मोतिपुरका बाढीपीडित थारु भन्छन्- ‘देउता राख्‍ने पैसा भएन’

flood victims-2

मोतीपुर (दाङ)- उरहरी-६ मोतीपुरमा बबई नदीको बाढीले पुरिएका घरमा डोजर लगाउन थालियो, सबै मानिस बाढीमा पुरिएका भाँडाकुँडा, काठ र अन्य सामान निकाल्न थाले। तर, ७२ वर्षीया काली चौधरी भने देउता खोज्न थालिन्। उनी मात्रै होइन, थारू समुदायका सबैजसो अगुवा देउता भेटिन्छन् कि भेटिंदैनन् भन्ने चिन्तामा देखिन्थे।

थारू समुदायले दसैंका लागि घरमा विशेष किसिमले देउता बसाएका हुन्छन्। ती नभए दसैं नमनाउने चलन छ। बाढीले घरबाससँगै देउता बसाएको ठाउँ पुरिदियो। अधिकांशले देउता नै भेट्टाएका छैनन्। भेट्टाएकाले पनि राख्ने ठाउँ पाएका छैनन्। ‘नयाँ देउता बसाउन कम्तीमा ३० हजार खर्च लाग्छ, यस वर्ष त आफ्नो घर नै छैन। कहाँ देउता बसाउनु?’ कालीले भनिन्, ‘देउता नभएकै कारण यस वर्ष दसैं नहुने भयो।’

Tharu god

एकातिर बाढीको पीडा, अर्कातिर देउताको चिन्ता । मोतीपुर गाउँमा दसैंको कुनै सुरसार छैन। यहाँका ५९ परिवार बाढीपीडितमध्ये ४२ घर थारू समुदायका छन्। घर बाढीमा पुरिएकाले गाउँका सबै परिवार विस्थापित भएका छन्। माटाका कलात्मक घोडा, त्रिशूल, पालालगायत पूजा सामग्री जुटाएर घरको उत्तरपूर्वी कोठाको पश्चिम कुनामा देउता राख्ने चलन छ। ‘त्यसका लागि कम्तीमा दुईवटा बोका, दुइटा सुँगुर, ५/६ वटा कुखुरा चढाउनुपर्छ,’ धनीराम चौधरीले भने, ‘थारूभित्र पनि थरअनुसार फरक-फरक संस्कार छ। कतै यसभन्दा धेरै बलि दिनुपर्छ। नत्र देउता बसाउन सकिंदैन।’ यस वर्ष बाढीले घर र देउता बगाएकाले दसैं मनाउन नपाइने उनले बताए।

कतिपय विस्थापित आफन्तका घरमा बस्दै आएका छन् भने कतिपय त्रिपाल टाँगेर बसेका छन्। घरबासको नै टुंगो नलागेकाले देउता राख्ने कुरा त असम्भवजस्तै भएको जोगीराम चौधरीले बताए। ‘अब घर कहाँ, कसरी बनाउने भन्ने टुंगो छैन। देउता राख्ने कुरा त झन् सोचिएकै छैन,’ उनले भने, ‘देउता बसाउने काम नै खर्चिलो छ। साँझबिहान के खाऔं भन्ने समस्या भएका बेला देउता बसाउने कुरा त निकै गाह्राे छ।’

बाढीले गाउँको भयारथान पनि बगाइदियो। थारू समुदाय भयारथानमा सामूहिक पूजा गर्छन्। त्यसपछि घर-घरमा राखिएका देउताको पूजा हुन्छ। पूजाको नेतृत्व गर्न गाउँमा महतवा पनि छैनन्। बाढी आउनु केही दिन अघिसम्म परशु चौधरी महतवा थिए। त्यसपछि अर्को महतवा छान्न नपाउँदै बाढीले सबै लथालिंग पारिदियो। ‘अब यस्तो अप्ठेरो अवस्थामा को अघि सर्नु? महतवा चुन्न नै पाइएको छैन,’ हीरामोती चौधरीले भनिन्, ‘देउता र महतवा नभएपछि गाउँका पूजाआजाजस्ता कुनै पनि संस्कारका काम हुन पाएका छैनन्।’

flood victims

थारू समुदायको ठूलो पर्व अटारी पनि नमनाई बितेको ललौ चौधरीले बताए। दसैं मनाउन सकिने अवस्था नभएपछि बालबालिकाले न्यास्रो मानिरहेको उनले बताए। ‘बाढीले विस्थापित बनाएपछि चाडपर्व कसरी आए, कसरी गए केही थाहा भएन। हामी त दुःख पर्‍यो भनेर चित्त बुझाउँला तर केटाकेटीले मान्दैनन्,’ उनले भने। बाढीले पुरिएका भग्नावशेषबाट भेटिएका देउता अर्को घर नबन्दासम्मका लागि सुरक्षित राखिएको उनले बताए। ‘भेटिएका देउता संकलन गरेर राखेका छौं। नपुज्दा भगवान् रिसाउलान् कि भन्ने चिन्ता छ, पुजौं भने न घर छ, न खर्च,’ उनले भने, ‘देउता बसाउन रक्सी चाहिन्छ, बनाउने भाँडासमेत छैनन्।

नयाँ देउता बसाउन त गाह्रो नै छ, भेटिएकालाई विधि पुर्‍याएर राख्न पनि नसकिने भयो।’ थारू समुदायको संस्कारअनुसार दसैंका लागि देउता बसाउन समस्या रहेको उरहरी गाविस सचिव तुलसीराम खड्काले बताए। ‘सबैजना त्यसैमा चिन्तित छन्। भग्नावशेषमा डोजर लगाउँदा पनि सबैको ध्यान देउतामा हुन्छ,’ उनले भने।

दुगालाल केसी/कान्तिपुर दैनिक साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *