टीकापुर अस्पतालमा दक्ष जनशक्तिको अभाव

धनगढी- जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कैलाली जिल्लाको टीकापुर अस्पतालमा दरबन्दीअनुसार चिकित्सक र अन्य कर्मचारी नहुँदा बिरामीले भरपर्दो र गुणस्तरीय उपचार सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा तीन जना चिकित्सक, छ जना स्टाफ नर्स र अन्य कर्मचारीसमेत २६ जनाको दरबन्दी रहेकामा हाल एक जना चिकित्सक, तीन जना स्टाफ नर्स र अन्य कर्मचारीसमेत जम्मा १५ जनामात्र कार्यरत रहेकाले बिरामीको सहज रुपमा स्वास्थ्य परीक्षण तथा उपचारमा कठिनाइ भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नरेन्द्र खनालले बताउनुभयो ।
तत्कालीन टीकापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई विसं २०६४ मा सरकारले स्तरोन्नति गरी अस्पताल बनाएको थियो ।  “पछिल्लोपटक झन्डै १८ महिनादेखि टीकापुर अस्पताल, व्यवस्थापन समितिविहीन हुँदा आर्थिक स्रोत जुटाउन समस्या देखिएको छ,” डा. खनालले भन्नुभयो– जनशक्तिको व्यवस्थापनसमेत हुन नसक्दा थप समस्या भएको छ ।
सरकारले १५ शय्याको स्वीकृति दिएको यो अस्पतालमा स्थानीय स्रोत जुटाई २८ शय्या सञ्चालनमा ल्याइएको भएपनि उपचारार्थ अस्पतालमा आउने बिरामीको सङ्ख्याको अनुपातमा जनशक्तिको ठूलो अभाव खड्किएको डा. खनाल बताउनुहुन्छ ।
“थेग्नै नसक्ने गरी बिरामी बढ्दै गएको चापले सहज उपचारमा कठिनाइ भएको छ,” डा. रामकुमार दासले भन्नुभयो– यसका कारण सबै बिरामीले समयमै उपचार पाउन सक्ने अवस्था छैन ।”
अस्पतालमा हाल दैनिक विभिन्न रोगका ३५० बिरामी उपचारार्थ आउने गरेकामा विशेष खालका एवम् अस्पतालमा उपचार हुन नसक्ने तीन÷चार जना रोगीलाई थप उपचारका लागि अन्यत्र सिफारिश गर्ने गरिएको छ ।
अस्पतालमा स्थानीय स्रोत जुटाई दुई जना चिकित्सक करारमा राखिएका छन् ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष मोतीराम जैसी अस्पताललाई दरबन्दीअनुसारका चिकित्सक एवम् अन्य कर्मचारीको व्यवस्था गरी सुविधा सम्पन्न बनाउन सरकारसँग पटकपटक अनुरोध गरिएको भएपनि सरकारको नजर अहिलेसम्म अस्पतालमा पुग्न नसकेको बताउनुहुन्छ ।
अस्पताललाई कोरियाको कोइका नामक संस्थाले करिब रु पाँच करोड मूल्य बराबरका इन्डोस्कोपी, भेन्टिलेटर, एनेस्थेसिया, अल्ट्रा साउन्डलगायतका उपचारका उपकरणहरू उपलब्ध गराएको भएपनि दक्ष जनशक्तिको अभावमा अधिकांश उपकरण प्रयोगमा आएका छैनन् । रासस

Leave a Reply

Your email address will not be published.