कम्बल वितरण गर्दै पूर्व कमलरी

Shanta Chy

सन्तोष दहित, दाङ- पूर्व कम्लरीले नै विपन्न परिवारलाई कम्बल वितरण गरिन् भन्दा पत्यार नलाग्न सक्छ। तर कुरा सत्य हो। जो अरुको घरमा १८ वर्ष कमलरी भएर काम गरिन्। तिनैले आफूजस्तो नियति अरुले नभोगोस् भनेर समाज सेवा गरिरहेकी छन्। जाडोको समयमा आगोको सहाराले जीवन बिताउने पूर्व कमलरीदेखि लिएर विपन्न परिवार, असाहय, अपाङगहरुको घरघरमा पुगेर कम्बल वितरण गर्दैछिन् पूर्व कमलरी शान्ता चौधरी।
२०६२ सालमा मुक्त भएकी शान्ता चौधरी २०६४ सालमा नेकपा एमालेको समानुपातिक कोटाबाट सभासद् बनेकी थिइन्। त्यसपछि उनी सधैंभरि सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन्। सभासद् भएको बेला प्राकृति स्रोत समितिका सभापतिसमेत भइसकेकी चौधरी भूमिहीनहरुको अगुवाका रुपमा चिनिन्छन्। उनी दोस्रो संविधान सभामा दाङ क्षेत्र नं २ बाट प्रत्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन्। निर्चावनमा पराजित भएकी चौधरी अहिले ‘शान्ता चौधरी प्रतिष्ठान’ खोलेर समाज सेवामा लागेकी छन्।
अहिलेसम्म दाङको रामपुर, लक्ष्मीपुर, काभ्रे गाविसमा पुगेर त्यहाँका असाहय, गरिब तथा विपन्न परिवारलाई एक सय पाचस थान कम्बल वितरण गरिसकेकी छन्। विशेषगरी दाङको क्षेत्र नं २ अन्तर्गत पर्ने गाविसलाई केन्द्रीत बनाएर आफूले यस्तो अभियान चलाएको चौधरीले बताइन्।
उनले बाँकी रहेका गाविसहरु स्यूजा, लोहारपानी, हाँसिपुर, सिसहनिया र लालमटियामा पनि छिट्टै कम्बल वितरण गरिने जानकारी दिइन्। यो अभियान सकेलगत्तै बालबालिकालाई केन्द्रीत गरेर कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।
उनले बालबालिकाको शिक्षाका लागि पनि सहयोग जुटाउने बताइन्। उनले आर्थिक अवस्था कमजोर रहेको बालबालिकालाई कापी, कलम, व्याग र ड्रेस वितरण गर्ने बताइन्। उनले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा निकै पछाडि परेको क्षेत्रको विकासका लागि आफू जस्तोसुकै चूनौतीसँग समाना गर्न तयार रहेको चौधरीले बताइन्।
१८ वर्ष अरुको घरमा दासी जीवन बिताएकी उनले बाँकी जीवन जनताका लागि समर्पित गर्ने बताइन्।

Leave a Reply

Your email address will not be published.