कमल चौधरी, विराटनगर- थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले थारु तथा तराईका आदिवासी जनजाति समुदायहरु पहाडे ब्राम्हणवाद र पहाडे आदिवासी जनजाति दुवैखाले नेताहरुको चेपुवामा परेको बताएका छन्। उनले भने, ‘आदिवासी जनजातिको नाममा थारुको भाग पहाडी आदिवासी जनजातिले खान्छन्। तराईका नाममा थारुको भाग मधेसीले पाउँछन्। जताबाट पनि थारुलाई घाटाको स्थिति छ।’
उनले तिहार छठजस्ता चाडलगत्तै थारु आन्दोलन भाग-२ थाल्ने घोषणा गरे।
थारु कल्याणकारिणी सभा मोरङ जिल्ला अधिवेशन उद्घाटन समारोहमा लेखीले आदिवासी जनजाति महासंघको अध्यक्ष पदमा रहँदा आफूले त्यहाँबाट बहुप्रदेशको पक्षमा प्रस्ताव पारित गराएको बताए। उनले भने, ‘पहाडी आदिवासी जनजातिका लागि थारु समुदायले ठूलो योगदान गरेको छ। तर, थारुको तराई थरुहट खोसिँदा पहाडी आदिवासी अगुवा भनाउँदाहरु चुँसम्म पनि बोल्दैनन्।’
तराईलाई एउटा या दुईटा प्रदेशमा सीमित गरिनु थारु समुदायको छातीमा गोली ठोके सरह हुने उनको भनाइ थियो।
पहाडका आदिवासी जनजाति नेताहरुले संघीयता आफूहरुलाई मात्र चाहिएको जस्तो गरेको लेखीले आरोप लगाए। उनले भने, ‘तराईका आदिवासी जनजातिका माग मुद्दामा एकथरि आदिवासी जनजाति नेता भनाउँदाहरुले ब्राम्हणवादी व्यवहार गर्ने गरेका छन्। तराईमा थारुसहितका आदिवासी जनजातिहरुलाई बहुप्रदेश चाहिन्छ भन्ने तथ्यलाई उनीहरु बेवास्ता गर्छन्।
आफूले प्रदेश पाए भयो, आफूले अधिकार पाए भयो, तराईका आदिवासी जनजातिहरुको जेसुकै होस् भन्ने उनीहरुको व्यवहार छ।’
उनले भने, ‘पहाडमा धेरै प्रदेश हुँदा ठीक हुने तर तराईमा धेरै प्रदेश बन्न नहुने, तराइमा धेरै प्रदेश बनाउँदा देशको अर्थतन्त्रले थेग्दैन भन्ने एकथरि आदिवासी जनजाति नेताहरु ब्राम्हणवादी राज्यसत्ताका सेवक हुन्। उनीहरुलाई विश्वाश गर्न सकिँदैन।’ उनले भने, ‘पहाडी आदिवासी जनजातिका एकथरि नेताहरु थोरै जनसंख्याका शेर्पाहरुको प्रदेश बनाउने काममा थारुको समर्थन चाहन्छन्। हामीले समर्थन पनि गरेका छौं तर तराईमा थारुको हितलाई ध्यानमा राखेर बहुप्रदेश बनाउने प्रस्तावको समर्थन गर्दैनन्।’
उनले चेतावनी दिए, ‘पहाडी मधेसी ब्राम्हणवादको घुमाउरो सेवा गरिरहेका एकथरि आदिवासी जनजाति नेता भनाउँदाहरुले बुझे हुन्छ, अब एक हातले ताली बज्दैन।’
उनले भने, ‘पहाडका आदिवासी जनजातिको प्रदेश प्राप्तिका लागि तराईका आदिवासी जनजातिले लडिदिनुपर्ने तर तराईको आदिवासीको प्रदेश र अधिकार प्राप्तिको कुरा आउँदा सिंहदरबार शैलीको कुरा गर्ने एकथरि आदिवासी जनजाति नेता छन्, थारु आन्दोलन भाग-२ ले त्यस्तालाई पनि नङ्ग्याउने छ।’ पहाडी आदिवासी जनजातिका एकथरि अगुवाहरुमा सामन्ती, जमिनदारी र एकात्मक प्रवृत्ति भएको आरोप लगाउँदै उनले भने, ‘त्यस्ता आदिवासी जनजाति अगुवाहरुले आदिवासी जनजाति आन्दोलनभित्र आफ्नै ब्राम्हणवाद चलाउन खोजिरहेका छन्। उनीहरु तराईका आदिवासी जनजातिलाई पाँचौं दर्जाको नागरिक ठान्छन् र त्यस्तै व्यवहार गर्न खोज्छन्।’
उनले पहाडी ब्राम्हणवाद क श्रेणी, मधेसी ब्राम्हणवाद ख श्रेणी, पहाडी आदिवासी जनजाति मठाधीस नेताहरु ग श्रेणीको, मधेसीभित्रका अन्य समुदाय घ श्रेणीको र थारुसहितका तराईका आदिवासी जनजातिहरु ङ श्रेणीको भएको बताए। उनले भने, ‘नेपालको राज्यसत्ताको चरित्र र नेताहरुको व्यवहार हेरेर अनुभवका आधारमा मैले यो वर्गीकरण गरेको हुँ।’
पहाडमा धेरै प्रदेश बनाउनेमा पहाडका आदिवासी जनजातिहरुको समर्थन हुने तर तराईमा पनि धेरै प्रदेश बनाऔं भन्दा विरोध गर्ने यो कस्तो दोहोरो चरित्र हो? लेखीले प्रश्न गरे।
अधिवेशनले प्रदीप भगत थारुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यक्रममा चन्द्रकुमार चौधरी, कनुलाल चौधरी, लक्ष्मी चौधरी, हरिदेवी चौधरी, लक्ष्मीकान्त चौधरी, भक्ति माझी, रुद्रनारायण चौधरी लगायतका वक्ताहरुले बोल्नुभएको थियो। मोरङ जिल्ला अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ठूलो संख्यामा जनसमूह उपस्थित भएको थियो।
ho ta, yadi sanghita lagu garne nai ho bhane pahadma gareko 6a taraima pani bahu pardesh hunpar6a, hoina bhane katai pani garaunu hudaina , ahleko abasthama j 6a tehinai thik 6a. lekhi sir ko bichar pani sahi 6a.