सामञ्जस्यको संकट

Ck Lalसीके लाल– अन्तर्राष्ट्रिय भ्रमणका जाने उच्च तहका राजनीतिकर्मीले मूलतः तीन किसिमको भूमिका गर्नुपर्ने हुन्छ। सामान्य कूटनीतिको लाभहानिभन्दा माथि उठेर इतिहासको पथ निर्माताका रूपमा प्रस्तुत हुने जिम्मेवारी बोधले राजनीतिकर्मीलाई राजनेता बनाउँछ। भूतकालका पाठ एवं भविष्यमा आकांक्षालाई वर्तमान वास्तविकतासँग जोड्ने अद्भूत क्षमता कमै राजनीतिकर्मीमा हुन्छ। त्यसैले विदेश भ्रमणमा जाने राष्ट्र वा सरकार प्रमुखहरू आफ्ना प्रस्तावित प्रस्तुतिलाई विभिन्न विशेषज्ञबाट परिमार्जित एवं परिष्कृत गराउने गर्छन्।
जति नै शक्तिशाली भए पनि राजनीतिकर्मी पनि सामान्य व्यक्तिकै नै हुन् भन्ने भूमिका सोचिए जति सजिलो छैन। शिष्टाचारका सीमा, व्यक्तिगत सुरक्षाका बाध्यता एवं कूटनीतिक प्रचलनका मान्यताले गर्दा सर्वसाधारणको छवि कायम राख्न साह्रै कठिन हुन्छ। टेलिभिजन क्यामराका लागि सडक छेउका बच्चालाई काखमा लिने, बाटामा उभिएर चाट खाने वा प्रशंसकहरूका बीचमा मोटर रोक्न लगाएर हात मिलाउनेजस्ता सद्भाव प्रदर्शन कर्म सोचिए जति सहज हुँदैन। अनुहारमा कृत्रिमता झल्किनासाथ यस्ता सांकेतिक क्रियाकलापको प्रभाव समाप्त हुन्छ।
जानिफकारहरूका अनुसार राजनेता र सामान्यजन जस्ता भूमिका दुष्कर भए पनि असाध्य होइनन्। भ्रमणरत राजनीतिकर्मी बहुधा असफल हुने भनेको ‘स्टेटस्म्यान’ वा ‘एभ्रीम्यान’को भन्दा पनि ‘सेल्सम्यान’को भूमिकामा हो। आफ्नो मुलुकको विचारधारा, शासन व्यवस्था, जीवनशैली, धर्म, आस्था, अर्थराजनीतिक मान्यताका साथै उत्पादित वस्तु एवं सेवा विक्री गरी स्वहित प्रवर्धन गर्ने कार्य सहज हुने कुरा पनि भएन। त्यसैले होला, आजभोलि बाराक ओबामा होउन् वा भ्यादिमिर पुटिन सबैजसो राष्ट्र वा सरकार प्रमुखको विदेश भ्रमणको सफलता तिनले आफ्ना राष्ट्र हितका लागि के कति ‘बेच्न’ सके भन्ने मापदण्डका आधारमा निर्धारण गर्ने गरिन्छ। सफल राजनीतिकर्मी मेहनती वित्रे्कता (सेलर) मात्र नभएर कुशल विक्रयी (सेल्सम्यान) हुनु पनि उत्तिकै जरुरी छ।
संस्कृतको यो विक्रयी शब्द खासै चल्तीमा छैन। होच्याउने किसिमले खास गरेर काठमाडौंमा प्रयोग गरिने ‘माडे बुद्धि’ वास्तवमा विक्रयी क्षमता दर्शाउने ईर्ष्यापूर्ण अभिव्यक्ति हो। तराई मधेसतिर चिप्लामीठा कुरा गरेर आफ्नो विचार वा वस्तु बेच्न सक्नेमा मोदी पेसामा लागेकाको सामर्थ्य बेजोड मानिन्थ्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुनै बेला आफ्ना पिताको चिया पसलमा सघाएको कुरा सगर्व स्वीकार गर्ने गर्छन्। लाक्षणिकरूपमा त्यो कुरा उनले नेपालको संसद् सम्बोधनमा समेत भन्न छुटाएनन्। प्रधानमन्त्री मोदीको विलक्षण विक्रयी क्षमताले गर्दा भारतीय मतदाता उनका अगाडि ‘नमो नमो’ भन्दै लामबद्ध भए। उनको त्यही मायावी कौशलको प्रभावबाट नेपालजस्तो व्यामोहक समाज झन् के मुक्त रहन सक्थ्यो र! मोदी आए र गए। उनको जयजय भने जारी नै छ। चौतर्फी महिमा मण्डन भइरहेको छ।
मोदी मोहिनी, मोदी मुद्रा, मोदी मन, मोदी मान एवं मोदी मस्तिष्कजस्ता नवनिर्मित अभिव्यक्ति पढेलेखेकाले समेत प्रयोग गर्न धक मान्दैनन्। उनको भ्रमणको अनपेक्षित असर भने राजनीतिक मनोवृत्तिमा देखिनसक्छ।
मोदित्व मनोवृत्ति
फ्रान्सेली भाषाबाट अंग्रेजीमा समाहित ‘सोभनिज्म’ शब्दले उच्चताको धुन चडेको मनोदशालाई जनाउँछ। अर्काको भन्दा आफ्नो देश राम्रो, तिम्रोभन्दा मेरो जात ठूलो, अरूभन्दा हामी असल, हाम्रो समूह सहिष्णु र अरू संकीर्ण, हामी जान्नेसुन्ने अरू अज्ञानी, हाम्रो जमात परम्पराको संरक्षक बाँकी रुढीवादी जस्ता श्रेष्ठताका सनकहरू अविकसित समाजमा स्वभावतः केही बढी हुन्छ। नेपालीमा त के हिन्दी शब्द कोषमा समेत सोभनिज्मको मर्म समात्न सक्ने पदावली छैन। भारतमा केही लेखकहरूले भने ‘मोदीत्व’ अवधारणालाई सोभनिज्मका रूपमा व्याख्या गर्न थालेका छन्। अवधारणाकै कुरा गर्ने हो भने महेन्द्रवादको भाव मोदीत्वसँग मिल्दोजुल्दो देखिन्छ।
हिन्दुत्व नीति मोदीत्वको आधारस्तम्भ हो। हिन्दुत्वमा अरू धर्मावलम्बीले सनातन धर्मको सर्वोच्चताअन्तर्गत रहेरमात्र आफ्नो धार्मिक स्वतन्त्रता उपभोग गर्नसक्छन्। मुसलमानको टोपीसमेत टाउकामा राख्न नमान्ने मोदी गेरु वस्त्र धारण गरेर सार्वजनिकरूपमा पूजा अर्चना गर्छन्। पुरुष प्रधानता मोदीत्वको दोस्रो प्रमुख मान्यता हो। नारी पूज्य त छन् तर समान हुनसत्तै्कनन् भन्ने मान्यता हिन्दु एवं इस्लाम धर्मका विकृतिको संयोजन हो। तर, राजनीतिको धार्मिकीकरणको साटो धर्मको राजनीतिकरण गरिने भएपछि बढ्ने त असंगति र विंगति न हो।
अतिराष्ट्रियता, उग्रराष्ट्रवाद वा अन्ध देशभक्तिजस्ता उद्वेगहरूमा जस्तै अरूको संहारक र आफ्नाहरूको संरक्षक बन्ने चाहना मोदीत्व मनोभावमा अन्तर्निहित हुन्छ। यस्तै मनोदशाबाट निरंकुश नेतृत्वको पूजा गर्ने प्रवृत्ति जन्मिन्छ। मोदी भारतका निर्वाचित नेता हुन्। निर्वाचनको वैधानिकता प्राप्त व्यक्ति निरंकुश हुन पुग्यो भने अल्पसंख्यक एवं सीमान्तीकृतहरूको के गति हुनेरहेछ भन्ने त ‘गुजरात प्रारूप’को प्रयोगमा देखिसकिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा जेजस्तो परिआए पनि आफ्नो ढिपी नछाड्ने मोदीत्व प्रवृत्ति बलियाका सामु लम्पसार पर्ने तर निर्धालाई नमन गराउने व्यवहारमा बदलिन सक्छ। भारतको विदेश नीति राष्ट्रहित प्रवर्धनभन्दा पनि अस्तित्व संरक्षणकै चरणमा रहेकाले सुरक्षा इकाइहरूको सर्वोच्चता अझै पनि कायमै छ। मोदीत्वको असर नाफा क्षेत्र एवं सुरक्षा संकायबीच सघन सहकार्यका रूपमा प्रतिविम्बित हुनसक्छ।
मोदीत्वको अर्थराजनीतिको सबभन्दा जटिल व्याख्या भने संगठित पुँजी, राजनीतिक वृत्त एवं हिन्दुत्वका ठेकेदारहरूको सघन सहकार्यका विवरणबाट उजागर हुँदै जानेछ। संगठित पुँजी (कर्पोरेट क्यापिटल) आफ्नो आर्थिक शक्तिलाई राजनीतिक प्रभावमा देख्न चाहन्छ। राजनीतिक वृत्त आफ्नो प्रभावको विनिमयद्वारा सम्पन्नता हासिल गर्ने उपक्रममा छ। संगठित धर्म भने यी दुवैथरी घोडाको लगाम आफ्नो हातमा लिएर समाजको रथ हाँक्ने ध्याउन्नमा छ। यस प्रारूपको धेरथोर प्रयोग श्रीलंका एवं बर्मामा भइसकेको छ। सुरक्षा अधिकारी एवं संगठित पुँजीबीचको सहकार्यले विपन्न एवं सीमान्तीकृतको हित चाहने राजनीतिकर्मी ओझेलमा पारिन्छन्। मोदीत्वले त्यस मान्यताका प्रयोग विस्तृतरूपमा गर्योच भने चिनियाँ अर्थराजनीतिको दक्षिण एसियाली संस्करण भारतमा देखिन सक्छ। सकारात्मक वा नकारात्मक जेजस्तो भइ पनि त्यस्ता प्रवृत्तिको असर भने युगान्तकारी ठहरिन सक्छन्।
बहुमतीय मनपरी
नेपालको मध्यम वर्ग ‘मोदी मुग्ध’ हुनु स्वाभाविकै हो। दोस्रो संविधान सभाबाट वर्चस्वशाली समुदायले मतादेशको वैधानिकता प्राप्त गरेदेखि नै एकथरी आक्रामक उग्रपंक्तिबीच माओवादी, मधेसी र जनजाति जस्तालाई ‘देखाई दिने’ छटपटी भइरहेको थियो। सम्भावित भारतीय त्रासले गर्दा त्यो उग्रता व्यक्त हुन पाइरहेको थिएन। मोदीको रणनीतिक व्यवहार र सम्बोधनले वर्चस्वशाली समुदायको मनमस्तिष्क पुलकित भएको हुनुपर्छ।
मोदीत्वका प्राथमिकता स्पष्ट छन्। घरबार र दरबारदेखि अन्तर्राष्ट्रिय सीमासमेतको चौकीदारी गर्ने समुदायको बहादुरीको गुणगान गर्नु उनको जिम्मेवारी हुने नै भयो। गढवाली उखानको ‘पानी र जवानी’ मर्मलाई उनले हिन्दीमा व्याख्या गरेर सम्झाएको सम्भाव्य शंका उपशंका मेटाउनका लागि हुनसक्छ। हिन्दी फिल्मका मायावी नायकका तालमा ‘डायलगवाजी’ गरेर उनले जति ताली खाए पनि यथार्थ के हो भने जलविद्युत्, पर्यटन, जडीबुटी, प्रांगारिक खेती र सांस्कृतिक उन्नयनजस्ता सम्भावना ‘पानी र जवानी’सँगै देशबाहिर बगेर गइरहेको छ। तिनलाई व्यवस्थित गर्न सबभन्दा पहिले संघीय र समावेशी संविधान चाहिन्छ। त्यस कार्यका लागि ‘मोदी मन्त्र’ द्वन्द्ववर्धक ठहरिनसक्छ।
बाह्र बुँदे समझदारीबाट सुरु भएर विस्तृत शान्ति सम्झौता हुँदै एनेकपा (माओवादी)को संसदीय दलमा रूपान्तरणको उपक्रम अझै पनि ‘काम भइरहेछ’ कै चरणमा छ। ‘युद्ध र बुद्ध’ एवं ‘शस्त्रबाट शास्त्र’जस्ता उपदेश गेरुवा वस्त्र धारण गरेर गरिने प्रवचन हो। राजनेताले बोल्ने भाषामा आक्रामकताभन्दा समझदारी सुहाउँछ। भारतका नक्सलवादीलाई सुनाउने कुरा नेपालको संसद्का लागि अनुपयुक्त मात्र नभए विषबीज ठहरिन सक्छ।
मधेसको ‘म’समेत उच्चारण नगरेर भने प्रधानमन्त्री मोदीले तराई मधेसका बासिन्दालाई ठूलो गुन लगाएका छन्। भारतीय सद्भाव र सहयोगको अहितकर भ्रमबाट मुक्त भएपछि बल्ल अब मधेसी सम्मानको राजनीति सामञ्जस्य अभिप्रेरित हुनसक्छ। मधेसको कथित मानमर्दनबाट रमाएका वर्चस्वशाली समुदायका व्यक्तिको अहंकारले सामान्य मधेसीको स्वायत्तताको चाहनालाई झन् उद्वेलित गर्नेछ। संविधान बन्न अहिले बाँकी नै छ। उसै पनि वर्चस्वशाली प्रभुत्वको मोदीत्व अवधारणामा रणनीतिक उपयोगिताबाहेकका अवस्थामा श्रीलंकाका तमिल, बंगलादेशका हिन्दु, पाकिस्तानका अहमदिया वा नेपालका मधेसीको महत्व भारतका मुसलमानहरूको भन्दा फरक छैन। मोदीत्व अर्थराजनीतिमा सीमान्तीकृत एवं अल्पसंख्यकले आफ्नो हैसियत बुझेर अदब र औकातमा रहन सिक्नु र सक्नुपर्छ। शासन गर्नु मोदीत्व मान्यतामा वर्चस्वशाली समुदायको विशेषाधिकार हो।
मोदीत्वका मान्यता स्थापित हुनसक्ने वातावरण भने नेपालमा छैन। कम्युनिस्ट विचारधाराको आकर्षण धेरै कम भइसकेको भए पनि दक्षिण एसियामा सबभन्दा बढी मार्क्सवादबाट प्रभावित जनसमूह नेपालमै हुनुपर्छ। सन् २००६ देखि नै सम्मानको राजनीतिले पनि व्यापक स्वीकृति पाएको छ। विचारको शक्ति नै के हो भने ‘मुठ्ठीभर अराष्ट्रिय तत्व’ ‘चिम्टीभर ‘विकास विरोधी’ले राजसिंहासन हल्लाउन सक्छन्। स्पष्ट छ, मोदीत्व अवधारणाका लागि उपयुक्त प्रयोगशाला नेपाल होइन।
भारतीय हित प्रवर्धनको लगामसमेत स्थायी संस्थापनबाट राजनीतिक वृत्तमा सर्ने हल्ला मोदीत्वको वास्तविकताभन्दा पनि सन् २००६ पछि नयाँ दिल्लीमा प्रभाव गुमाएका नेपाली सम्भ्रान्तहरूको सुषुप्त चाहनामात्र हो। विश्व हिन्दु परिषद् एवं राष्ट्रिय स्वयं सेवक संघको त के कुरा मोदीत्व अँगालेको भारतीय जनता पार्टी समेत मूलतः भय निर्देशित संरचना हुन्। ती सशक्त एवं सक्षम सुरक्षा निकायको राजनीतिक उपयोगितामा विश्वास गर्छन्। त्यसैले विभिन्न आवरणमा रहेका भारतीय सुरक्षा निकायहरूको क्रियाशीलता मोदीत्व विस्तार कालमा अझ बढ्दै जानेछ।
मोदीत्वको सबैभन्दा विध्वंशक असर भने सामान्यीकरण उन्मुख सामाजिक सामञ्जस्यमा देखिनसक्छ। त्यो भारतीय उद्देश्यअनुरूप नै हो वा अनपेक्षित प्रभावमात्र हो भन्ने निष्कर्षमा अहिले नै पुग्नु भने हतरो ठहरिनेछ। चनाखो भने भइरहनुपर्छ।

नागरिक दैनिक साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *