स्कूल जान र बाख्रा चराउन आलोपालो

School Nigaliमुकेश टेंर्रा, कैलाली- निगाली गाउँ विकास समिति वडा नम्बर ७ सिमली कक्षा ४ पढ्ने भरत विक हप्तामा तीन दिन मात्रै स्कूल जान्छन्। उनका कक्षा ३ मा पढ्ने भाइ कमल, दाजु (भरत) स्कूल गएको तीन दिन बाख्रा चराउन जंगल पस्छन्। आफ्नै गाउँको भैरौं प्राविमा पढ्ने भरत र कमल स्कूल जान र बाख्रा चराउन आलोपालो गर्ने गरेका हुन्। त्यसै स्कूलका कक्षा ४ पढ्ने मुकेश विकका दुई भाइ र एक बहिनी छन्। उनीहरूका अभिभावकले पनि भाइबहिनीमा स्कूल र बाख्रा चराउन जाने आलोपालोको नियम बनाइदिएका छन्।
निगालीको वडा नम्बर ७ मा अधिकांश बासिन्दा दलित समुदायका छन्। भौरौं प्राविका प्रधानाध्यापक हीरालाल जोशीका अनुसार ९५ विद्यार्थीमध्ये २४ जना दलित बालबालिका छन्। अधिकांश दलित र गरीव परिवारका पुरुष मजदुरी गर्न भारत जाँदा तिनका सन्तानले यस्तो व्यथा बेहोर्नु परेको छ।
अधिकांश दलित परिवारले छोराछोरीको स्कूल र बाख्रा चराउन जाने आलोपालोको व्यवस्था गरेका छन्। गरीब र घरमा कम सदस्य भएका परिवारले उनीहरूलाई पछ्याएका छन्। यसरी विद्यार्थीहरूको स्कूल जाने र बाख्रा चराउने आलोपालोका कारण कुल विद्यार्थीहरूमध्ये आधा संख्यामा मात्रै उपस्थिति हुने गरेको प्रअ जोशीले बताए।
कैलालीको चुरे पहाडमा पर्ने पण्डौन, मोहन्याल, खैराला, सुंगरखाल, निगाली र सहजपुर गाविस तथा गोदावरी गाविसका केही वडाहरूमा यस्तो समस्या व्याप्त छ। अभिभावकहरूले काममा व्यस्त भएको बेला विद्यार्थीहरूले स्कूल आउन पाउँदैनन्, पण्डौन–८ को भृकुटी प्राविका प्राधानाध्यापक मित्रलाल पौडेलले भने– ‘अभिभावकहरू प्रायः खेतीपाती
र तराईं गएर किनमेल गर्नमा व्यस्त हुन्छन्।’ विद्यार्थीहरूले आलोपालो गरेर बाख्रा चराउने काममा बुबाआमालाई सघाउनुपर्छ। पहाडी गाविसमा कक्षा छोड्ने र दोहोर्याीउने समस्या पनि बढी छ। धेरै विद्यार्थीले त स्कूल भर्ना भए पनि कक्षा छोडेर मजदूरी गर्न भारत पस्ने गरेका छन्। शैक्षिक वर्षको शुरुमा स्कूल भर्ना हुन्छन् तर बीचैमा छोडेर भारत पस्छन्, मोहन्याल–१, विर्खेतको सुनपाल निमाविका सहायक प्रधानाध्यापक देवराज जोशीले भने– ‘केही विद्यार्थीहरू वार्षिक परीक्षाको बेला फर्केर परीक्षा दिन्छन् र केहीले अर्को वर्ष आएर कक्षा दोहोर्यााउँछन्।’
सरकारले निमावि तहसम्म सबैलाई अनिवार्य शिक्षा दिने नीति लिएको छ। त्यसलाई सफल पार्न शैक्षिक वर्षको पहिलो दुई महिनासम्म भव्य रूपमा भर्ना अभियान सञ्चालन गर्ने गरेको छ। भर्ना अभियानको प्रभाव पहाडी गाविसमा पनि पर्छ तर प्रभावकारी भएको छैन, खैराला–४ का अभिभावक डम्बर सारुले भने– ‘सुरुमा बालबालिकाहरू विद्यालय भर्ना भए पनि शैक्षिक वर्षभरि निरन्तर अनुगमन नहुँदा विद्यालय भर्ना अभियान प्रभावबिहीन भएको छ।’
विकट भूगोग, भिरालो बाटोका कारण अझै पहाडी गाविसका धेरै बालबालिका विद्यालय पुग्न सक्दैनन्। एउटै वडामा करिब ५०/६० जना विद्यार्थी अझै विद्यालय बाहिरै रहेको बताउँछन्, पण्डौन–७, चिसिलेको भृकुटी प्राविका प्रधानाध्यापक अर्जुनबहादुर महत।
उसो त पहाडी गाविसका विद्यालयमा ६० जनादेखि डेढ–दुई सय विद्यार्थी मात्रै हुन्छन्। शैक्षिक वर्षको अन्त्यसम्म आइपुग्दा विद्यार्थीहरूले स्कूले छोड्ने गरेकाले विद्यालयमा विद्यार्थी संख्या निकै पातलो देखिन्छ। गरिबी, अशिक्षा, जनचेतनाको कमीले गर्दा कक्षा छोड्ने चलन पनि व्यापक छ। निगाली–७, भैरौं प्राविका प्रधानाध्यापक जोशीले भने– ‘वर्षको सुरुमा भर्ना भएका विद्यार्थीमध्ये धेरैले कक्षा छोड्छन्। उनीहरूले अर्को वर्ष भर्ना अभियान चलेको बेला कक्षा दोहोर्याकउँछन्।’
अभियान चलाउँदा चलाउँदै पनि विद्यार्थीलाई कक्षामा निरन्तर गराउन शिक्षा कार्यालयलाई पनि गाह्रो भएको कैलालीका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले बताए। उनले स्कूल बाहिर रहेका बच्चा पत्ता लगाएर विद्यालयमा ल्याउन आउने शैक्षिक वर्षदेखि अभियान थाल्ने बताए। भर्ना अभियानपछि स्कूल बाहिर रहेका बच्चा र बाहिर रहनुको कारण पत्ता गलाएर स्कूल पुर्या उँछौं, जिल्ला शिक्षा अधिकारी साउँदले भने– ‘विद्यार्थी स्कूलमा निरन्तर छ/छैन भन्ने बारेमा अनुगमन पनि वर्षैभरि गर्नेछौं।’

Leave a Reply

Your email address will not be published.