महिला भलिबलकी आशा सरस्वती चौधरी

Sarswati Chaudharyकाठमाडौं- सरस्वती चौधरीको क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने गरेको छ । महिला भलिबलकी नयाँ सनसनी सरस्वती वर्तमानमा यो खेलकी नेपाल नम्बर एक क्विक स्पाइकर हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुन सक्ने क्षमता भएकी सरस्वतीलाई नयाँ पुस्ताको प्रतिभावान खेलाडीका रुपमा लिने गरिन्छ ।

सरस्वती चौधरी एपिएफ क्लबबाट खेल्छिन् । उनी एपिएफमा आवद्ध भएको करिब १० महिनामात्र भयो । उनी आएपछि एपिएफले एक पछि अर्को सफलता हात पारेको छ । महिला भलिबलमा सर्वाधिक उपाधि जित्ने क्रममा एपिएफले झन्डै १ वर्षको अवधिमा ५ उपाधि हात पा¥यो । एपिएफले प्रथम आइजिपी कप, ढोरपाटन डबल लिग, पर्वतको राष्ट्रिय महिला भलिबल, एनभिए क्लब च्याम्पियनसिप र प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपको राष्ट्रिय भलिबल ट्रफी हात पार्दा सरस्वतीकै भूमिका महत्वपूर्ण थियो ।
वितेको वर्ष एपिएफलाई सफलताका साथै राष्ट्रिय भलिबललाई आशा दिलाउने खालको प्रदर्शन गरेकी उनी यो वर्षको सुरुआतमै ठूलो व्यक्तिगत सफलताको नजिक पुगेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत उनी वर्षको लोकप्रिय खेलाडीको मनोनयनमा परेकी छिन् । क्रिकेटका कप्तान पारस खड्का, फुटबलका युवा स्ट्राइकर विमल घर्तीमगर, एथलेटिक्सका यामसाजन सुनार र पौडीकी सोफिया शाह उनका प्रतिस्पर्धी हुन् । फेसबुक लाइक र एसएमएस मतका आधारमा छानिने पल्सर वर्षको लोकप्रिय खेलाडीको पुरस्कार हात पार्न उनले यी चार खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । विजेताको घोषणा र पुरस्कार वितरण जेठ १८ गते एक भव्य कार्यक्रमका बीच हुनेछ ।
धनगढी प्रगती टोलकी सरस्वतीले सुदूर पश्चिममा जन्मिएर पश्चिमाञ्चलबाट आफ्नो क्षमता निर्खाने मौका पाइन । पश्चिमाञ्चलपछि उनले एपिएफबाट प्रभाव देखाउँदै आएकी छिन् । एपिएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठको प्रशिक्षणमा सरस्वतीले थप सुधारेकी छिन् ।
५ वर्षअघि गणतान्त्रिक खेलकुद महोत्सवमा सुदूर पश्चिमाञ्चलको भलिबल टिमबाट खेल्दा सरस्वती टिमको दोस्रो रोजाईमा थिइन । वैकिल्पक खेलाडी भएर खेल्न पाउँदा राम्रो प्रदर्शनबाट उनले प्रशिक्षकको ध्यान तानेकी थिइन । पहिलो पल्ट राष्ट्रिय प्रतियोगिता खेल्दा सरस्वतीको सम्भावना देखेर पोखराको फिस्टेल एकेडेमीले उनलाई छात्रवृत्ति प्रदान गरेको थियो । जुन उनको खेलजीवनको महत्वपूर्ण मोड सावित भयो ।
सरस्वतीले ५ वर्ष फिस्टेलबाट भलिबल खेलिन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भलिबल बाहेक सरस्वतीले हाइजम्पमा पनि स्वर्ण जितेकी छिन । सरस्वतीले भलिबलाई मुख्य खेलका रुपमा अगाडी बढाइन । सरस्वतीले पश्चिमाञ्चलबाट खेल्दा पनि राम्रो प्रभाव पारेकी थिइन् । पछिल्ला वर्षमा कमजोर प्रर्दशन गदै आएको पश्चिमाञ्चलले गत वर्ष बाग्लुङमा राष्ट्रिय महिला भलिबल उपाधि जित्दा सरस्वती टोलीको मुख्य खेलाडी थिइन ।
२०६९ सालको ढोरपाटन डबल लिग महिला भलिबलमा फिस्टेल एकेडेमीले तेस्रो स्थान हात पार्दा सरस्वतीले उदीयमान खेलाडी घोषित हुँदै स्कुटर पुरस्कार पाएकी थिइन । २०७० सालमा सरस्वतीले प्रथम आइजिपी कप राष्ट्रिय महिला भलिबलमा सर्वोत्कृष्ट खेलाडी हुँदै स्कुटर हात पार्न सफल भइन । क्लब लिग च्याम्पियनसिपको उत्कृष्ट खेलाडी सरस्वतीलाई नेपाल भलिबल संघले वर्ष खेलाडीबाट पुरस्कृत गरिसकेको छ ।
नेपाली भलिबलमा पुरुष भन्दा महिला टोली सफल मानिन्छ । दक्षिण एसियाली खेलकुदमा महिला टोलीले कांस्य पदक जितेको छ । दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले पदक जित्ने सम्भावना छ ।
महिला भलिबलमा पदक जित्ने नेपालको लक्ष्य पूरा गर्न सक्ने क्षमता भएको खेलाडीमा पर्छिन सरस्वती ।

Leave a Reply

Your email address will not be published.