कञ्चनपुर- दोदा नदीको बाढी (बैया) बाट पीडित शंकरपुर-८ का डेढ सय परिवार रातभर जागा बस्न बाध्य छन् । ‘हेर्दाहेर्दै छिमेकी गाउँ पूरै बग्यो, हाम्रो पनि के भर छ र,’ दोदा किनारमा बिहीबार भेटिएका झग्गुप्रसाद चौधरीले त्रास व्यक्त गरे, ‘अहिले कटान भइरहेको ठाउँबाट दोदा पस्यो भने हाम्रो पनि उठिबास हुन्छ । त्यसपछि को कता पुग्छ, ठेगान छैन।’
कञ्चनपुरको दक्षिणपूर्वी भेगको दोदा नदीले धार परिवर्तन गरी केही वर्षयता देखतभुली र शंकरपुर गाविसका बस्तीतिर पस्न थालेको हो । ०६५ को बाढीले शंकरपुर-७ को डुंगा गाउँको उठिबास नै भयो । ‘पूरै वडावासी विस्थापित भए,’ स्थानीय विश्राम राना भन्छन्, ‘७ नम्बर पूरै बग्यो, अब ८ तिर दोदा पस्यो भने हजारौं परिवारको बिल्लीबाठ हुन्छ ।’ हाल कटान भइरहेको क्षेत्रबाट बाढी पस्यो भने शंकरपुर-८ देखि बेलौरीसम्म जोखिममा पर्नेछ ।
डुंगामा बाढी पसेर घरखेत नबगाउँदासम्म ७ नम्बर वडामा १ सय ६३ घर थिए । विस्थापित परिवारमध्ये केही शोभाताल डाँडाको रानीवन शिविरमा आश्रय लिएर बसेका छन् । स्थानीय काशीराम जोशीका अनुसार केही परिवार आफन्तकामा र अन्य सुकुम्बासी बनेका छन् ।
‘पहिला-पहिला बैया आउँथ्यो, जग्गा कटान हुँदैनथ्यो,’ झग्गुप्रसादले विगत सम्भिmए, ‘बरु बाढी ल्याएको मलिलो माटोले उब्जनी बढाउँथ्यो ।’ केही वर्षयता भने एकै रातको बाढीले घर र खेत सबै बगाउन थालेको छ ।
बाढीकै कारण दोदा किनारको जग्गा किन्न कोही तयार हुँदैन । ‘अब त बैंकहरूले समेत कटान क्षेत्रको जग्गा धितो लिन छाडेपछि हामीलाई दोदाले घर न घाटको अवस्थामा पुर्याअएको स्थिति छ,’ उनले भने ।
दोदाले देखतभुलीको महावीर खल्लादेखि जाई र भुलीसम्म बर्सेनि कटान गर्दै आएको छ । शंकरपुरमा पुरानो धार नै परिवर्तन गरेर डुंगा र कञ्जसम्मको सयौं बिघा जग्गा बगाइसकेको छ । ‘नेतादेखि सरकारी कर्मचारीसम्मको ध्यान महाकालीतिर भो, यता कसैले हेरेनन्,’ झग्गुप्रसादले दुखेसो पोखे, ‘उता सानो बाढी पस्यो भने हल्लीखल्ली हुन्छ, यता गाउँ नै उठिबास हुँदा पनि वास्ता गरिँदैन ।’
बजेट निकासा ढिलो भएकाले तटबन्धको काम पनि हुन सकेन ।
जनताको तटबन्ध कार्यालयका इन्जिनियर करवीर साउदका अनुसार शंकरपुरको ७ र ८ डुंगा गाउँमा १ हजार ७ सय मिटर तटबन्ध निर्माणको ठेक्का जेठ १० मा भएको हो । ‘बजेट ढिलो आएकाले र बाढीबाट घरबारविहीनको अवरोधका कारण काम गर्न सकिएन,’ उनले भने, ‘८ करोड रुपैयाँ पि|mज छ ।’
२०६५ को बाढीले शंकरपुर-७ को करिब ३ सय बिघा जग्गा बगरमा परिणत भएको थियो । विस्थापित परिवारले सरकारसँग व्यवस्थित बसोबासका लागि जग्गा माग गर्दै आएका छन् । जग्गा व्यवस्था नभएसम्म तटबन्ध बनाउन नदिने उनीहरूको अडान छ । स्थानीयवासी भने तटबन्ध कार्यालयकै कमजोरी औंल्याउँछन् । ‘केही व्यक्तिले विरोध गर्दैमा हजारौं बासिन्दालाई जोगाउने काम रोक्न मिल्दैन,’ स्थानीय काशीराम जोशीले भने ।
खेतमा सखरखण्ड रोपेर पत्नीसँगै घर फर्किरहेका झग्गुप्रसाद अब दोदा किनारमा भविष्य सुरक्षित नभएको निष्कर्षमा पुगेका छन् । पुख्र्यौली थलो दाङबाट यहाँ बसाइँ आएकामा उनलाई पश्चाताप छ । बझाङबाट महाकालीपारिको दोधारा हुँदै शंकरपुर आएका काशीरामलाई पनि यस्तै लाग्न थालेको छ ।
कान्तिपुर दैनिक साभार