थारु गाउँमा सखिया नाचको रौनक (भिडियो)

Sakhiya Dance at Kailali

अत्तरिया (कैलाली)- कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको रौनकसँगै थारु गाउँमा सखियाको रौनक बढेपछि गाउँमा नाच हेर्नेको घुइँचो लाग्ने गरेको छ। दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर नाच्ने प्रचलन रहँदै आएको धनगढी नगरपालिका–६ का जग्गुराम चौधरीले बताए।
सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाएर मादलुको तालमा गीत गाएर नाच्ने गर्दछन् भने युवाले सेतो सर्ट र सेतो रङ्गको धोती लगाउने गर्छन्।
थारु युवतीले अरु बेला सेतो फरिया लगाउने प्रचलन नभए पनि यो नाचमा भने सेतो फरिया लगाउने गर्छन्। विवाह हुँदा दुलहीलाई लगाइने सेतो फरिया नै सखियाको नाचमा प्रयोग हुने गरेको चौधरीले बताए।
सखिया नाचमा कृष्णलीलामा आधारित गीत गाइने गरेको बताउँदै स्थानीय मुकेश चौधरीले भने- ‘कृष्ण भगवानको जीवन कथामा आधारित गीत नसकिसम्म नाच सकिँदैन। यो नाच राति नाचिने गर्दछ। सखीको अर्थ थारु भाषामा साथीसङ्गी हुन्छ।’
गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखी रहेको थारु अगुवाको भनाइ छ। सखिया नाचले थारु गाउँको एकताको भावना प्रकट हुने गरेको बताइन्छ।
यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर नदीबाट ल्याएको माछा र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको छ। रासस
भिडियो हेर्नुस्:

One thought on “थारु गाउँमा सखिया नाचको रौनक (भिडियो)

Leave a Reply

Your email address will not be published.