‘सावनकी डोला’ मनाउँदै राना थारु महिला

Sawanki Dola_ A Fest by Rana Tharu

अविनाश चौधरी, धनगढी- पश्चिम नेपालका राना थारु समुदायका महिलाले ‘सावनकी डोला’ पर्व मनाइहेका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायका महिलाले यो पर्वलाई सबैभन्दा ठूलो पर्वको रुपमा मनाउने चलन छ। उनीहरुले एक महिनासम्म यो पर्व मनाउने गर्छन्।

दसैं-तिहारभन्दा धुधामका साथ मनाउने सावनकी डोला असार महिनाको तृतीयामा सम्पन्न हुने गरेपनि ‘पिङ’ भने सावन महिनाभरि खेलिन्छ। विवाहित महिला एकै थलोमा जम्मा भएर गीत गाउँदै साउन महिनाभरि पिङ खेल्ने हुँदा यसलाई ‘सावनकी डोला’ नामकरण गरिएको हो। डोलाको अर्थ ‘पिङ’ खेल्नु हो।

सावनकी डोलालाई तीजको रुपमा पनि मान्ने गरेको धनगढीकी मालामति रानाले बताइन्। उनले साउनको तृतीयका दिन दिदीबहिनीले आफ्नो श्रीमान वा दाजुभाइको दीर्घायुको कामना गर्दै पानीसमेत नखाइ निरहार ब्रत बस्ने गरेको बताइन्। यो पर्वको अन्त्यमा महिलाहरु नदीमा गएर ‘झुरकी’ (काँसको गाँठो) सेलाउने र पूजापाठ गरी ‘सिमही’ (विशेष परिकार) खाने एवं खुवाउने गर्छन्।

कञ्चनपुरकी फाल्गुनिगी रानाका अनुसार झुरकी सेलाउन गएका गाउँभरिका महिलाले नदी बगरमा उम्रेको काँसमा एक हातले गाँठो पार्ने चलन छ। विवाहित महिलाले सात र कन्या युवतीले पाँच गाँठो पारेर पूजापाठ गरी चाँदीको धातुले काट्ने र यसरी काटेर नदीमा सेलाउने काँसको गाँठोलाई झुरकी भनिने गरिन्छ। झुरकी सेलाउन गएका महिलाले ब्रत तोड्दै आफूहरुले लगेको सिमही, पुरी, गुलगुलाजस्ता परिकार खाने गरेको फाल्गुनीले बताइन्।

यो पर्वको परम्पारागत विशिष्टतालाई नयाँ पुस्ताले अँगाल्न नसकेपछि पर्व नै लोप हुने खतरा बढेको छ। अचेल थोरैले सावनकी डोलालाई मनाउने गरेको अगुवाहरु बताउँछन्।

निवर्तमान सभासद्समेत रहेकी मालामती रानाले अचेल धेरैले यो पर्वलाई बिर्सिन थालेको बताइन्। ‘गीत गाउन नजानेका कारण नयाँ पुस्ताले यो पर्वलाई अँगाल्न सकिरहेका छैनन्। त्यसैले लोप हुने खतरा बढ्दै गएको छ,’ उनले भनिन्।

नेपाली हिन्दू महिलाले तीज मनाएरसरह राना थारु महिलाले सावनकी डोला पर्व मनाउने गरेको समुदायका अगुवा धनीराम रानाले बताए। उनले यस पर्वमा महिलाले वर्षदिनको दुःखकष्टलाई भुलेर रमाउने गरेको बताए। यद्यपि, अधिकांश महिला दिदीबहिनीले सावनकी डोला पर्वलाई मान्न नसकिरहेकोप्रति चिन्ता ब्यक्त गर्दै रानाले यो पर्वलाई लोप हुनबाट जोगाउन सबैको ध्यान जान आवश्यक रहेको बताए।

गोरखापत्रबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *