सभासद्‍को तलब ८० हजार ६ सय ८२ रुपैयाँ

CA-building

काठमाडौं- व्यवस्थापिका संसदका सदस्यले नियमित पाउँदै आएको मासिक तलबभत्ता गत साउनदेखि ६ हजार २ सय ९४ रुपैयाँ बढेको छ। संविधानसभा चुनावपछि ७४ हजार ३ सय ८८ पाउँदै आएका सभासदले साउनदेखि मासिक सुविधा ८० हजार ६ सय ८२ रुपैयाँ लिने भएका छन्। शाखा अधिकृत बराबर हैसियत हुने सभासदका स्वकीय सचिवको पनि २ हजार २ सय २० रुपैयाँ वृद्धि भएपछि मासिक पारिश्रमिक २४ हजार ४ सय रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष २०७१/०७२ को बजेट भाषणमार्फत कर्मचारीको तलबभत्ता १० प्रतिशत वृद्धि गरिएकाले त्यसैसँग समायोजन गर्दै सभासदको तलबभत्ता बढाइएको संसद सचिवालयले जानकारी दिएको छ। साथै, गत असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले विशेष भत्तास्वरूप मासिक १ हजार रुपैयाँ थप प्रदान गर्ने पनि निर्णय गरेको छ। त्यसैगरी, बैठकमा उपस्थिति भत्ता दैनिक २ सय र सवारी सुविधा नलिएकालाई उपस्थिति भएको दिनको १ सय ५० रुपैयाँ सवारी भाडा सुविधा भने यथावत नै राखिएको छ।
सभाध्यक्ष/सभामुख सुवासचन्द्र नेम्वाङले मासिक रूपमा २ लाख १२ हजार ७ सय ८० रुपैयाँ बराबर सुविधा लिनेछन् जसमा मासिक पारिश्रमिक ५३ हजार ८ सय ५०, आवास २९ हजार, मसलन्द २ हजार ५ सय र पत्रपत्रिका ३ सय रुपैयाँ पर्छ। मासिक २ सय ५० लिटर पेट्रोल र १० लिटरको मोबिल सुविधा लिने सभाध्यक्षलाई मात्र धारा, बिजुली र टेलिफोनको बिलअनुसार रकम भुक्तानी गरिनेछ। वार्षिक रूपमा सभाध्यक्ष/सभामुख नेम्वाङका लागि राज्य कोषबाट २५ लाख ५३ हजार ३ सय ६० खर्च हुन्छ जसमध्ये १ लाख २५ हजार ८ सय ७० सचिवालय खर्चअन्तर्गत पर्छ।

उपाध्यक्ष/उपसभामुख ओनसरी घर्तीका लागि वार्षिक २१ लाख, ४६ हजार ३ सय ८०, विपक्षी दलका नेता पुष्पकमल दाहालका लागि २० लाख १० हजार ५ सय १५, मुख्य सचेतकहरूका लागि १८ लाख २७ हजार ५ सय १५ तथा विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक र संविधानसभा र व्यवस्थापिका संसदअन्तर्गतका समिति सभापतिका लागि १५ लाख ५७ हजार ७ सय ५६ र सभासदका लागि ९ लाख ६७ हजार ५ सय ३६ रुपैयाँ खर्च हुनेछ।

उपाध्यक्ष/उपसभामुख घर्ती, विपक्षी दलका नेता दाहाल, मुख्य सचेतकहरूले वृद्धि भएको रकमसहित मासिक ४८ हजार ७ सय ७० तथा सत्ता/विपक्षी प्रमुख सचेतक र सभापतिहरुले भने ४६ हजार २ सय २० रुपैयाँ मासिक पारिश्रमिक बुझ्नेछन्। आवास सुविधाअन्तर्गत घर्तीले २५ हजार, दाहालले २३ हजार ५ सय, मुख्य सचेतकहरूले ८ हजार २ सय ५०, सत्ता/विपक्षी दलका प्रमुख सचेतक र सभापतिहरूले ७ हजार ७ सय र सभासदले ६ हजार ५ सय रुपैयाँ बुझ्दै आएका छन्।

मसलन्दअन्तर्गत घर्तीले १ हजार ७ सय, विपक्षी दलको नेता दाहाल र मुख्य सचेतकहरुले २ हजार, सत्ता/विपक्षी दलका सचेतक र सभापतिलले १ हजार ५ सय तथा सभासदले १ हजार रुपैयाँ लिन्छन्।

उपाध्यक्ष घर्तीलाई ६ हजार ७ सय रुपैयाँको धारा–बिजुलीवापतको रकम र सोही बराबर टेलिफोन खर्च छुट्ट्याइएको छ। र, दाहाल, मुख्य सचेतक, सत्ता/विपक्षी दलका सचेतक, सभापति र सभासदले मासिक रूपमा १ हजार २ सय ४८ धारा–बिजुलीवापत र सोही बराबरको रकम टेलिफोन खर्चवापत लिन्छन्। पत्रपत्रिकाको हकमा भने नेम्वाङ, घर्ती, दाहाल, मुख्य सचेतक, सत्ता/विपक्षी दलका सचेतक, सभापति र सभासदले मासिक समान ३ सय रुपैयाँ लिन्छन्।

घर्तीले मासिक २ सय लिटर, दाहाल र मुख्य सचेतकहरूले २ सय ३० लिटर र अन्यले १ सय ५० लिटर पेट्रोल लिन्छन्। सभासद र सभाध्यक्षबाहेक अन्यलाई मासिक ५ लिटर मोबिलको सुविधा दिइन्छ।

सचिवालयको हकमा घर्ती, दाहाल र मुख्य सचेतकहरूले ८८ हजार ४ सय ९० तथा सत्ता/विपक्षी दलका सचेतक र सभापतिहरूले ६९ हजार ६ सय ९० खर्च गर्न पाउँछन्।

वृद्धिपछि मासिक सुविधा
सभाध्यक्ष– २ लाख १२ हजार ७ सय ८०
उपाध्यक्ष– १ लाख ७८ हजार ८ सय ६५
प्रमुख प्रतिपक्षी दल नेता– १ लाख ६७ हजार ५ सय ४३
मुख्य सचेतक– १ लाख ५२ हजार २ सय ९३
विपक्षी दलका सचेतक– १ लाख २९ हजार ८ सय १३
सत्ता पक्षका सचेतक– १ लाख २९ हजार ८ सय १३
समिति सभापति– १ लाख २९ हजार ८ सय १३
सभासद– ८० हजार ६ सय २८

नागरिक दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.