्पताल संघबाटै सञ्चालित छन्।

तपाइँले लामो समयदेखि सामाजिक सेवा गर्दै आउनुभएको छ। सामाजिक सेवाप्रति आमनागरिकको धारणा कस्तो पाउनुभयो?
निस्वार्थ सेवा दिनु र आफ्नो स्वार्थ राखेर सेवा दिनुमा फरक रहेछ। एनजिओ पनि समाज सेवा हो। नेपाल नेत्र ज्योति संघ पनि एनजिओ नै हो। डाक्टर रामप्रसाद पोखरेलले तत्कालीन सरकारसँग आँखाको सम्पूर्ण सेवा हामी नेपाल नेत्र ज्योति संघमार्फत् गर्छाैं भनेर स्वीकृति माग्नुभयो। सबै स्थानमा हामी नै आँखा अस्पताल खोल्छौं। सरकारले केही काम गर्नु पर्दैन भनेर सरकारसँग आदेश लिएर नै यो संस्थालाई अगाडि बढाइएको हो।
त्यसैले जेनरल अस्पतालहरूमा धेरै स्थानमा आँखाको युनिट हुँदैन। १४ अञ्चलमा आँखा अस्पताल र ५७ आँखा उपचार केन्द्र स्थापना भइसकेका छन्। त्यसलाई अझ विस्तार गरिँदैछ। सबै नेपाल नेत्र ज्योति संघमार्फत् गरिँदैछ। अहिले तिलगङ्गा आँखा अस्पताल र केही निजी आँखा अस्पताल पनि आएका छन्। तर, देशको उपचारको अवस्था हेर्दा ९० प्रतिशत आँखा उपचारको काम नेपाल नेत्र ज्योति संघबाट सञ्चालित अस्पताल र आँखा उपचार केन्द्रहरूबाट भइरहेको छ।

सामाजिक काममा लाग्ने प्रेरणा कसरी पाउनुभयो?
बाबु–बाजेहरूले गरिरहेका सामाजिक काम बाल्यकालदेखिनै प्रत्यक्ष नै हेरेको थिएँ। त्यसैको निरन्तरता हो। उहाँहरूकै कामले मलाई पनि सामाजिक काम गर्न प्रेरित गरेको छ।

तपाइँ आफू थारु समुदायको भएकाले थारु समुदायका मानिसबीचमा सामाजिक सेवाको भावना कसरी जागेको पाउनुहुन्छ ?
थारु कल्याणकारिणी सभा पनि एउटा सामाजिक संस्था हो। त्यसको स्थापना २००४ सालमै भएको हो। लगभग नेपाली काङ्ग्रेसको स्थापना र थारु कल्याणकारी सभाको स्थापना एकै समयमा भएको हो। त्यसबेला रौतहट भवानीपुरमा केवल चौधरीजी हुनुहुन्थ्यो। उहाँले सामाजिक सेवाको काम अगाडि बढाउनुभयो। उहाँले पनि त्योबेला म्याटि्रकुलेसन पास गर्नु भएको थियो। उहाँ विभिन्न पदमा जान सक्नुहुन्थ्यो। तैपनि, उहाँ थारुको तत्कालीन परिस्थिति सरकारको माध्यमबाट होइन, समाजसेवाको माध्यमबाट चिर्नु पर्छ भनेर समाजसेवातर्फ लाग्नु भएको थियो।
हामीले बाल्यकालमा नै सिरहा, सप्तरीमा देखेका छौं कि, सामाजिक क्रान्ति नै उहाँले ल्याउनु भएको थियो। र, समाजका कुरीति हटाउन उहाँ लाग्नुभएको थियो। त्यसैले समाज दुई टुक्रामा बाँडिएको थियो। त्यतिखेर एउटालाई नवजुगिया र अर्कालाई पुरनजुगिया भन्थ्यौं। त्यतिखेर नवजुगिया र पुरनजुगिया बीचमा भोजभात, विवाह पनि बर्जित भइसकेको थियो। तर, आज कुनै पुरनजुगिया र नवजुगिया छैनन्। सबैले थारु कल्याणकारिणी सभाले अवलम्बन गरेको सुधारवादी नीतिलाई सतप्रतिशत अवलम्बन गरेर गरिसकेका छन्। तत्कालीन कुरीतिमध्ये बालविवाहलाई हटेको छ। थारुका छोरीहरू पनि अहिले पढ्नमा अगाडि बढेका छन्।
साथीहरूलाई भनिरहेको छु कि, पूर्वजको त्यो इतिहास नबिर्सिनुस्। नयाँ कुरीति पनि विकास भएका छन्। त्यसलाई पनि समाप्त पार्न समाजसेवामार्फत् नै जानु पर्छ। हाम्रा काकाहरू पनि थारु कल्याणकारिणी सभामा लागेर कुरीति हटाउन अहोरात्र खट्नु भएको मैले बाल्यकालबाट नै देखेको छु।

तपाइँ समाजसेवाप्रति, अझ आँखा उपचारको सेवाप्रति डटेर निरन्तर लागेको २५ वर्ष नाघिसक्यो। आँखाको उपचारमा आउने सेवाग्राहीलाई के भन्न चाहनुहुन्छ?
हामीले समाजसेवातर्फ अग्रसर हुँदा आफ्नो स्वार्थ विल्कुलै न्यून गरेर जानुपर्छ। भरसक जिरो प्वाइन्टमा जानु पर्छ। आफ्नो स्वार्थ त्याग गरेर गयो भने त्यो समाजसेवामा सफलता प्राप्त गर्न सकिन्छ। स्वार्थमा लाग्ने प्रयास भयो भने समाजसेवामा सफलता प्राप्त गर्न गाह्रो छ।

आँखाको उपचार अझ प्रभावकारी बनाउन के–के गर्ने सोच बनाउनु भएको छ?
अहिले नयाँ चुनौतीहरूलाई पूरा गर्न हामी आफंै अघि बढ्नु पर्छ र सरकारको तर्फबाट पनि यसमा सहयोगको उत्तिकै आवश्यकता छ। पहिले चेतनाको कमीले मानिसले आफ्नो आँखा नजँचाउने, बुढेसकालमा आँखा जँचाएर के हुन्छ भन्ने धारणा थियो। तर, यो धारणा बिस्तारै हट्दै छ। ग्रासरुटसम्म पनि पुग्ने हाम्रो प्रयास भइरहेको छ। जानेर पनि उपचार नगर्ने प्रवृत्ति छ। बुबा–आमा वृद्ध भइसके अब उहाँहरूको उमेर धेरै नहोला भन्ने सोचेर छोरा–छोरीले आमा–बुबालाई अस्पताल नलैजाने चलन छ। यो कुरीति हटाउन हामी ‘डोर टु डोर’ पुगेर उपचारको अवसर जुटाउने प्रयास गरिरहेका छौं। कुनै गाउँमा जाने र शिविर राखेर घर–घरमा गएर वृद्धवृद्धालाई उपचार गराउन उत्साहित गर्ने अभियान सञ्चालन गरिँदैछ।

नागरिक पुर्वेलीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *