तराई किन नभन्ने?

Lumibini

फणिराज नेपाल- नेपालमा द्वन्द्व कुनै न कुनैरूपमा रहिआएको छ। देशमा सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र भौगोलिक द्वन्द्वको स्थिति छ। देशको अवस्था, गरिबी, दुर्गमको अवस्थासँगै जातीय र क्षेत्रीयतावाद २०६३ सालको आन्दोलनपछि ह्वात्तै बढेर आयो। १० वर्षको लामो द्वन्द्वमा माओवादीले बढाएको जातीय तुरूपले मधेसी आन्दोलनलाई पनि बल मिल्यो।
सशस्त्र द्वन्द्वपश्चात् बाह्र बुँदे सहमति भई बनेको अन्तरिम संविधानमा मधेसी प्रतिनिधित्व कमजोर देखिएपछि तराईमा एक दशकअघिदेखि मधेसी समुदायको हक अधिकारबारे थालिएको अन्तरक्रियात्मक समूहले आन्दोलन सुरु गर्योए। वास्तवमा त्यो आन्दोलन मधेसको नभई तराईका मधेसी समुदायको आन्दोलनका रूपमा अघि बढ्यो। त्यसमा तराईका समग्र समुदायको प्रतिनिधित्व थिएन। फगत मधेसी र देशी अर्थात् रोटी/बेटी सम्बन्धनको बलमा भएको उग्र आन्दोलनले जातीय तुरूप फैलाई अरु सम्प्रदायलाई तर्साउने र देशकै एक भागबाट आएकालाई विस्थापित गर्ने, खेद्ने, मार्ने कुरामा पनि लक्षित रह्यो। मधेसी पार्टीको जातीय राजनीति र देशको शासन गर्नेहरुमा टालटुल गर्ने, उदासिन व्यवहारका कारण ती समुदायलाई विश्वासमा राख्न नसकी मधेस, मधेसवाद र मधेसवादी शब्दले प्रमुखता पायो।
विगतमा मधेस, मधेस आन्दोलन, मधेसवाद, मधेसकेन्द्रित, मधेस मुद्दा, तराई–मधेस, मधेसवादी आदि शब्द जानी/नजानी प्रयोगमा आएको छ, त्यो तराईमा बस्ने अन्य समुदायलाई नपच्ने हिसावको छ। यी शब्द तराईका सम्पूर्ण समुदायप्रति लक्षित र समावेशी नभई सम्प्रदायविशेष अर्थात् मधेसीप्रति मात्र लगाव र पक्षपोषण गर्ने ध्येयले आएको छ। मधेसी पार्टीले मधेसमा ५० प्रतिशतभन्दा बढी जनसंख्या छ भन्ने तर हक, अधिकार, सुविधा र आरक्षणचाहिँ तराईको जनसंख्याको ४० प्रतिशत र देशको जनसंख्याको २० प्रतिशत मधेसी मात्रका लागि माग गर्नु र सुविधा लिनु धुर्त्याइँ र कपट हो। त्यसबाट तराईमा बस्ने सबै समुदाय समेटिँदैनन् र समाहित पनि हुँदैनन्। तथापि यस्ता सम्प्रदायविशेष शब्दहरु किन बारम्बार प्रयोग हुन्छन त? २००७ सालको क्रान्तिपछिको पहिलो आमनिर्वाचनमा तराई कांग्रेसको नामबाट चुनाव लडेको हो, मधेस कांग्रेसको नामबाट होइन। पञ्चायतकालमा गजेन्द्रनारायण सिंहले मधेसी पार्टीको नामबाट नभई सद्भावना पार्टीको नामबाट दल खोलेका हुन, जुन हाल विभिन्न व्यक्तिको नामबाट टुक्रयाई चलाई आएका छन्। २०६३ सालको महान् जनआन्दोलनपछि जात र क्षेत्रको नाममा मधेसी फोरम, तराई–मधेस, लिम्बूवान, किरात जस्ता पार्टी खोलिनु तत्कालीन सरकारमा रहेकाहरुको गैरजिम्मेवारी र लाचारीपन हो। मिडिया समुदाय पनि यसको दोषभागी छ। ऐतिहासिक, त्यस क्षेत्रको अवस्था, नदीनाला, जनसंख्या, संस्कृति, जातीय बनौट आदिको पनि अध्ययन, विश्लेषणबाट नै शब्द आधार तय हुनुपर्ने हो तर हलुकारूपमा, बहकिएर, अरु समुदायको अवस्था, संख्या र मूल्यांकनलाई पन्छाएर गरिने व्यवहार वा शब्द प्रयोगले समग्र मानसिकता खल्बलिन नदिनेतर्फ मिडिया समूह सचेष्ट र स्पष्ट हुन जरुरी छ।
देशको चुरेपछिको समथर भाग, कतैबाट नघेरिएको, सम्म परेको मैदानी इलाका नै तराई हो। ऐतिहासिककालको त्यो इलाका तरी कहलिन्थ्यो। वर्षाको पानी पहाड वा उच्च ठाउँबाट झरी एकत्रित भई समतल मैदानमा जम्ने भागलाई तरी अर्थात् तराई भनिन्छ। फारसी भाषाबाट आएको तराई शब्दको अर्थ ओसिलो समथर भूभाग भन्ने बुझिन्छ। १८ औं शताब्दीको गोर्खाली कागजपत्रहरुमा तरियानी भनी घना जंगलले ढाकिएको पूर्वी तराईको जिल्लाहरुको नाम उल्लेख भएको पाइन्छ। वि.सं.१९६८ को पहिलो जनगणनाको जनसंख्या सारिणी विवरणमा पूर्वी तराई, मध्य तराई, पश्चिमी तराईको जनसंख्या भनी मेचीदेखि महाकालीसम्मका जिल्लाको नाम उल्लेख गरिएको छ।
मधेस शब्द संस्कृत भाषा मध्यदेशको अप्रभंश हो अर्थात् मध्यदेशको संक्षिप्त रूप नै मधेस हो। प्रज्ञा प्रतिष्ठानको संक्षिप्त शब्दकोशअनुसार हिमालयदेखि दक्षिण, मध्याञ्चल पर्वतदेखि उत्तर, कुरु क्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको पुरानो नाम मध्यदेश हो। प्राचीन वाङ्मयअनुसार सिन्ध सतलजबीचको मथुरा, वृन्दावन, हरियाणासम्मको देश मध्यदेश कहलिन्थ्यो। भारतका डा.विएन तिवारी र महेन्द्र चतुर्वेदीद्वारा सम्पादित सन् १९७५ मा प्रवर्धित संस्करणमा प्रकाशित हिन्दी–अंग्रेजी शब्दकोशमा मध्यदेश भन्नाले विन्ध्याञ्चल, कुरु क्षेत्र र अलाहावादको बीचमा पर्ने मध्य क्षेत्रको नाम भनी उल्लेख छ। मधेस अर्थात् मध्यदेश हुन त डाँडाकाँडा वा पहाडले घेरिएको भित्री भाग हुनुपर्योा तर त्यस्तो आधार भूभाग नेपालको पुछार भागमा छैन। यो क्षेत्र भूमि परिवेष्ठित अर्थात् भारत परिवेष्ठित छ।
नेपालको सम्पूर्ण भूभाग चार प्रदेशमा विभाजन भएको विगतदेखि अध्ययन तथा अध्यापन हुँदै आएको हो। हिमाल, पहाड, भित्री मधेस र तराई। चुरे मास्तिर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभागको बीचमा पहाडले घेरिएको उदयपर, सिन्धुली, चिसापानी, चितवन आदि भित्री मधेसका क्षेत्र हुन्। ती क्षेत्र थारु समुदायको बाहुल्यसँगै पहाडी समुदायको बसोबासको थलो हो। त्यहाँ मधेसी समुदायका मानिसको बसोबास नै होइन। विगतमा यातायात र व्यवसायको विस्तारका क्रममा कम संख्याका मधेसी व्यापार गरिबसेका छन्। तसर्थ नेपालको तराई क्षेत्रको भूभागमा १७ जिल्ला रहेको तथ्य बिर्सन मिल्दैन।
तराईका १७ जिल्लामा २०६८ सालको जनगणनाअनुसार १ करोड ३३लाख १८ हजार ७०५ जनसंख्या छ। तराईको जनसंख्यामा आदिवासी थारु, जनजाति (राजवंशी, धिमाल, सतार, बाँतर आदि) मुसलमान, मधेसी र पहाडबाट आएकाको बसोबास छ। यी मुख्य जातिमा थारु १३ प्रतिशत, जनजाति ३ प्रतिशत, मुसलमान ८ प्रतिशत, पहाडी ३६ प्रतिशत र मधेसी ४० प्रतिशत छन्। संख्यामा मधेसी बढी भए पनि तराईका आदिवासी, जनजाति र मुसलमानले आफूलाई मधेसी भन्न र मान्न नरुचाई विगतमा उनीहरुले आफ्ना हक, अधिकार र आरक्षणका लागि छुट्टाछुट्टै आन्दोलन गरेका सबैलाई थाहै छ। विभिन्न समुदाय रहेको तराईमा खास समुदायको बोलाउने नामसँग जोडेर मधेस प्रदेश बनाउन खोज्नु प्रजातान्त्रिक, न्यायोचित र सर्वग्राह्य हुन सक्तैन। तराईको ४० प्रतिशत भएकाले मधेसमा जोड दिने हो भने बाँकी ६० प्रतिशत रहेकाबाट पनि आआफ्नो पक्षको वकालत हुन सक्छ।
मधेस शब्द आगन्तुक लाग्ने हुनाले स्थानीय, राष्ट्रिय स्तर सुहाउँदो र सबै समुदाय समेटिने तराई भन्नु वा कहलाउनु उपयुक्त हुन्छ। मधेस शब्दले एउटा खास समुदायको प्रतिनिधित्व हुने भएकाले अरु वर्ग वा समुदाय समेट्दैन। तसर्थ अबदेखि तराईलाई मधेस नभनी तराई भन्ने, लेख्ने र बोल्ने गर्नु उपयुक्त हुन्छ। तराई वा तराईवासी भन्दा सबै वर्ग, समुदाय समेटिने र सामाजिक सद्भाव पनि वृद्धि हुन्छ।
आज तराई देशका सबै जातजाति र विविध संस्कृतिको फूलबारीका रूपमा रही एक अर्काबीच सामञ्जस्य भएका कारण मिश्रित संस्कृतिका रूपमा उदाउँदो छ। यसको जगेर्ना गर्नु तराईका सबै समुदायको कर्तव्य हो। यस सन्दर्भमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भनाई समावेशी, सटिक र आधारसहितको छ– तराईको भूभागमा बस्ने सबै तराईवासी हुन्, यो यथार्थ हो तर तराईमा बस्ने सबै मधेसी हैनन्। मधेसी भनेको त कुनै खास भाषा, संस्कृति, भेषभूषा, रहनसहन र परम्परा भएको समुदाय हो।
नागरिक दैनिकबाट साभार

One thought on “तराई किन नभन्ने?

  1. तपाईंको विचारमा म एकदम शाहमती छु। यो मधेशी भनाउदा बाहेक सबैलाई मन पर्छ ।

Leave a Reply

Your email address will not be published.