भग्नावशेष सम्याउँदै उरहरी मोतीपुरका विस्थापित

  Motipur-2

देवेन्द्र बस्नेत, दाङ- आकाशमा बादल मडारिनै हुन्न, उरहरी मोतीपुरका खुइता चौधरीको मुहार अँध्यारिन थालिहाल्छ। छेउको बबई सुसाउँदै झन् नजिक आएझैं लाग्छ। रातभरि जागै बस्छन्। सिमसिमे पानी परे मात्रै पनि तीन जनाको परिवार डाँडातिर लागिहाल्छ।

दुई साताअघि बबईको विनाशक कहर उनले भोगिसकेका छन्। घरसँगै जायजेथा सबै बगाइसकेको छ। बाढीको बीचमा रातभर रूख समातेर बाँचेका पत्नी र छोराको माया मारिसकेका थिए उनले। धन्न, सबै बाँचे। त्यसपछि खुइता परिवार स्थानीय सामुदायिक विद्यालयको आश्रयमा पुग्यो। आस थियो– अब त राज्यले सुरक्षित बास उपलब्ध गराउला। आसैआसमा हप्तादिन बिते। तर, राज्यले ५ हजार रुपैयाँ र केही थान चाउचाउबाहेक केही दिएन। आश्रयस्थल खाली गर्न विद्यालयबाट उर्दी आयो। अन्ततः तीन दिनअघि उनीहरू त्यही ठाउँ फर्कन बाध्य भए, जहाँबाट १४ दिनअघि बबईले लखेटेको थियो। ‘के गर्नु हजुर? जाने ठाउँ कहीँ भएन,’ उनले भने, ‘जे त होला, फेरि यहीँ आयौं।’ खुइताले पुरानो घरको भग्नावशेष भएकै ठाउँमा खनीखोस्री गरी सानो झुप्रो हालेका छन्।

Motipur-3

फेरि पनि बबई उर्लने त्रास उत्तिकै रहेको उनी बताउँछन्। ‘हामी गरिब यसैउसै मर्ने नै भयौं,’ उनले भने, ‘फेरि बाढी आएर लगेछ भने मरम्ला भनेर आइम्।’
मोतीपुरकै जुगराम चौधरीले पनि सुरक्षित पुनर्वास पाएनन्। सातासम्म राज्यलाई कुरेर बसे। राज्यले भग्नावशेष हेर्नुबाहेक केही गरेन। सरकारले दिएको ५ हजार रुपैयाँले ‘खाँबाखुट्टा’ जोहो गरेर उनी पनि लागे सर्वस्व डुबेकै ठाउँतिर। भत्किएको पुरानो घरमाथि झुप्रो हालेर बस्न सुरु गरेका जुगरामले अहिलेलाई मन दह्रो पारेका छन्। ‘जति डरायो उति मर्ने अवस्था आउन थाल्यो, कति डराइरहनू?,’ भन्छन्।

साउन २९ को बाढीले सबैभन्दा ठूलो विपत्ति निम्त्याएको उरहरी–६ मोतीपुरका अधिकांश विस्थापित अहिले पुरानै ठाउँ फर्किएका छन्। बाढीले मोतीपुर गाउँ नै सखाप भएको थियो। ५९ घर पूर्ण रूपमा भत्किएका थिए। एकै घरका दुई जनाको ज्यान गएको थियो।

Motipur-1

विभिन्न संघसंस्थाको मुठीदानले जसोतसो भोक त टरेको छ। तर, बसाइ सुरक्षित नहुँदा पीडित अझै बबईसँग डराइरहन्छन्। बस्तीछेउ सामान्य तारजाली बाँध्ने प्रयास पनि कतैबाट भएको छैन। ज्यान मात्रै जोगाएका जीवन चौधरी पनि केही उपाय नलागेपछि फेरि त्यहीँ फर्किए। ‘जानजानी कालको मुखमा गइरहेजस्तो लागेको छ,’ जीवन भन्छन्, ‘बबईको भेल जतिखेरै बस्तीतिरै आइरहेजस्तो लाग्छ।’

जागुराम चौधरीले भने अझै थातथलो फर्कन आँट गर्न सकेका छैनन्। बाढीमा सुत्केरी बुहारी र नातिनी जोगाउनै हम्मे परेको घटनाले अझै अँत्याइरहन्छ। अहिले परिवारै स्थानीयको एक साहूको आश्रयमा छन्। आफू दिनभरि गल्लीतिर भौंतारिन्छन्। ‘भदौ सकिएपछि छाप्रो हाल्ने सोचेको छु,’ उनले भने, ‘त्यसपछि त बाढी नआउला नि।’ जागुरामको घर बस्तीभरिमै बबईको सबैभन्दा नजिक पर्छ। भएभरको जायजेथा नै बगई किनारको दुई कट्ठा जमिन। ‘अन्त जाने उपाय छैन,’ उनले भने, ‘भएको सम्पत्ति त्यही हो।’ भदौ सकिनुअघि नै साहूले घर छोड्न भन्ने हुन् कि भन्ने ठूलो डर छ उनलाई। बाढीले घरसँगै एक हल गोरु पनि खाइदिएकोमा थकथकी मान्छन्। ‘खेतबारी नजोती खान पुग्दैन,’ जागुराम भन्छन्, ‘तर, गोरु कता गए कता, अब केले किन्ने?’

Motipur-4

दुई साताअघिको विपत्तिपछि पुनः बबईकै धारमा थापिन पुगेका पीडित सुरक्षित पुनर्वास नहुँदा राज्यप्रति रुष्ट छन्। ‘हामीले सोचेका थियौं, राज्यले बास देला। फेरि उही जोखिममा फर्कनु नपर्ला,’ जुगराम चौधरी भन्छन्, ‘तर, राज्यले हाम्रो समस्या देखेन।’ पीडितको उद्धारमा राज्यको भूमिका सुस्त भएको भन्दै उनले आक्रोश पोखे, ‘हामीलाई समयमै खान दिएन, भोकै बस्यौं, मान्छेजस्तो व्यवहार भएन।’

मोतीपुर मात्रै नभई फूलबारीका बाढीपीडितले पनि सुरक्षित बसाइ पाएनन्। अधिकांश स्थानीय जोखिम मोलेर पुरानै ठाउँ फर्कंदै छन्। फूलबारी–६ बखरियाकी मोती चौधरी भत्किएको घर सम्याउँदै थिइन् शनिबार। त्यही घरमा उनको पसल थियो। कमाइ सन्तोषजनकै थियो। तर, बाढीले सबै बगायो। ज्यान मात्रै जोगियो। विस्थापित भएपछिका सात दिन स्थानीय विद्यालयमै कटाइन्। त्यहाँबाट पनि लखेटिएपछि भने उपाय रहेन। अनि फर्किइन्, आफ्नै ठाउँ। ‘जाने ठाउँ कहाँ छ र?,’ उनले भनिन्, ‘फेरि बाढी आए यही ज्यान लाने त होला।’

डुरुवाकी बाढीपीडित तुलसी श्रेष्ठको हालत पनि उस्तै छ। छिमेकीको घरमा डेरा बसेको हप्तादिनभन्दा बढी भइसक्यो। साना छोराछोरीले घर कहिले बनाउने भनेर सोध्छन्। उनी उत्तर दिन सक्दिनन्। ऐलानी जमिनमा बसाएको घर बाढीले बगायो। फेरि त्यहाँ फर्कने आँट उनले गर्न सकेकी छैनन्। ‘कहाँ जाने, के गर्ने सोच्न सकेकी छैन,’ उनले भनिन्, ‘छोराछोरी घर कहिले जाने भन्छन्, नरमाइलो लाग्छ।’ बस्तीनजिकै सामुदायिक विद्यालयको नाममा डेढ बिघा जमिन बाँझै छ। सरकारले त्यही ठाउँमा बस्ने व्यवस्था मिलाइदिए ढुक्क हुने आशा उनले गरेकी छन्। गत साउन २९ मा आएको बाढीले जिल्लाका केही स्थानका पीडित पुरानै ठाउँमा फर्किएका छन्। कोही भने अझै कहाँ जाने, अन्योलमा छन्। राज्यले सुरक्षित वास उपलब्ध गराइदिने आस उनीहरू गरिरहेकै छन्।

नागरिक दैनिक साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *