मिहिनेती मुक्तकमैया प्रगतिपथमा

Kamaiya

मुकेश टेंर्रा, धनगढी- चौध वर्ष पहिले मुक्त भएकामध्ये केही मुक्त कमैयाले सामाजिक तथा आर्थिक रूपमा सफलता प्राप्त गरेका छन्। कमैया प्रथा निषेध भएपछि मुक्त भएका उनीहरूको मिहिनेत तथा अठोटले प्रगति पथमा लम्किएका छन्।

सरकारले २०५७ साल साउन २ गते कमैया प्रथा निषेध गरेपछि कैलाली लगायत पश्चिमका पाँच जिल्लाका हजारौं कमैया परिवार मुक्त भएका थिए। सरकारले मुक्त कमैया पुनः स्थापनाका लागि चरणबद्ध रूपमा कार्य गरिरहेको छ। यद्यपी अझैं पनि केही कमैया परिवार पुनस्र्थापना भइसकेका छैनन्, तर मिहिनेत, अठोट र लगनशील मुक्त कमैयाले भने आर्थिक तथा सामाजिक रूपमा राम्रो उपलब्धी हासिल गरेका छन्।
मुक्तिपछि धनगढी–११ मनेहरामा पुनःस्थापना गरिएका मोतिलाल चौधरीले यस वर्ष आफ्नो घर निर्माण गरेका छन्। उनलाई सरकारले पुनःस्थापना गर्दा मनेहरा शिविरमा दुई कठ्ठा जमीन दिएर जस्ताले छाएको घर बनाइ दिएको थियो। त्यसको १३ वर्षपछि उनले सोही जमीनमा आफैँले पक्की घर बनाएका छन्। सरकारले बनाइदिएको उनको घर यसै वर्ष संयोगले वर्षाको कारण भत्किये। शिविरमै किराना पसल र मासु पसल सञ्चालन गरिरहेका मोतिलालले यहाँसम्म पुग्न निकै मिहिनेत गर्नु परेको अनुभव सुनाँछन्।
धनगढी–११ मनेहरा र १२ मनेहरामा मुक्त कमैया पुनःस्थापना समितिले तीन पटक गरी करिब चार सय परिवार मुक्त कमैयालाई पुनःस्थापना गरेको छ। त्यहाँ पुनःस्थापित मुक्तकमैयाहरू मध्ये अधिकांशले डकर्मी, सिकर्मी लगायतका मजदुरी, व्यापार र तरकारी खेती, पशुपालन गरेर प्रगति गरिरहेका छन्। धेरैले आफ्नो दैनिक गुजारा सजिलै चलाउनुका साथै बचत पनि गरिरहेका छन्।
यसको अर्का उदाहरण धनगढी–१२ मनेहरामा तीन वर्षअघि पुनःस्थापना गरिएका मुक्तकमैया सुरेश चौधरी हुन्। उनको परिवारका सबै सदस्यले मजदुरी र बंगुरपालन मार्फत आफ्नो जिन्दगानी सजिलो बनाएका छन्। कमैया, मुक्ति र पुनःस्थापनापछि च्याङ्फा ट्रयाक्टर किनेर ढुवानीको काम अगाडि बढाउँदासम्म धेरै सहज जीवन जीउन पाइएको सुरेशले बताए।
पुनःस्थापनापछि पूर्व कमैयाहरूको जीवनयापनमा सहजता आउनुका साथै शैक्षिकस्तर समेत उकासेका छन्। उनीहरूको परिवारमा विस्तारै शिक्षित जनशक्ति तयार हुँदै गएको छ। करिब १० प्रतिशत मुक्तकमैयाका बालबालिकाहरूले एसएलसीसम्मको पढाई पूरा गरेको अनुमान गरिन थालिएको छ।
यसको उदाहरण बनेका छन्, जुगती चौधरीका माइला छोरा। उनी शिविरकै प्राविमा शिक्षक भएका छन् भने जुगमतीका जेठा छोरा र साइला छोरा घर बनाउने मिस्त्रीको काम गर्छन्। यसले गर्दा परिवारको आय बढेको जुगमतीले बताइन्।
बजार क्षेत्रमा पुनःस्थापित गरिएका ७० प्रतिशत पूर्व कमैयाको जीवनस्तर उकासिएको अनुमान गरिएको छ भने ग्रामीण क्षेत्रमा पुनःस्थापित गरिएका ३० प्रतिशत मुक्त कमैयाको जीवनस्तरमा सुधार आएको अनुमान छे। कमैया हुँदाको अवस्था भन्दा पुनःस्थापना भएको अवस्थामा केही मुक्त कमैयाको जीवनस्तर माथि उठेको देखिन्छ तर मुक्त कमैयाहरूले अझै पनि गुणस्तरीय जीवन जिउन नपाएको कमैया प्रथा उन्मुलन समाजका कार्यक्रम संयोजक जगदिश रानाले बताए।

Leave a Reply

Your email address will not be published.