को हुन् सुशील कोइराला ?

sushil-koirala 2काठमाडौं- सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका सभापति सुशील कोइराला संघीय गणतान्त्रिक नेपालको छैटौँ प्रधानमन्त्रीमा चयन हुनुभएको छ। सन्त नेताको रुपमा परिचित ७४ वर्षीय कोइराला अविवाहित हुनुहुन्छ। राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइराला सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आइरहनुभएको छ। यही मार्गबाट हिँडेर अगामी एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जनतालाई दिने प्रण गर्नुभएको छ।

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनीदेवी कोइरालाबाट विसं १९९५ साउन २८ गते सिन्धुलीको दुम्जा गाउँ विकास समितिमा उहाँको जन्म भएको थियो। बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गर्नुभएका नेपाली काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उहाँले नजिकबाट हेर्नुभएको थियो। यसपछि विसं २०१२ मा उहाँ नेकाको सदस्यता लिई पार्टीको काममा होमिनुभयो।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उहाँले पार्टी सदस्यता लिनुभएको थियो। विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उहाँ भारत निर्वासनका जानुभयो।“राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो” भन्ने कोइरालाले प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो। पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उहाँले नेकाका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गर्नुभयो।

विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उहाँ निर्वासनबाटै पक्राउ पर्नुभयो। पक्राउपछि उहाँलाई दिल्ली जेलमा राखिएको थियो। अत्यन्त क्रुर र अमानवीय रुपमा उहाँलाई जेलमा राखिएको हुँदा उहाँले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो।

छ वर्ष जेल जीवनपछि उहाँ रिहाइ हुनुभयो। रिहाइपछि जनमत सङ्ग्रहका समयमा उहाँ बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्कनुभयो। त्यसपछि उहाँ सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लाग्नुभयो। जननायक बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उहाँ युरोपियन मुलुकमा खटिनुभयो।

यस क्रममा उहाँ सोसलिष्ट इन्टनेसनलको उपाध्यक्ष समेत बन्नुभएको थियो। त्यसपछि उहाँ स्वदेश फर्किएर पञ्चायत व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिनुभयो। विस २०४६ को प्रथम जन आन्दोलनमा पनि उहँाको योगदान अतुलनीय थियो। त्यसपछि विसं २०४८ को संसदीय निर्वाचनमा उहाँ बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो। उसबेला उहाँलाई मन्त्री पदका लागि आग्रह गरिँदा उहाँले पदभन्दा पार्टीलाई माथि राखेर पार्टीकै काममा नै खटिनुभयो। उहाँले हालसम्म कुनै सार्वजनिक पद धारण गर्नुभएको छैन।

विसं २०५६ मा सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा उहाँ पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित हुनुभयो। विसं २०६२–६३ को जनआन्दोलनमा उहाँले अहम् भूमिका निर्वाह गर्नुभएको थियो।

विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उहाँ बाँकेबाट पराजित हुनुभयो। त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उहाँ बाँके र चितवनबाट सभासद्मा विजयी हुनुभएको छ। त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता बन्नुभएको छ ।

पार्टी यात्रा
विसं २०१२ मा नेकाको पार्टी सदस्य लिनुभएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बन्नुभएको थियो। पाटी भित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि हुनुहुन्छ। सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उहाँ परिचित हुनुहुन्छ। त्यसपछि उहाँ पार्टीको महामन्त्रीका रुपमा काम गर्नुभयो। उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको १२ आँै महाधिवेशनबाट उहाँ पार्टीको सभापतिमा निर्वाचित हुनुभयो।

सम्पादक कोइराला
नेता कोइरालाले कुशल पत्रकारको रुपमा काम गर्नुभएको थियो। पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादक समेत हुनुहुन्थ्यो। प्रजातान्त्रिक समाजवादका बारेमा उहाँले लेख्नुभएका रचनाले पार्टीलाई नयाँ उचाइ पुर्‍याएको छ। उहाँका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरु विश्वेश्वरप्रसाद कोइराला, सुवर्णश्ाम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गर्नुभएको थिए।

भ्रमण
कोइरालाले बेलायत, अमेरिका, फ्रान्स, चीन, भारतलगायत युरोपियन मुलुक भ्रमण गर्नुभएको छ।
विष्णु नेपाल/रासस

 

Leave a Reply

Your email address will not be published.