तोकिएकै समयमा संविधान जारी गर्न जनजाति नेताको माग

Aadibasi diwas-4काठमाडौं- बिसौं अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको अस्तित्व नगुम्ने र पहिचान भेटिने सङ्घीय संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।  आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उनीहरूले समानताको आधारमा सबै जातजातिलाई अधिकार सम्पन्न गराउने संविधान नै मुलुकको आवश्यकता भएको बताए।
जातीय सद्भारव कायम राख्दै सबै वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याउन कोही कसैले पनि कन्जुस्याइँ गर्न नहुनेमा उनीहरूले जोड दिए। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आगामी माघ ८ गतेभित्र सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गरे।

सरकार सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई सहमतिमा ल्याई जनअपेक्षाअनुसारको संविधान जारी गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि लैजान प्रतिबद्ध रहेको बताए। राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कुनै पनि राजनीतिक दलले खुट्टा कमाउन नहुनेमा जोड दिँदै उनले सहमतिमा आउन असन्तुष्ट पक्षलाई पनि आग्रह गरे।

20th International Indigenous Day

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले आदिवासी जनजातिले आफ्नो अधिकार खोज्दा अरूको अधिकार खोस्न नहुनेमा जोड दिँदै संविधान निर्माण प्रक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले आदिवासी जनजातिका अगुवाहरूसँग पनि सघन छलफल गरी सहमति खोज्न आग्रह गरे।

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष पोष्टबहादुर बोगटीले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको कुरा उठाउँदा आफ्नो पार्टीलाई जातिवादीको आरोप लागेको बताउँदै सबै वर्ग तथा क्षेत्रलाई समान अधिकार दिलाउन कुनै पनि कन्जुस्याइँ नगरिने बताए।

नेकपा-माओवादीका सचिव देव गुरुङले संविधानको अन्र्तवस्तुमा नै प्रमुख दलहरूका बीचमा समान धारणा नभएका कारण तोकिएको समयमा संविधान जारी हुने अवस्था नरहेको भन्दै सर्वपक्षीय राजनीतिक सम्मेलन नै तत्कालको उपयुक्त विकल्प भएको बताए।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक समाजका अगुवा डा ओम गुरुङ, नेवा देवा दबूःका अध्यक्ष नरेश ताम्राकार, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पा, नेकपा–माओवादीका नेता सुरेश आलेमगरलगायतले राज्यले आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहमा ल्याउन र अधिकार दिन नचाहेका कारण समस्या पैदा भएको बताए। कार्यक्रममा विभिन्न जात जातिले आ-आफ्नो भेषभूषासहितको झाँकी प्रदर्शन गरेका थिए।

Aadibasi diwas-6

राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाको शुभकामना सन्देश
बिसौं विश्व आदिवासी दिवसको सम्बन्धमा राष्ट्रपति डा रामवरण यादवले एक सन्देश पठाउनु भइ राजनीतिक सहमतिसहितको लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गरेका छन्। उनले नेपाल विविध जातजाति र समुदायको साझा फूलबारी भएकाले सबैलाई अधिकार सम्पन्न गराउनुपर्नेमा जोड दिए।

यस्तै प्रधानमन्त्री सुशील कोइरालाले पनि एक शुभकामना सन्देश पठाई २० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको सफलताको कामना गरेका छन्। उनले सबै राजनीतिक दलको प्रतिबद्धताअनुसार आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी हुने र सबै वर्ग तथा क्षेत्रले आफ्नो अधिकार लोकतान्त्रिक संविधानबाट प्राप्त गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाको लिखित सन्देश वाचन गरेर सुनाइएको थियो।  संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अगष्ट ९ लाई विश्व आदिवासी दिवसको रूपमा मनाउने घोषणा गरेअनुसार आज विश्वभर सो दिवस मनाउने गरिन्छ। रासस

Leave a Reply

Your email address will not be published.