बालश्रमविरुद्धको ऐन कागतमै सीमित

childकमला चौधरी– बुटवल- काली, अग्ली तर पातली, खुट्टा फुटेका, फरक फरक रङ्गका चप्पल लगाएकी एक बालिका बुटवलको पुरानो बस पार्कमा हिँडिरहेकी थिइन्। दुव्लो शरीरमा एक जोर पातला कपडामात्रै। हेर्दा वर्षौंदेखि ननुहाएको जस्तै देखिन्थिन्। शरीरबाट टाढैदेखि गन्ध आउने, भोक लाग्यो भन्दै माग्दै हिँडेकी थिइन्। हातमा स्टिलको कचौरा थियो। पाँच रुपियाँ दिनुस् न उनी अनुरोध गर्दै थिइन्। बाटोमा हिँड्ने सबैको नजर दया गर्नेभन्दा बढी गिज्याएर हाँस्नेको थियो। कोही पागल खाते भन्दै जिस्काए। एक जना बाटोमा हिँड्नेले धक्कालेर भने, ‘उता जा काम गरेर खान सक्दिनस्, लाज लाग्दैन माग्न।’
उनी हुन् सिरहा मिर्चैया गाविस घर बताउने १३ वर्षीया सीता महतो। उनी माग्दै हिँडेको ३ वर्ष भयो। सबैले उनलाई पागल र खाते केटी भनेर बोलाउँछन्। दिनमा बसपार्कको गाडीमा पैसा माग्दै खाने, रात परेपछि अरुको घरको गल्लीमा रात बिताउने गर्छिन्। मागेको जति पनि पैसाले किनेर खाने नहुँदा भोकै रात बिताउँछिन्। कोही पनि उनको नजिक पर्न खोज्दैन। ‘घरमा खान लाउन पैसा छैन,भाइबहिनी धेरै छन्।’ सीताले भनिन्, ‘बाआमा सानै छदा बित्नुलभयो।’ उनका अनुसार उनकी काकाकाकीले काम गर्न काठमाडौं पठाएका थिए। मालिकले साना साना कुरामा पिटेपछि भागेर सडकमा आएकी हुन्। सानै भएकीले काम गर्न र खान पकाउन आउँदैनथ्यो। एक दिन तरकारी पकाउँदा हात डढ्यो। औषधिको साटो गाली खाइन्। गाली र पिटाइ खान नसकेर दुई वर्षपछि मालिकको घरबाट भागिन्। तर घर जाने बाटो थाहा भएन। अहिले कता छन् उनी आफैंलाई पत्तो छैन। ‘पहिले मालिकको गाली खाने डर लाग्थ्यो, अहिले माग्दै खान परिरहेको छ,’ उनले गुनासो गरिन्।
सीताजस्तै धेरै बालबालिका यसरी नै बाटोमा भौतारिएर माग्दै खान बाध्य छन्। सरोकारवालाहरुका अनुसार बुटवल लगायतका ठूला सहरमा घरायसी काममा प्रयोग गरेको पाइन्छ। बुटवटमा मात्रै करिब एक हजार जना बालबालिका घरेलु मजदुर छन्। त्यस्तामध्ये धेरै बालिका छन्। सम्पन्नहरुले बालिकालार्ई बालबच्चा रेखदेख, स्यारसुसार गर्नको लागि घरायसी काममा लगाउने गर्छन्। घरमा काम गरेबापत खान बस्न पढाइदिने, तलबभत्ता दिने आश्वासनमा बालबालिकालाई मजदुरको रुपमा प्रयोग गरेको पाइन्छ। घरायसी कामदेखि होटलमा काम गर्ने बालिकाको संख्या बढी छ।
बालबालिकालाई होटलमा भाडा माझ्ने, अनैतिक काम गर्न लगाउने गरेको पाइन्छ। उमेरभनदा बढी काम र त्यसैमाथि यातना पाउन थालेपछि ती बालिकाहरु सडकमा आउन बाध्य हुन्छन्। बालबालिको अवस्था अत्यन्त नाजुक भए पनि राज्यका सारोकारवाला निकाय भने मौन छन्। बालबालिकालको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु ती बालबालिकाबारे आवाज उठाएर झन्झटभन्दा टाढै रहनको लागि बालबालिकाबारे कुरा नै उठाउँदैनन्।
सेतो गुराँस कार्यक्रमका संयोजक तथा गैसस महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा शर्माले कतिपय संवेदनशिलताका आधारमा पनि बाल श्रमिकको व्यथाहरु बाहिर नआएको बताउँछिन्। राज्यले नै स्पष्ट नीति नल्याउँदासम्म अनाथ, असहाय र बालबालिकाको समस्या यथावत रहने उनको भनाइ छ। बाल विकास केन्द्रसमेत सञ्चालन गर्दै आएकी शर्माले भनिन्, ‘चाहेर पनि बालश्रमिको अवस्थाको विषयमा कुरा उठाउन नसक्ने परिस्थिति सिर्जना हुन्छ। घरायसी काममा भनेर उनीहरुबीचका सहमतिबाट हुने कुरा हो। त्यसैले गर्दा हामीले यसबारे बझेर काम गर्नुपर्छ।’
सेभ द चिल्ड्रेन बुटवलका प्रोग्रम कोअडिनेटर मिनबहादुर सिंहका अनुसार आर्थिक स्थिति कमजोर भएका तलब भत्ता दिने सहमतिमा काम गर्नेहरु छन्। ‘उनीहरुबारे आवाज उठायो भने सडकमा आउने अवस्थालाई पनि हेनुपर्छ। यसका लागि अभिभावक र सारेकारवाला निकायले पहल गरिदिनु पर्छ,’ उनले भने । सडकमा आएका बालिकाकाबारे पनि उद्धारमा ध्यान दिनुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि तथा नेपालको श्रम ऐनमा १४ वर्षमुनिकालाई कुनै पनि जोखिम युक्त काममा लगाउन प्रतिबन्ध गरेको छ। ऐनअनुसार बालबालिकालाई श्रममा लगाएमा ३ महिना कैद तथा १० हजार रुपैया जरिवानाको व्यवस्था गरिएको छ तर पनि धेरै बालबालिकाहरु जोखिम मोलेरै श्रम गर्न बाध्य छन्। जवाफदेहिता निगरानी समिति रुपन्देहीका संयोजक अधिवक्ता शिवप्रसाद गौडेल अर्न्तराष्ट्रिय सन्धी सम्झौताहरुको पूर्ण पालना र राष्ट्रिय कानुनहरुको कार्यन्वयन नहुँदा धेरै बालबालिकाहरु जोखिमपूर्ण काम गर्न बाध्य भएको बताउँछन्।
ऐन कार्यन्वयन नहुदाँ बालश्रम शोषण गर्नेहरुको मनोबल समेत बढेको छ। बालबालिकाहरुलाई श्रममा लगाउन नमिल्ने विषयका आवाज कही कतैबाट नउठाउँदा बालअधिकार कुरा कागजमा मात्र सीमित भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published.