प्रहरी जवान जोशीको रहस्यमय ढङ्गबाट मृत्यु

चितवन- सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट आज बिहान यहाँ मृत्यु भएको छ । दुईदिनअघि नारायणगढको लायन्सचोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात् अचेत बनेपछि उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ८ बजे जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।
कञ्चनपुरको झलारी गाउँ विकास समिति वडा नम्बर– ९ स्थायी घर भएका ३० वर्षीय जोशी आइतबार दिउँसो सो लजमा एक महिलासँगै बसेका थिए । राति ११ः३० बजे अकस्मात् उनी अचेत बनेपछि अस्पताल भर्ना गरिएको थियो । जोशीसँगै रहेकी पूर्वी चितवनको पिप्ले घर भएकी ती महिलालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जोशी बसेको कोठामा विषादीको डब्बा फेला परेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.