पन्नाको थारू कथा संग्रह विमोचित

man bdr chaudhary

थारू लखागिन महिला समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा भएको मानबहादुर चौधरी पन्नाद्वारा लेखिएको थारू भाषाको कथा संग्रह “ककन्डरान छोट्की ”कृतिको एक समारोह बीच माघ १८ गते लोकार्पण भएको छ। कृतिको लोकार्पण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. पदमलाल देवकोटाले गरेका हुन्।
सो आवसरमा प्रमुख अतिथि देवकोटाले थारू भाषा साहित्य, संस्कृतिको संरक्षण सवर्द्धनका लागि थारू स्रस्टाहरुले कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो। वर्तमान अवस्थामा थारूहरु शिक्षित हुँदै गए पनि थारू भाषाप्रति त्यति चासो नदिएको बेला यस्ता रचनात्मक कार्यले अन्य थारू साहित्यकारहरुलाई पनि कलम चलाउन झक्भक्याउँछ भन्नु भयो। मध्यपश्चिम क्षेत्रको तराई एवं सुर्खेतमा बसोवास गर्ने आदिवासी थारूहरुको भाषा साहित्य कला संस्कृतिको प्रवर्द्धनका लागि मध्पश्चिमाञ्चल विश्व विद्यालयले छुट्टै प्याकेजको कार्यक्रम लागु गराउनका लागि थारू भाषा साहित्य संस्कृति पहिचान गर्नका लागि थारू समुदायमा दाङ र बर्दियाका चारवटा थारू गाउँमा थारू ग्राउण्ड प्रस्ताव क्याविनेटबाट पारित भएको बताउनु भयो। विश्वविद्यालयको ध्यान थारू भाषा संस्कृति संस्कारलाई गति प्रदान गर्ने नीति रहेको बताउनु भयो। साहित्यले पाठकलाई नजिक ल्याउन सक्नु पर्छ, साहित्यले रुवाउन र हँसाउन जान्नुपर्छ, त्यस्तो साहित्य सफल हुने उहाँले बताउनु भयो।
शिक्षा क्याप्पस सुर्खेतका क्याप्पस प्रमुख डा. महेन्द्र कुमार मल्लले  साहित्य चेतनाको सर्वोत्तम शक्ति भएको बताउदै थारू साहित्य संगसंगै थारू शब्दकोश, व्याकरण, पत्रपत्रिकाको विकासमा समेत जोड दिनुपर्नेमा आग्रह गर्नुभयो। उहाँले सुर्खेतमा एक मात्र थारू साहित्यकार पन्नाले थारू वाङमयमा ठूलो योगदान पुर्या्एको चर्चा गर्नुभयो।
नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभाका सदस्य डा.दिपक गौतमले भाषा साहित्य समाजकै ऐना भएको चर्चा गर्दै यसको माध्यमबाट थारू समाजमा जागरण ल्याउनु पर्नेमा जोड दिनु भयो। थारू समाजको उत्थानमा युवाहरु सक्रिय भई लाग्न आग्रह समेत गर्नुभयो। पुस्तकको टिप्पणी गर्दै जङ्रार साहित्यिक बखेरीका बाँके जिल्लाका संयोजक तथा थारू साहित्यकार सोमप्रसाद डेमनडौराले भन्नुभयो– थारू भाषा साहित्यको एक महत्वपूर्ण कृतिको रुपमा ककनडरान छोटकी कथा संग्रह आएको छ। यस संग्रहमा संकलित कथाहरु थारू समाजका यथार्थ ओकल्टन्। आजको थारू समाजका अगुवा नै गलत बाटोमा लागिरहेको, युवा पुस्ता कसरी दलदलमा फँसिरहेका छन्, विदेश गएका थारू परिवारको पारिवारिक जीवन स्खलनतर्फ गइरहेको संकेत, कथामा  थारू समाजको  पारिवारिक मनोदशा, यौन चाहनाले निम्त्याएको बिकृति, शिक्षाको कमीले पाएको दुःख, बाल विवाह, वहु विबाहको विरोध, इमानमा रहनु पर्छ, अझै पनि दास मनोवृतिका मानिसका कारण थिचोमिचो भोग्नु परेको विषयवस्तु समेतिएको बताए। टिप्पणीकारले यो कथा संग्रहले पाठकमा छुट्टै छाप छोड्ने जिकिर गर्नुभयो।
विमोचित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङ्गले थारू भाषा साहित्यमा कलम नचलाए भोलिका दिनमा भाषा संस्कृति नै लोप हुने चिन्ता प्रकट गर्नुभयो। शिक्षित युवा वर्गले चासो नदिए थारू साहित्यले फड्को मार्न नसक्ने बताउनु भयो। कार्यक्रममा थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्णबहादुर थारू, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापा, थारू वुद्धिजीवि एवं अगुवाहरु भागिराम थारू, लाल बहादुर चौधरी, टेकबहादुर चौधरी, दुर्गा थारू लगायतका वक्ताहरुले आफ्ना भनाइ राखेका थिए। कार्यक्रममा पहुरा सांस्कृतिक मञ्च नयाँगाउँ र लखारगिन युवा क्लव कुन्तीका थारू कलाकारले थारू नृत्य प्रस्तुत गरेका थिए।
कथा संग्रहको प्रकाशन थारू लखागिन महिला समूह सुर्खेतले गरेको हो। १२ वटा कथा संकलित रहेकेा कथा संग्रहको मूल्य रु १०० रहेको छ। विमोचन कार्यक्रम थारू लखागिन महिला समुहकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा सम्पन्न भएको हो। स्मरण रहोस्, यसभन्दा अगाडि साहित्यकार पन्नाका थारू कविता संग्रह ढुकढुकी, खण्डकाव्य किसानके जिन्दगी, अनुसन्धानमुलक कृति थारू लोकगाथा थारू सखिया नाच गीत, थारू गीति क्यासेट भ्यावक घर प्रकाशित छन्।

Leave a Reply

Your email address will not be published.