थारु देवथान : धार्मिक महत्व

Lucky Chaudharyलक्की चौधरी-

१. पृष्ठभूमि : थारुजाति तराईका मूल बासिन्दा हुन् । यिनीहरुको आफ्नै रहन–सहन, साहित्य, संस्कार, संस्कृति, सामाजिक मान्यता, पूजापाठ, लवाइ–खवाई, कला, भेषभुषा भएकाले आदिमबासी अर्थात् आदिबासी जनजाति भनिन्छ । सहनशीलता, इमान्दारिता र मेहनतिपन यी जातिको प्रमुख गहना हो । भाषा, साहित्य तथा संस्कृति हरेक जातजातिको दर्पण हो । त्यसकैमाध्यमले जाति परिचित हुनेगर्छ । संस्कृतिले भरिभराउ थारुजाति सदियौंदेखि राज्यबाट उपेक्षामा परेकाले उनीहरुको संस्कृति, कला र साहित्य पनि धरमरमा पर्दैगएको छ । थारुको संस्कृति, कला, साहित्य, भेषभूषा संकटमा पर्नुभनेको थारुको संस्कृतिमात्रै संकटमा पर्नु होइन, सिंगो राष्ट्रकै पहिचान र संस्कृति संकटमा पर्नु हो ।

सुदूरपश्चिमको कञ्चनपुरदेखि सुदूरपूर्वको झापासम्म तराईको समथल भू–भागमा थारुहरु छरिएर बसेका छन् । वि.सं. २०६८ को जनगणनाअनुसार थारुको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको  छ । यो कुल जनसंख्या (२ करोड ६४ लाख ९४ हजार ५०४) को ६.५ प्रतिशत हो । थारुभित्र अनेक उपथर छन् । ठाउँअनुसार उनीहरुको भाषाको उच्चारणमा फरकपन छ । कहीं भोजपुरी, मैथिली, कहीं अवधी, हिन्दी, नेपाली भाषासँग थारुभाषा प्रभावित छ । थारु भाषाभित्र अनेक भाषिका छन् । कुनै पनि जातिको भाषा संस्कृतिको एक अंशभएजस्तै थारुको भाषा पनि थारु संस्कृतिको आधार हो । थारुमा डंगौरा थारुभाषा (दाङ, बाँके, सुर्खेत, वर्दिया, कैलाली, कञ्चनपुर), रानाथारु (कैलाली र कञ्चनपुर), कठरिया (कैलाली र वर्दिया), सोन्हा (सुर्खेत), रौतार (रुपन्देही, कपिलवस्तु, नवलपरासी), चित्तवन्या     (चित्तवन, सिन्धुली, नवलपरासी), कोचिला (बारा, पर्सा, रौतहट, सिराहा, सर्लाही, महोत्तरी र उदयपुर), दनुवार (उदयपुर, सप्तरी, धनुषा र मोरङ), लम्पुच्छवा (मोरङ) आदि ठाउँमा बोलिन्छन् ।

यसका साथै छिमेकी मुलुक भारतको चम्पारन, विहार, उत्तराखण्ड, उत्तरप्रदेश, गोरखपुर, गोण्डा आदि ठाउँमा पनि थारुहरु बस्नेगर्छन् र ठाउँअनुसारको भाषाहरु बोल्ने गर्छन् । पूर्वका थारुको घरहरु गुजमुज्ज परेको एकैठाउँमा बनाउने गरेको देखिन्छ भने पश्चिमका थारुहरु लहरै सडकको किनारमा लाम्चोआकारले घरहरु बनाउँछन् । थारुहरु प्रायः संयुक्त परिवारमा बस्नेहुनाले घरको आधार पनि ठूलो र लाम्चो हुन्छ । हिन्दु, बौद्ध धर्मबाट बढी प्रभावित थारु जातिहरु प्रायः परम्परागतरुपमा गुरुवा, भर्रा, देशबन्ध्याबाट पूजापाठ गर्ने, गराउने गर्दछन् । तथापि आजभोलि कोही परिवारहरु पुरोहित ब्राह्मण लगाएर पनि पूजापाठ गरेको देखिन्छ ।

२. देवथान परिचय :

थारु प्रकुतिपूजक जाति हुन् । यसर्थ उनीहरुको देवीदेवता पनि प्रकृतिरुपी माटो, काठ र केही फलामले बनेका हुन्छन् । सांकेतिकरुपमा विभिन्न देवीदेवताको आकारमा सृजाइएका मूर्तिहरु माटो र काठले नै निर्मित हुन्छन् । चाहे शिव, पार्वती, गणेश, पाँचपाण्डव, घोडा, हात्ती किन नहुन् सबैको मूर्ती माटो र काठकै हुन्छन् । विशेषगरी देवथान गाउँको पूर्व र दक्षिण अलग ठाउँमा राखिन्छ । स्वच्छ हावा लाग्ने तथा खुला वातावरणमा देवताहरु बस्न रुचाउँछन् भन्ने जनविश्वास छ । थारु गाउँअनुसार देवथानलाई विभिन्न नामले चिन्ने गरिन्छ । यसलाई थन्वा, देउथन्वा, मर्वा, भुइह्यार, राजावत्मर्वा, रजरमर्वा, दिउह्वारथान  आदि नामले चिनिन्छ ।

थारुहरुको गाउँमा कति देवथान छन् र कहिलेदेखि निर्मित भएका हुन् भन्ने विषयमा अझै आधिकारिक सर्वे भएको देखिदैन । यद्यपि थारु सबै गाउँमा एकवटाका दरले देवथान हुन्छन् भन्ने कुरा सत्य हो । नेपालभरि जति संख्यामा थारुगाउँ होलान् त्यतिवटा नै देवथान हुनसक्लान् । देवथानमा विशेषगरी डहरचण्डी (पार्वती), पाँच पाण्डव, गौरा–पार्वती, बघेस्री, मुरहा, जगन्नठिया , सिराथान, महरवादेवी  आदि देवता रहने गर्दछन् । गाउँमा आपतविपत नहोस्, रोगव्याधी नलागोस्, गाउँको अवस्था नखल्बलियोस्, धनजनको रक्षाहोस्, महामारी, दैवीप्रकोप नआइपरोस्, गाउँको रेखदेख, सुरक्षाका लागि देवथान निर्माण गरिन्छ । गाउँका सबै देवीदेवताहरु देवथानमा सामुहिकरुपमा बस्ने गर्दछन् ।

प्राय खुल्ला आकाशमुनि देवथान रहने गर्दछन् । कहीं कुसुमको रुखमुनि, कहीं सानो कुसले छाएको छाप्रोमुनि पनि थारु देवीदेवता स्थापित गरिएको भेटिन्छ । आजभोलि कुनै गाउँमा पक्की छानो हालेर पनि देवथान स्थापित गर्ने गरेको देखिन्छ । वनजंगलको किनारमा, खोला किनारको रुखमुनि प्रायः स्थापित गरिने देवथानको थारुगाउँमा वेग्लै महत्व रहनेगर्छ । गाउँभरिका सदस्यहरु जम्माभएर गरिने पाठपूजाका लागि खुला र फराकिलो ठाउँ चाहिनेहुँदा देवथानलाई गाउँबाट अलि टाढा स्थापित गर्ने गरिन्छ ।

देवथानको बनोट सामान्य आकारको रहनेगर्छ । परम्परागतरुपमै प्रायः देवथान निर्माण हुने गरेका छन् । थारुहरुको आर्थिक अवस्थाको कमजोरीको एउटा कारण यो हुनसक्ला । तथापि यसलाई नयाँ सोच र नयाँ सृजनाकासाथ निर्माण गर्नसक्ने आधार भने नभएको होइन । नयाँ सृजना र सीप प्रयोग गरी देवथान निर्माण हुनेहो भने अझ आकर्षक बनाउन सकिन्छ । तर थारुको सीप, कला र संस्कृतिलाई तोडमोड गर्न भने हुँदैन । थारुको यही परम्परागत सीप, कौसल र कला नै उनीहरुको पहिचान हो । त्यसको सारमा फरक नपर्नेगरी परिमार्जन गर्न कन्जुस्याई गर्नु हुँदैन ।

३. कुन देवता केका लागि पूजिन्छन् ?

(क) गुर्वावा (शिव)

थारु जाति शिवका उपासक हुन् । थारुमन्त्र होस् कि पूजाविधि सबैतिर शिवको नाम नलिएर पूजापाठ पूर्ण हुँदैन । गुर्वावा थारुहरुको रक्षा, सुरक्षा तथा संरक्षककारुपमा पूजिने गरिन्छन् ।

(ख) जगनन्थ्या :

जगननथ्यालाई जगरनथ्या पनि भनिन्छ । यी देवता बाघको प्रतिक हुन् । काठले निर्मित हुने यसको प्रतिक देवथानमा स्थापित हुन्छ । पार्वतीले शिवलाई प्राप्तगर्न गरेको तपस्यामा बघीनीले तर्साउने, डराउने गरेपछि फूल चढाएर पूजागरेपछि बघिनीले तर्साउन छाडेको स्मरणगर्दै थारुहरुले जगनन्थ्याको पूजा गर्दछन् ।

(ग) डहरचण्डी :

बालीनालीको संरक्षणगर्ने देवताकोरुपमा यसलाई पूजिन्छ । यसको पूजापाठ गर्नाले बालीमा किराहरु नलाग्ने, बाली सप्रेर आउने विश्वास थारुमा छ ।

(घ) जमजुट्वा :

यो प्रेतात्मा हो । गाउँघरका सदस्यलाई अनावश्यक दुःख नदेओस् भनेर यसको पूजा गरिन्छ । गाउँको कुनै परिचित सदस्यको भेषधारण गरी यसले गाउँघरमा प्रवेशगर्ने र गाउँका सदस्यलाई दुःख दिने गरेकाले त्यसो नहोस् भनेर उसको पूजापाठ गरिन्छ ।

पूजा सामग्री :

१. रक्सी २. जल ३. अछिता ४. गाईको दुध ५. सिन्दुर ६. मकैको जमरा ७. वेवुरीको फुल

८. बेलपाता (झंग्या) ९. करुवा तेल १०. दियो ११. रुईको वाती १२. लोटाको कलस

वलीहरु

१. कुखुरा     २. सुंगुर           ३. बाख्रा  ४. राङ्गा (वर्का पूजागर्दा वली चढाईन्छ )

५. मुसा (वर्का (ठूलो) भूतमार्दा मुसाको वली चढाईन्छ । जसलाई उनमुस भनिन्छ )

६. भुरु कोहरा (दशैंमा भुरु कोंहराको भेरवा वनाएर छप्काउने चलन छ । त्यसपछि कोंहराको टाउको वेलको झंग्या जस्मा ढीक्री गुथेको हुन्छ, जमरा आदि पूर्वतिरको ढोकाको छान्हीमा राख्ने गरिन्छ ।

४. के–के पूजा हुन्छ ?

थारुहरु वर्षभरि देवथानमा पूजापाठ गर्ने गर्दछन् । प्रायः महिना दिनमा पर्ने ठूला पूजाहरु क्रमिकरुपले पुजिन्छन् ।

(क) धुर्यापूजा :

प्रायः वैशाख जेठमा यो पूजा हुन्छ । गर्मीयाममा सर्प, विच्छीले दुःख नदिउन्, दैवीप्रकोप नलागोस् भनेर यो पूजा गरिन्छ । यस पूजामा सुंगुरको पाठो काटिन्छ ।

(ख) हरेरीपूजा :

खेतीपाती सकेर साउन भदौ महिनामा यो पूजा गरिन्छ । खेतीबालीमा किरा, फट्याङ्ग्रा नलागुन, सुख्खा नपरोस्, बालीनाली हरियो भएर राम्रोसँग बाली फलोस् भनेर यो पूजा गरिन्छ । देशबन्ध्या गुरुवाको अगुवाईमा गरिने यस पूजामा सुंगुरको पाठो र जोडी कुखुरा काटिन्छ ।

(ग) लवाङीपूजा :

खेतमा बालीनाली पाकेपछि खल्यानमा ल्याइन्छ । बालीनाली नष्ट नहोस्, दाइँगर्दा बालीनाली राम्रोसँग हातलागोस् भनेर खल्यानलाई मन्त्रद्वारा बाँधिन्छ । यसलाई प्रकृतिपूजा पनि भनिन्छ । यसलाई थारुमा खेन्वाबहन्ना वा ‘लवाङीपूजा’ भनिन्छ । यो प्रायः कात्तिक मंसिरमा हुन्छ । लक्ष्मी भगवान अन्नदाता भएकीले यस पूजामा लक्ष्मी भगवानलाई स्मरणगरेर पूजा गरिन्छ । यसमा पनि सुंगुरको पाठो र मुर्गा काटेर बली चढाइन्छ ।

(घ) पेण्डीयापूजा :

यो पूजा धान दाइँ गरिसकेपछि गरिन्छ । अन्तिम धान दाइँगर्न बाँकी रहँदा पूजापाठ गरी थारुको विशेष परिकार ‘ढिक्री’ बनाई प्रसादकोरुपमा गाउँघरका सदस्यहरुलाई खानदिने गरिन्छ । मुर्गालाई बलीकोरुपमा चढाई पूजा गरिन्छ । नयाँ चामलको ढिक्री बनाएर प्रसादकोरुपमा गाउँका अन्य सदस्यलाई खान दिनाले घरमा सधैं अन्नहरु फलिफाप रहने विश्वास गरिन्छ ।

(ङ) असारी पूजा :

असार महिनामा पुजिने हुनाले यसलाई असारी पूजा भनिएको हो । लामखुट्टे लगायतका अन्य किराले टोकेर रोगव्याधी नसारुन् भनेर पुजिन्छ । यसमा पनि कुखुराको चल्लाको बलि दिइन्छ ।

(च) भजहर पूजा, झट्कापूजाका साथै अन्य पूजाहरु विशेष परिस्थितिमा जतिबेला पनि गर्नसकिने व्यवस्था थारुहरुले गरेका हुन्छन् ।

५. देवथान को विशेषता :

थारु देवथानको आफ्नै विशिष्टखालको विशेषता रहनेगरेको छ । देवथानमा विराजमान देवीदेवताहरुको नाम हिन्दूधर्म र संस्कृतिसँग मेलखाने गरेपनि उनीहरुको नाम, चित्र र आकारमा भिन्नता रहनेगरेको छ । जस्तै : गुर्बावा, सौंरा (शिव), पार्वतीलाई डहरचण्डी, खेंख्री, मैंया भनिनु, भीमलाई भेँवा र पाँच पाण्डवहरुलाई पाण्डो आदि ।

१)    थारु देवथानहरु हिन्दूको मठमन्दिरसँग खासै मेल खाँदैनन् । यसको आकारप्रकार र पूजाविधि तथा सामग्रीमा समेत फरकपन देखिन्छ ।

२)    हिन्दूको मन्दिरमा रक्सी, जाँड, सुँगुरको बलिदिने प्रचलन पूर्णतः बन्देज छ । तर थारुको देवथानमा यी अनिवार्यजस्तै मानिन्छन् ।

३)    थारुहरु आफ्नो देवीदेवता बस्ने घरलाई मन्दिर भन्दैनन् । यसलाई देवथान, दिउह्वार, रजरमर्वा आदि नामले पुकार्छन् ।

४)    थारुको देवथानमा विराजमान हुने देवीदेवताहरुको मूर्ती माटो, काठ वा फलामले निर्मित हुन्छन्  तर हिन्दूका देवीदेवताको मूर्ती प्रायः ढुंगाले निर्मित हुन्छन् ।

५)    थारु देवथानको पूजारी गाउँकै थारु नियुक्त गरिन्छन् । बाहिरबाट कुनै ब्राह्मण या पुराहितलाई ल्याएर पूजारी बनाइँदैन । थारु पूजारी प्रायः वंशानुगतरुपमा नियुक्त हुने गर्दछन् ।

६)    देवथानमा शुद्ध जल, गाईको दुध, जाँड, रक्सी, सिन्दुर, अक्षता, दौनाबेबुरीको फूलमात्र समयानुकुल चढाइने गरिन्छ । हिन्दूको मन्दिरमा सबै फूलहरु चढाइने गरिन्छ तर थारुको देवथानमा दौनाबेबरी (बाबरी) को फूलबाहेक अन्य फूल बर्जित हुन्छ ।

७)    हिन्दू मन्दिरहरु निर्माणहुँदा ब्राह्मण पूजारीले पूजापाठ गरी मूर्तिहरु प्रतिष्ठापित गरेको देखिन्छ, तर थारु देवथानको स्थापना थारुकै गाउँहेर्ने देशबन्ध्या गुरुवाको सहयोग र रायसल्लाहअनुसार परम्परागत तरिकाले स्थापित हुन्छ ।

८)    देवथानमा थारुहरु हरेक सोमबार दुधकोधार तथा शुद्धजल चढाउने गर्दछन् । आवश्यक परेको बेला जुनसुकै बेला पनि देशबन्ध्या गुरुवाको सल्लाहमा विशेषपूजा आयोजना हुन्छ ।

९)    देवथानमा पूजापाठ गरी थारुहरुले प्रसादकोरुपमा रक्सी र जाँड पिउने गर्दछन् । तर हिन्दूहरु प्रसादकोरुपमा मिठाई खाने प्रचलन छ ।

१०)   थारुहरु विवाहगर्दा देवथानमा तीन, पाँच या सातफेरो लगाउँछन् । तर हिन्दूहरु प्रायः मन्दिरमा गएर या घरमै जग्या बनाएर विवाह गर्ने गर्दछन् ।

६. सामाजिक, सांस्कृतिक तथा राजनीतिक महत्व :

थारुहरु समाजमा घुलमिल गरेर बस्ने जाति हो । सबै कामकाजहरु समूहसँग मिलेर गर्न रुचाउँछन् । जन्म, मृत्युदेखि विकास निर्माणको कामपनि उनीहरुले सामुहिक रुपमै गर्न मनपराउँछन् । देवताहरुको पूजापाठ पनि उनीहरुले सामुहिक नै गर्दछन् । त्यसकैलागि देवथानको आवश्यकता परेको हो । उहिले थारुहरु सबैका राजा हुन्थे । सबैभन्दा पहिले जन्मेकाले उनीहरु अरुभन्दा ठूला मानिन्थे । सबै कामकाज साहसिक रुपमा गर्थे । भुरे टाकुरे राजा हुँदासमेत थारुविना कुनै काम चल्दैनथ्यो । खेतीकिसानी, कुलोपानी, घरव्यवहार, शिकार खेल्न होस् कि जंगल फाँड्न होस् सबै काम थारुकै अगुवाईमा हुन्थ्यो । वि.सं. २००७ साल अघिसम्म थारुविना यहाँ कुनै काम गरिन्नथ्यो । जब अन्य जातिका मानिसहरु बाहिरबाट बसाईसरी आए । टाठाबाठा भए, त्यसपछि उनीहरु थारुलाई प्रयोग मात्रै गरे । ००७ सालको प्रजातन्त्रको बहाली भएपछि थारुका लागि प्रतिउत्पादक सावित भयो । ऐन, कानून र नियमहरु बने । थारुहरु अनपढ र अशिक्षित भएकाले त्यसमा कुनै ध्यान दिएनन् । सोहीकारण उनीहरु आफ्नै श्रीसम्पत्ति र थातथलोबाट विस्तारै बेदखल हुँदैआए ।

थारुको आफ्नै संस्कृति र संस्कार छ । उनीहरु आफ्नै खुट्टामा उभिन सिकेका छन् । प्रकृतिकै भरमा जीवन निर्वाहगर्ने थारुजाति जडिबुटीकै सहारामा औलो, महामारीसँग लडेभिडे । तराई भुमिलाई बस्नयोग्य गुल्जार बनाए । देवथान थारुको सांस्कृतिक पहिचान हो । यसले समूहमा घुलमिल गरेर बस्न सिकाउँछ । समाजबाट अलगभएर कोही बस्न सक्दैन भन्ने सन्देश दिन्छ । मानिस एकअर्काको सहारा हो । एककोविना अर्काको अस्तित्व कायम हुँदैन भन्ने गतिलो उदाहरण देवथान पूजाले दिनेगरेको छ । संस्कार एकबाट अर्कोमा हस्तान्तरण हुँदैजान्छ । एकले सिकेको ज्ञान अरुलाई हस्तान्तरण गर्नु नै सही संस्कार हो । थारु देवथानले यही विषयलाई महत्व दिएको छ ।

राजनीति सबै नीतिको मुहान हो । राजनीति गर्नलाई पार्टी नै खोल्नुपर्छ भन्ने छैन । पार्टीकै नेता तथा पदमा बहाली रहनुपर्छ भन्ने छैन । राजनीति त हरेक घरपरिवार र समाजमा हुन्छ । घरको घरमुली, गाउँको भलमन्सा, अगुवा, चौकीदार, बरघर, गुरुवा सबैले राजनीति गरेकै हुन्छन् । अगुवाई गर्नु आफैमा राजनीति हो । यसको लागि दल नै दर्ता गर्नुपर्छ भन्ने छैन । थारु देशबन्ध्या गुरुवाले दुई तीनवटा गाउँ सुचारुगर्ने जिम्मा लिएका हुन्छन् । देवथानको पूजागर्ने प्रमुख अगुवा देशबन्ध्या गुरुवा नै हुन्छ । त्यसैले गाउँको नेता पनि त उही हो । त्यसको मातहतमा केसौका गुरुवा, सहायक तथा घरगुरुवा रहन्छन् । उनीहरु पनि सहायक नेताको भूमिका निभाउँछन् । राणाकालमा थारु बरघरलाई गाउँको राजस्व असुलीको जिम्मा दिइन्थ्यो । गाउँ–ठाउँको झै–झगडा मिलाउने जिम्मा निभाउँथे । त्यतिबेलाका प्रशासनिक निकायका प्रमुख गाउँकै बरघर हुनेगर्थे । त्यसले पनि थारुहरु राजनीतिबाट बञ्चित नरहेको पुष्टिगर्छ । अझ देवथानको पूजापाठगर्ने प्रमुख गुरुवा देशबन्ध्या को भूमिकाले त झन राजनीतिक महत्वलाई प्रष्ट्याएको छ ।

७. धार्मिक महत्व :

थारुको खास धर्म के हो भन्नेमा अझै अन्यौल नै छ । अधिकांश थारुले हिन्दूधर्म भनेर लिखतमा लेखेपनि उनीहरुको पूजापाठ र मान्नेविधि हेर्दा हिन्दूसँग शतप्रतिशत मेल खाँदैन । अहिले अधिकांश थारुहरुले आफ्नो धर्मको नाम बौद्ध लेखाउन थालेका छन् । खासगरी युवापीढिकाले आफूलाई बुद्धिष्ट मान्ने प्रचलन बढेको छ । बुद्धको पहिरन, लवाईखवाई, मायादेवीको श्रीङ्गारका सामानहरु थारु महिलाले लगाउने श्रीङ्गारसँग मेलखानेहुनाले कतिपय इतिहासकारले बुद्धलाई थारुकै सन्तानकारुपमा चर्चा गर्दैआएका छन् । राजा सुद्धोधनले हलोजोती कृषि पेशा अपनाएको उदाहरणलाई पनि सुद्धोधन थारु नै थिए भन्ने थारु अगुवाहरुको बुझाई छ । शुरुमा खेतीकाम गर्ने शुरुवात थारुहरुले गरेको र हलोजोत्ने शुरुवात पनि थारुहरुले नै गरेको दावी इतिहासकारहरुको छ । थारुहरुको छाता संगठन तथा नेपालकै पुरानो सामाजिक संस्था थारु कल्याणकारिणीसभाले पनि थारुहरुलाई बौद्धधर्म लेखाउन अभियान नै आन्तरिकरुपमा शुरुगरेको छ ।

उब्जाएको अन्नहरु खानुभन्दा अघि प्रकृतिलाई चढाएरमात्र खानेहुनाले कतिपयले थारुलाई प्रकृति पूजक भनेर पनि भनेका छन् । यद्यपि अहिले कतिपय थारुहरुले इसाई तथा क्रिश्चियन धर्म पनि मान्न थालेका छन् । आर्थिकअवस्था कमजोर भएका थारुहरुलाई कतिपय धर्म प्रचारकहरुले पैसाको प्रलोभनमा पारी धर्म परिवर्तन गर्नखोजेको देखिन्छ । धार्मिकरुपले थारुहरु तितरवितर भएको देखिए पनि थारुहरु प्रकृतिपूजक हुन् भन्नेमा कसैको आशंका छैन । जन्मेदेखि नै प्रकृतिसँग घुलमिल रहने र प्रकृतिकै काखमा हुर्कीइ पुनः प्रकृतिमै विलय हुनेहुनाले यी जातिको प्रेम प्रकृतिसँग बढी हुनेगरेको छ ।

जुन धर्म अंगाले पनि थारुहरु सामुहिकरुपमा गाउँकै समाजमा बाँधिएका छन् । देवथानकै पूजापाठ गरी परिवारको रेखदेख तथा संरक्षण गर्नेगरेका छन् । देवथानलाई परम्परागतरुपमा मान्नुभन्दा यसको स्तरोन्नति गरी अगाडि बढ्नसके थारुहरुको धार्मिक महत्व अझ झल्किनेछ । देवथानको उचित संरक्षण, प्रवद्र्धनगरी अहिलेको समयसान्दर्भिकतासँग मेलखानेगरी विकासगर्नु जरुरी छ । खुला आकाशमुनीको सट्टा थारु परम्पराकै आकारमा देवथानलाई पक्की बनाउन सकिन्छ । यसो गर्नसकेमा थारु देवीदेवताको संरक्षण तथा प्रवद्र्धनमा अझ मद्दत पुग्नेछ ।

८. संरक्षणको अभाव :

थारु देवथान गाउँका लागि जति महत्व राख्छ त्यति संरक्षण पाउन सकेको छैन । खुला भागमा गाउँबाट अलिपर स्थापित रहने देवथान छेउछाउमा फोहर प्रशस्त देखिन्छ । देवथानभएको क्षेत्रमा तारबार गर्न नसकेकैकारण छाडा जीवजनावरहरु हिड्ने, बस्ने र चर्ने गर्छन् । देवीदेवताका मुर्तिहरु टुटफुट हुने गर्दछ । देवथानका बारेमा गाउँका बच्चा तथा सदस्यहरुलाई जानकारी दिन नसक्दा वरिपरि दिशापिसाव गर्नेजस्तो समस्या छ । गाउँभरिका साझा देवीदेवता विराजमान रहने देवथान पवित्र ठाउँ हो तर त्यसको पवित्रतालाई कायम गर्न सकिएको देखिदैन ।

देवीदेवता बस्ने देवथानमा आर्थिक लगानी नगरिएकैकारण सुरक्षित हुन सकिरहेको छैन । देवथानको वरिपरि पर्खाल, छानो नहुँदा देवीदेवता शीतलहर र चर्को कामको मार खेप्नुपरेको छ । प्रायः खुलाआकाश मुनी रहने र छानो भइहाले फुस र खरले छाइएको झुपडी पानीपर्दा चुहिने गर्दछ । आर्थिक लगानी सामुहिकरुपमा लगाए देवथानलाई संरक्षण गर्न नसकिने होइन, तर सोच र प्रतिवद्धताको अभाव अझै पनि थारु गाउँमा छ । देवथानहरु अझै पर्ती र सरकारी जग्गामा स्थपित छन् । परापूर्वकालदेखि चर्चेको जमिनलाई आजको मितिसम्म पनि थारुहरुले नापनक्सा गर्न सकेका छैनन् । देवथानको भूमि नापनक्सा नगरेकैकारण कतिपय देवथानको जग्गा अन्य व्यक्तिको नाममा पर्नेगरेको छ । अरुको नाउँमा जग्गापर्दा देवथानलाई नै भत्काउने र उखेल्ने समस्या देखिएको छ । त्यसो हुँदा देवथानको अस्तित्व नै संकटमा पर्नेछ । यसतिर थारुले समयमै ध्यान दिनुपर्छ । उसो त आइएलओ अभिसन्धी १६९ ले सबैभन्दा पहिले जस्ले सो भूमिलाई चर्चेको हुन्छ, त्यो उसकै हकलाग्छ भन्ने व्यवस्था गरेको छ । तर सरकारले त्यसको कार्यान्वयनमा ध्यान नदिंदा थारु मर्कामा छन् ।

९. सरकारी उदासिनता :

विभिन्न ठाउँको धार्मिक स्थलको प्रवद्र्धनका लागि सरकारले लगानी गर्नेगर्छ । मन्दिर स्थापित गरी धार्मिक वनको नाममा दर्ता गराइदिन्छ । तर थारु देवथानलाई सरकारले आजको मितिसम्म कुनै लगानी गरेको देखिदैन । थारु देवथानको धार्मिक महत्वलाई सरकारले बुझेको देखिदैन । देवता बस्ने चाहे मन्दिर, चैत्य, गुम्बा, मस्जिद या देवथान किन नहोस्  सबै देवताका लागि त्यतिनै महत्व राख्छ । हिन्दू मन्दिरमा शिव, पार्वती, लक्ष्मी, गणेश, व्रह्मा, विष्णु, सरस्वती, दुर्गा आदि देवीदेवताको पूजापाठ गरेजस्तै थारु देवथानमा पनि ती देवीदेवताको स्थान रहन्छ । उनीहरुलाई अन्य नामले पुकारिन्छ, पूजापाठ गरिन्छ । फेरिपनि सरकारले किन देवथानलाई उपेक्षा गरेको हो बुझ्न सकिएको छैन । यो मननयोग्य विषय हो । थारुले सरकारलाई बुझाउन सकेनन् कि सरकारले बुझ्ने प्रयास गरेन । यस विषयमा वहसको खाँचो छ ।

थारुले मन्दिरकोरुपमा पूजापाठ गर्ने देवथानको जग्गालाई दर्ता गर्न नमान्नु, देवथानको उठिबास गराउने प्रयास गर्नु सरकारको पक्षपातपूर्ण व्यवहार हो । देवीदेवताको महत्व बुझ्ने प्रयास नगर्नु हो । अहिलेसम्म थारु देवथानको जग्गा दर्ताभएको उदाहरण छैन । जग्गादर्ता हुन नसक्दा देवथानका लागि पक्की भवन बन्नसक्ने कुरै भएन । भएको जग्गा पनि धमाधम नापनक्सा गरी व्यक्तिको नाममा पार्ने षडयन्त्र सरकारले गर्नखोजेको छ । देवथान केवल थारुको पूजागर्ने ठाउँमात्र बन्नु हुन्न । सबै जातजाति र नेपालीको साझा मन्दिरकोरुपमा स्थापित गर्न सक्नुपर्छ । त्यसो गर्नसकेमात्र त्यसको संरक्षण, सम्बद्र्धन र महत्वमा अझ बढोत्तरी हुनेछ । देवीदेवता सबैका साझा हुन् । कुनै जाति विशेषका हुँदैनन् ।

१०. हिन्दू धर्मको प्रभाव :

नेपालमा हिन्दूहरुको बाहुल्यता छ । त्यसको प्रभाव थारुमा पर्नु अन्यथा होइन । नेपाली भाषामा अन्य भाषाको प्रभाव परेजस्तै, नेपाली संस्कृतिमा अन्य पश्चिमा संस्कृतिको प्रभाव परेजस्तै थारुका धर्ममा पनि हिन्दूधर्मको प्रभावपर्नु स्वभाविक हो । थारु देवथान र हिन्दूको मन्दिरमा राखिने देवीदेवताको नाम मिल्नु र त्यही देवताको पूजागर्नुमा पनि यसको प्रभाव हो भन्न सकिन्छ । उहिले थारुघरमा नयाँ बच्चा जन्मिदा थारु संस्कारकै नामहरु राख्ने गरिन्थ्यो । गुरुवा, वैद्य, बरघर या घरको मुलीले नाम जुराउने गर्थे । तर अहिले बच्चाको चिनो हेराउने, पुरोहितलाई बोलाएर जन्मकुण्डली बनाउने प्रचलन बढेको छ । भोजविवाह गर्दा पनि ब्राह्मण बोलाई पूजापाठ गराउने प्रचलन बढेको छ । घरका परिवारमा समस्या आउँदा, रोगविमार पर्दा यज्ञ गराउने, सत्यनारायणको पूजापाठ गराउने प्रचलन पनि बढेको  छ । यसलाई हिन्दू धर्मकै प्रभाव मान्न सकिन्छ ।

थारु समाजमा ग्रहदशा हेर्ने, नामराख्दा पुरोहित बोलाउने, विवाहगर्दा ब्राह्मण बोलाउने, सत्यनारायण पूजागर्ने गराउने प्रचलन उहिले छँदैथिएन । हिन्दूकै प्रभाव परेर देखासिकी भएको हो । हुँदाहुँदै थारु देवथानको नाममासमेत अहिले फेरबदल आउने गरेको छ । गाउँको नाम, मान्छेको नाम र देवथानको नाममा आधुनिकीकरण गरिदै छ । यी सबै अन्य धर्म र संस्कृतिकै प्रभाव हो । समयानुकुल आफूलाई बदल्नु राम्रो कुरा हो तर आफ्नो अस्तित्व र पहिचानलाई नामेट हुनेगरी परिवर्तन हुनु कदापी उचित होइन ।

११. निस्कर्ष :

देवथान देवीदेवताको बासस्थान हो । देवीदेवता भनेका सबैका साझा हुन्छन् । धर्ममा आस्थाराख्ने जोकोही पूजापाठ गर्न पाउनुपर्छ । देवताको नाममा जातजाति, छुवाछूत गर्नु, भेदभाव गर्नुले धार्मिकत्व प्राप्त हुनसक्दैन । देवीदेवता सबैका संरक्षक हुन् । पालनकर्ता र हरणकर्ता हुन् । शिव, पार्वती, व्रह्मा, विष्णु, महेश्वर, लक्ष्मी, सरस्वती, काली, दुर्गा जे नामले पुकारिने भएपनि आस्था समान नै हुन्छ । चाहे थारुले शिवलाई गुर्वावा भनून या सौंरा पुकारिने तिनै शिवलाई नै हो । चाहे पार्वतीलाई मैया भनून् या खेंख्री पुकारिने पार्वतीलाई नै हो । भाषाको भेदमा देवीदेवतामा भेदगर्नु हुन्न । यसको महत्व सबै नेपालीले बुझ्न जरुरी छ । देवथानलाई सरकारले उपेक्षा गर्नुभनेको देवीदेवताकै उपेक्षा गर्नु हो ।

देवथानको स्थायित्व, संरक्षण र सम्बद्र्धनका लागि देवथान रहेको जग्गादर्ता प्रक्रियामा लाग्न अति आवश्यक छ । देवथानहरु पटक–पटक सार्न पनि नसकिने हुनाले देवताहरु बसेको ठाउँलाई स्थायीत्व गर्न पनि दर्ताप्रक्रिया आवश्यक छ । तर थारु देवथानहरु परापूर्वकालदेखि अहिलेसम्म सोही ठाउँमै पुजिने गरेपनि सो जग्गालाई दर्तागर्ने प्रक्रियामा थारुहरु जान सकेका छैनन् । प्रायः शहरीक्षेत्रमा देवथानको जग्गा अतिक्रमणमा पर्ने गरेपनि विस्तारै सो समस्या गाउँठाउँमा पनि जानसक्ने देखिन्छ । त्यसैले पनि थारुहरु यसप्रति सजग हुनुपर्ने देखिन्छ । हसनपुर, जाइँ गाउँका देवथानलाई उदाहरणकारुपमा लिन सकिन्छ । उहिले जग्गाहरु प्रशस्त थिए । जनसंख्या कम थियो । अहिले जनसंख्या बृद्धिदर बढ्दैगएपछि जग्गाहरु कमभएको छ । सोहीकारणले पनि देवथान स्थापित जग्गासमेत कित्ताकाटगरी विक्री हुनथालेको देखिन्छ । देवथानको धार्मिक महत्वको ख्याल गरी सरकारले त्यसको संरक्षण र सम्बद्र्धनका निम्ति सहयोगगर्न सक्नुपर्छ ।

देवथान पवित्र मन्दिर हो । जहाँ देवीदेवताको बास हुन्छ । तर देवथानलाई थारुको देवतामा मात्रै सीमित गर्नु देवताप्रतिकै अन्याय हुनजान्छ । देवता भनेका समान छन् चाहे ती गगनचुम्बी महलभित्र प्रतिस्थापित हुन् या खुला आकाशमुनी । चाहे रुखको फेंदमा बसुन् या फुसको छाप्रोमा । देवताको हैसियत र महत्व त्यसले तय गर्दैन् । देवथान देवताको साझा थलो हो । जहाँ देवीदेवताहरु सामुहिकरुपमा बस्ने गर्दछन् । हाम्रो बुझाईमा एकरुपता आउने हो भने गाउँको संरक्षणगर्ने देवथानको धार्मिक महत्व ठूलो छ ।

सन्दर्भ सामग्री :

१) दहित, गोपाल २०६२ : थारु संस्कृतिको संक्षिप्त परिचय । आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान । ललितपुर ।

२) चौधरी, लक्की २०६३ : तिहुवार । गीता चौधरी, कैलाली ।

३) सर्वहारी, कृष्णराज २०६९ : थारु गुर्वा र मन्त्रज्ञान । थारु पत्रकार संघ, नेपाल । काठमाडौं ।

४) चौधरी, लक्की २०७० : मोर पहुरा । गीता चौधरी, कैलाली ।

५) चौधरी, महेश २०६४ : नेपालको तराई तथा यसका भूमिपुत्रहरु । शान्ति चौधरी, दाङ ।

६) चौधरी, महेश २०६९ : स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति । शान्ति चौधरी, दाङ ।

७) हमार पहुरा थारु दैनिक, कैलाली अंक १३९, २०६४ फागुन ११ ।

८) थारु, फनिश्याम । लोकसाहित्य : एक अध्ययन । २०६९ । आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान । ललितपुर ।

९) थारु, भुलाई । २०६१ । थारु संस्कृति । श्रीमती सरोजदेवी चौधरी ।

१०) विभिन्न थारु पत्रपत्रिका तथा बुलेटिन ।

नेपाली लोकवार्ता राष्ट्रिय संगोष्ठी २०७०

२०७० कार्तिक ४—११ धनगढीमा प्रस्तुत

Leave a Reply

Your email address will not be published.