हामी मधेसी हुन तयार छैनौं : रुक्मिणी चौधरी

Rukmini Chdudhary
सभासद तथा अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

सुक्रनगर–२, चितवनमा जन्मिनुभएकी सभासद रुक्मिणी चौधरीको २०५४ मा सिसनिया–२, दाङमा विवाह भयो। २०४७ सालदेखि नै हाइस्कूल अध्ययनका क्रममा उहाँ नेविसंघको विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो। बुवा नेपाली कांग्रेसको कार्यकर्ता भएकै कारण उहाँ पनि कांग्रेसकै राजनीतिमा सुरुमा होमिनुभयो। तर पछि कांग्रेसको राजनीति र कार्यशैलीबाट विरक्त भएपछि उहाँ थरुहट स्वायत्त राज्य परिषद हुँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २०६४ सालमा सभासद हुनुभयो। सो दौरानमा पार्टीभित्र अनेक उतारचढाव आएपछि उहाँ आफ्नै नेतृत्वमा २०६८ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पार्टी बनाएर पार्टीको नेतृत्व गर्दै सभासदको भूमिका निर्वाह गरिरहनुभएको छ। प्रस्तुत छ उहाँसँग लक्की चौधरीले गरेको कुराकानीको सारसंक्षेप:

दोस्रो पटक पनि सभासद हुनुभयो कस्तो जिम्मेवारीबोध भइरहेको छ?
पदको जिम्मेवारी आउँदा जिम्मेवारीबोध त हुन्छ नै। प्रयास गर्दागर्दै पनि गत संविधानसभा संविधान नबनाई विघटन हुनपुग्यो। त्यसले निकै दुःखी बनाएको थियो, अहिले पनि एक वर्षभित्र नयाँ संविधान बनाउने कार्यतालिका बनेको छ, सोअनुसार काम गर्न अझै पनि निकै चुनौति छ। संविधान बनाउनु अहिलेको प्रमुख जिम्मेवारीबोध हो हाम्रालागि।

घरको गृहिणि र संविधानसभाको सदस्यको जिम्मेवारीमा के फरक महुशस गर्नुभएको छ?
घरको गृहिणी घरको कोठाभित्रै सीमित छ। सभासदको जिम्मेवारी घरसँगै सबै नेपाली र देशका लागि गर्नुपर्ने हुन्छ। घरकै सदस्यहरुको सहयोग र समर्थनमा सभासदको जिम्मेवारी निर्वाह सम्भव भइरहेको छ। अहिलेसम्म त्यसैगरी म सभासदको भूमिका निर्वाह गरिरहेकी छु। महिलालाई सार्वजनिक राजनीतिको जिम्मेवारी निभाउन पुरुषको तुलनामा निसन्देह धेरै चुनौति छ तथापि चुनौतिदेखि भाग्न पनि मिल्दैन। मेरोलागि घरको र बाहिरको भूमिका निभाउन समस्या भएपनि सजिलै समाधान हुने गरेको छ।

एकजना थारु महिलालाई राजनीतिमा आउने वातावरण कसरी बन्यो?
सुरुमा मलाई राजनीतिप्रति चासो थिएन। मेरो बुवा नेपाली कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो। ४० वर्षबढी कांग्रेसमा समाहित रहनुभयो। पार्टीको सिद्धान्त राम्रो भएपनि शोषण र दमन गर्ने कांग्रेसीको परिपाटीले मलाई आक्रोशीत् गर्थ्यौ। व्यक्ति विशेषको एकाधिकार हुने, गाउँको एकजना जमिन्दारको हालीमुहाली हुने बाँकी सबै थारु, जनजातिहरु उनीहरुको दासदासीजस्तै व्यवहार गर्नुपर्ने। यस्तै प्रवृत्तिले मलाई राजनीतिमा लाग्नुपर्छ भन्ने मनमा उत्साह जाग्यो। चित्तवनबाट विवाह गरी दाङ गएपछि श्रीमान गा.वि.स. कार्यालयको प्राविधिक हुनुहुन्थ्यो।
२०५४ को स्थानीय निर्वाचनपछि गा.वि.स.अध्यक्षमा एकजना महिला आउनुभयो। रुक्मिणी चौधरीको घरपरिवार कांग्रेसका हुन भनेर श्रीमानलाई जागिरबाट निकाल्ने प्रयास भयो। त्यो मलाई सह्य भएन र मनमा अठोट गरें म पनि एकदिन यसै गा.वि.स.को अध्यक्ष भएर देखाउँछु। दुई महिना स्थायी हुने समय थियो, श्रीमान्को राजीनामा मागियो। त्यही घटनाले मलाई राजनीतिमा लाग्न थप उत्साहित गर्‍यो। विद्यार्थी राजनीति त २०४७ देखि नै सुरु गरिसकेकी थिएँ।

बुवाको राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
कृष्ण महतो बुवाको नाम हो। उहाँ कांग्रेसको क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी निभाउनुभयो। त्यतिबेला चित्तवनको थारु गाउँमा अन्य पार्टीका कोही थिएनन्। सबै थारु कांग्रेस थिए। हाइस्कूल पढ्दै म विद्यार्थी राजनीतिमा थिएँ। सुरुमा नेविसंघमा थिएँ। त्याग र परिश्रम अनुसारको बुवालाई पार्टीले जिम्मेवारी नदिएर विभेद गरेको महुशस भएपछि म कांग्रेसमा जान रुचाएन। दिदी पनि नेविसंघमा हुनुहुन्थ्यो। पछि विवाह गरेर गएपछि राजनीति छाड्नुभयो। त्यतिबेला चित्तवनका थारुहरु सबै कांग्रेस पार्टीमा भएपनि अहिले सो पार्टीको व्यवहार र विभेदका कारण अहिले सबै एमाले, एमाओवादी र अन्य पार्टीमा संलग्न छन्। बुवाले राजनीति गर्ने क्रममै आमाको मृत्यु भयो। पार्टीले कुनै सहयोग गरेन। त्यसैले पनि बुवालाई कांग्रेसप्रतिको चासो हट्यो। अहिले उहाँ निस्त्रि्कय हुनुहुन्छ।

तपाई एउटा पार्टीको अध्यक्ष पनि हो, घर चलाउन र पार्टी चलाउनमा के अन्तर छ?
पार्टी र घर दुवै परिवार नै हो। तर घर सानो पार्टी हो भने पार्टी ठूलो परिवार हो। धेरै सदस्य भएको ठाउँमा निसन्देह विचार र प्रवृत्ति फरक–फरक हुन्छन् नै। पार्टी चलाउन जत्तिको गाह्रो घर चलाउन छैन। आर्थिक हिसावले पनि घर चलाउन कम खर्च भए पुग्छ। पार्टी चलाउन धेरै खर्च चाहिन्छ। यसो भनिरहँदा आर्थिक पक्ष सबैचिज भने होइन। विचार, सिद्धान्त र व्यवहार पनि पार्टीका लागि त्यतिकै आवश्यक चिज हुन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई फुटाएर पुछारमा थरुहट जोडेर अर्को पार्टी बनाउनु किन आवश्यक भयो?
पार्टीभित्र अनेक विचारका मान्छे हुन्छन्। पुरुषहरु बढी महत्वाकांक्षी हुँदा रहेछन्। लक्ष्मण थारुले पहिले यो पार्टी फुटाएका हुन्। उनलाई रोक्न धेरै प्रयास गरियो तर सकिएन। थरुहट स्वायत्त राज्य परिषदको केन्द्रीय संगठन विभागको जिम्मेवारीमा थिएँ। त्यही बेला कामका सिलसिलामै देश दौडाहा पनि भयो। मेरो पार्टी जन्मिनुमा त्यही अभियानले ठूलो उर्जा दियो। स्थानीयस्तरमा जनतासँग सहकार्य र चिनजान भयो। यद्यपि म पार्टी फुटाउने पक्षमा थिएन। पार्टीभित्र मलाई कारवाहीको प्रक्रिया अघि बढाएपछि म बाध्य भएर अलग पार्टी बनाएकी हुँ। चित्त नबुझेपछि दल त्याग ऐन अनुसार नै २०६८ मा आएर पार्टी अलग खोलेको हुँ।

सभासद पद दुरुपयोग गरेर पार्टी फुटाएको आरोप लगाएका थिए नि साथीहरुले?
आरोप त जसले जे लगाए पनि भयो। तर तथ्यमा जाँदा को दोसी हो स्पष्ट हुन्छ। मलाई सर्वसम्मतरुपमा समानुपातिक सभासद बनाएर पछि राजीनामा मागे। पहिले के आधारमा पार्टीको निर्णय गरेर सभासद बनाउनु भयो, फेरि के आधारमा राजिनामा माग्दै हुनुहुन्छ भनेर मैले राजीनामा दिन मानिन। महिलाले जति राम्रो काम गरे पनि पुरुषहरुले सही मूल्याङ्कन नगर्दा रहेछन् भन्ने मलाई त्यतिबेला महुशस भएको थियो। यसको अर्थ सबै पुरुष खराव छन् भन्ने अर्थ नलागोस्। मञ्चमा दुईजना सभासद थियौं। राजकुमार नाल्बो र म। लक्ष्मणले राजकुमारलाई पनि पार्टीबाट एकतर्फी ढंगले कारवाही गरे। मलाई पनि त्यस्तै गर्ने प्रयास गरे। उनको दमन सह्य नभएर अलग भएकी हुँ। अहिले लक्ष्मण आफै पार्टीबाट कारवाहीमा परेर मधेसीका पार्टीमा प्रवेश गरेका छन्। उनको हैसियत त देखियो नि!

आदिबासी जनजाति, मुश्लिम, महिला, मधेसी, पछाडि परेकाहरुको अधिकार सुनिश्चित गर्न कस्तो भूमिका खेलिरहनुभएको छ?
राज्यबाट यी वर्गहरु पछाडि पारिएको साँचो हो। कुनै वर्ग एकदम धनी, कोही एकदम गरिब रहनु राज्यकैलागि पनि सुहाउने पक्ष होइन। हामी नितान्त त्यही वर्गलाई प्रतिनिधित्व गर्छौं। संविधानसभाबाट नयाँ संविधानमा यी वर्गको अधिकार सुनिश्चित्ताका लागि हामी लागिपरेका छौं। यसको अर्थ, आफ्नो अधिकार लिनकालागि अन्यको अधिकार दमन गर्ने पक्षमा पनि हामी छैनौं। हामी समानता र न्याय खोजेका छौं, कसैको अधिकार र भाग खोस्नेमा छैनौं। म जस्ता संविधानमा अधिकांश सभासदहरु निम्नवर्गीय तहबाट आउनुभएको छ। उहाँहरुसँगको सहकार्य र प्रयासले सबै वर्गलाई न्याय दिनेखालको नयाँ संविधान निर्माण गर्नेमा हामी प्रयासरत छौं। आशा गरौं नयाँ संविधानले त्यसको सम्बोधन गर्ला।

थारुहरु मधेसी हुन् भनेर आरोप लाग्ने गर्छ? तपाई थारु कि मधेसी?
यो कुतर्क हो। थारुहरुको आफ्नै भाषा, संस्कृति, थातथलो र प्रथा परम्परा छ। यस्तो समुदायलाई आदिबासी जनजाति भन्ने गरिन्छ। लिखतहरुले पनि त्यही भन्छ। यहाँ हिमाल, पहाड र तराई मात्रै छ कानूनीरुपमा। तर तराईलाई मधेस भन्ने हाम्रै ठूला दलका नेताहरु हुन्। उनीहरु तराईबाट प्रतिनिधित्व गर्ने तर मधेसी नहुने, हामी मधेसी कसरी हुन्छौं? सुशिल कोइराला बाँकेबाट हुनुहुन्छ के उहाँ मधेसी बन्न तयार हुनुहुन्छ? प्रचण्ड, माधव र अन्य नेताहरु पनि त तराईमै बस्ने र त्यहीबाटै चुनाव जितेर संविधानसभामा आएका छन्। उनीहरु मधेसी नहुने तर हामी थारु मधेसी हुने? यो गलत मनसायबाट आएको विषय हो। हामी थारु नै हो। मधेसीको आरोप लगाइनु गलत प्रबृत्तिको उपज हो। हामी मधेसी हुन तयार छैनौं।
दुर्भाग्य! निर्वाचन आयोगले थारुलाई मधेसी कोटामा राख्यो। लोकसेवा आयोगमा पनि थारुलाई आदिबासीभन्दा मधेसी कोटामा राख्ने गरेको छ। यसकोलागि हामी संविधानसभामा लडाई लडिरहेका छौं। ढुक्क हुनुस् – अस्तित्व र पहिचान लिएरै छाड्छौं।

नयाँ संविधान कार्यतालिका अनुसार आगामी माघ ८ गते भित्र जारी हुन्छ त?
विगतमा भएको सहमतिलाई उल्टाउने प्रयास भइरहेको छ। अहिले संविधानसभा बैठकमा सहमति भएकै विषयलाई गलत देखाउने प्रयास गरिदै छ। यस्तै प्रवृत्ति कायम रह्यो भने कार्यतालिका अनुसार संविधान बन्दैन। विगतमा दलका नेताहरुले असारमै स्थानीय निर्वाचन गर्ने सहमति गरेका थिए तर गर्न सकेनन्। अहिले पनि ०७१ माघ ८ भित्र नयाँ संविधान जारी गर्ने कार्यतालिका बनेको भएपनि दलका नेताहरुको उदासिनताले बन्ला जस्तो मलाई लाग्दैन। आशा मात्रै गर्न सकिन्छ तर विश्वास गर्ने आधार अझै बनिसकेको छैन। उसो त नेताहरु सचेत छन् कि अर्को असफलताको विल्ला फेरि लाउनु हुन्न भनेर। विगतको सहमतिलाई उल्टाउने प्रयास गरिए पुनः मुलुकमा द्वण्द्व हुन्छ।

अन्त्यमा केही भन्नु छ भने?
हामी समानुपातिक समावेशी सिद्धान्तकालागि लड्दै आएका छौं। सबै वर्गलाई न्याय गर्ने संविधान चाहिएको छ। त्यसलेमात्रै निकास दिनसक्छ। नयाँ संविधानमा सबै वर्गको हित र अपनत्व हुने संविधानका लागि नागरिक समाज, नागरिक, बुद्धिजिवी, पत्रकार, राजनीतिकदल सबै लाग्नुपर्छ। त्यसकालागि सबै लागौं। नागरिक सचेत नहुँदासम्म संविधान बन्ला जस्तो लाग्दैन। निरन्तर खवरदारीको आवश्यकता छ। संविधानका निम्ति सबै सचेत होऔं र समयमै संविधान बनाऔं। म यही आग्रह गर्दछु।
गोरखापत्र साभार

2 thoughts on “हामी मधेसी हुन तयार छैनौं : रुक्मिणी चौधरी

  1. माथिकेा सम्वादमा जे जस्ता भए पनि ,,एउटा कुरा चाही ध्रुव सत्यहेा । थारू जाती जनजाती ,,,अादीवाशी नै हुन । यसमा कुनै दुइ मत छैन । यसकेा लागी तपाइहरू अगाडी वढनुहेास हामी साथ दिन्छैा । मधेशी मदेशी नै हुन। प्रदेशी शव्द लाइ गैर नेपालीहरू म्रदेशी भन्न लागे र अहिले मदेशी हुदै मधेशी हुन पुग्येा । हेाइन भने तराइमा पहाडीया तथा थारू हरूले मदेशी भन्दा तल्लेा अस्तरकेा मानिस भनि किन सेाच्दथे त । अहिले अायर त्यसलाइ सत्ता कव्जा र स्वार्थ िसद्धीकेा लागी धेरै परिभाषित गरिएकेा छ । थारूसमुदायकेा लागी थारू समुदायले सहयाेगकेा महसुश ठाने हामी अादिवासि जनजाती मात्रै हैन अपेतु (प्रदेशी)मधेशी वाहेक सवै जात जाती वाट सहयेाग मिल्ने छ ।

Leave a Reply

Your email address will not be published.