मोदीद्वारा पशुपतिनाथमा विशेष पूजाअर्चना

modi in pasupatinath काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान पवित्र धार्मिक स्थल पशुपतिनाथ जानुभई आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गरेका छन्। नेपालको औपचारिक भ्रमणमा आइतबार नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले साउनको सोमबारको अवसर पारेर आज बिहान भगवान् पशुपतिनाथको विशेष पूजाअर्चना गरेका हुन्।
साउनको सोमबार पारेर भगवान् शिवको पूजा आराधना गर्ने कार्यलाई हिन्दू धर्मालम्वीहरुले विशेष महत्व दिने गर्छन्। भारतीय प्रधानमन्त्री मोदीले करिब ५० मिनेट लगाएर धार्मिक विधिअनुसार आराध्यदेव पशुपतिमा रुद्राभिषेक पूजा गरेका थिए। पूजाअर्चना सम्पन्न भएपछि चन्दनको टीका र रुद्राक्षको माला पहिरिएर प्रफुल्ल मुद्रामा पशुपति मूलद्वारबाट बाहिर आउनुभएका प्रधानमन्त्री मोदीले त्यहाँ उपस्थित भक्तजनहरुसँग हात मिलाएर अभिवादन गरेका थिए।
प्रधानमन्त्री मोदीले नेपाल आउनु पूर्व साउनको सोमबार पशुपति मन्दिरमा पूजा गर्न पाउने अवसरलाई आफ्नो भाग्य भएको भावना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए। गुजरातको प्रसिद्ध शिवमन्दिर सोमनाथ, बनारसको विश्वनाथ र काठमाडौंको पशुपतिनाथबीच धार्मिक आस्थाको सम्बन्धलाई उनले विशेष महत्व दिएका छन्। modi at pasupatinath
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले पाँच वर्षका लागि पूजा गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीले तीन करोड रुपैयाँ बराबरको चन्दन प्रदान गरेका थिए। विशेष पूजाका लागि उनी ९:१५ बजे पशुपति मन्दिर प्रवेश गरेका थिए। स्थानीय नेवारी धिमे बाजा र भक्तजनहरूको तालीको स्वागतकासाथ प्रम मोदीलाई मन्दिरमा प्रवेश गराइएको थियो।
प्रधानमन्त्री मोदीको स्वागतमा पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित वेद विद्याश्रमका १०८ बटुकले वैदिक शैलीमा स्वस्ति वाचन गरेका थिए। उनको स्वागतार्थ पशुपति मन्दिर परिसरमा सजावट गरिएको थियो भने सुरक्षा व्यवस्थाका लागि बिहान ८ बजेदेखि नै सो क्षेत्र खाली गराइएको थियो। रासस

Leave a Reply

Your email address will not be published.