अविनाश चौधरी, धनगढी- ‘माघ लहैली सुरिक शिकार खैली रे हाँ, सखीय हो माघक् पिली गुरी–गुरी जाँड (माघ नुहाइ सुङ्गुर मासु खायो, साथी हो माघीमा खायौं गुलियो जाँड)’ यस किसिमको गीत सङ्गित अहिले थारु गाउँमा गुञ्जिन थालेका छन्। गीत मात्रै हैन मादलको तालमा नाचिने मघौटा, छोक्रा तथा दिन नचुवा नाचको सुरसार समेत भइरहेका छन्।
थारु समुदायले नयाँ बर्षको रुपमा मनाउँने माघी पर्व नजिकिएसंगै गाउँघरमा माघी गीत र नाचको चहलपहल भएको हो। कतिपय गाउँमा मघौटा, छोक्रा, दिन नचुवा नाचको अभ्यास समेत भइरहेको स्थानीयले जनाएका छन्।
खुशीयाली र स्वतन्त्रताको पर्व भएकाले नाचगानको साथ थारु समुदायले माघी पर्व मनाउने चलन छ। नाच नभए पर्वको रौनकता नै नहुने गरेकाले नाचगानका साथ माघी पर्व मनाउनै पर्ने नियम रहेको थारु समुदायका व्यक्तिहरु बताउने गर्दछन्।
‘बैजुनाथ दिन जाइयो हो, अङ्गा कोठीमे तीर्थ मोर घरही लहायो। घुमती आइगिलो झुमती आइगिलो, आइगिलो माघी त्योहार, सुखदुःख सबसंग लेहले हो। (बैजुनाथ दिन जानु, शरिर घरमा नुहाउनु। घुम्दै फिर्दै आयो माघी पर्व, सुखदुःख सबै संगै लिएर।)
यस्तो गीत पौष अन्तिम् दिन हरेक थारु गाउँमा दफ नामक बाजाको तालमा गुञ्जेको सुनिन्छ। यो गीतलाई थारु भाषामा धमार भनिन्छ। अहिले गाउँघरमा धमार गीतको पनि तयारी भइरहेको स्थानीय लक्ष्मीनारायण चौधरीले बताए। उनले आफ्नो गाउँ भादामा माघी नाचको तयारी भइरहेको जानकारी दिदैं हरेक बर्ष यस्तो नाच गर्ने गरेको जानकारी दिए।
धनगढी–६ जाली गाउँका भल्मन्सा राम प्रसाद चौधरीले पनि आफ्नो गाउँमा मघौटा नाचको तयारी भइरहेको जानकारी दिएका छन्। उनले भने–’नाचगान बीना हामी माघी मनाउँदैनौं। नाचगान भएन भने माघीको के रौनक?’
माघ एक देखि तीन गतेसम्म मघौटा र छोक्रा नाच गर्ने चलन रहेको छ। नयाँ बर्षको रुपमा मनाउने गरेकाले बढी उल्लासमय बनाउन माघीमा नाचगान हुने गरेको थारु नागरिक समाज कैलालीका अध्यक्ष दील बहादुर चौधरीको भनाइ छ।
‘यसलाई स्वतन्त्रताको पर्व समेत मानिने भएकाले नाचगान अनिवार्य हुन्छ’, संयोजक चौधरीले भने–’माघीको नाचगानले समुदायमा आपसी सम्बन्ध बढाएको छ।’
मघौटा नाच महिलाले नाच्ने नाच हो। तर, दिन नचुवा र हुर्डुङ्गवा नाच महिला वा पुरुष दुबैले हास्यव्यङ्गय गर्दै नाच्ने गरेको पाइन्छ। यी नाचहरु पहिल्यैदेखि नाच्दै आएपनि अहिलेको नयाँ पुस्तामा राम्ररी स्थानान्तरण हुन नसक्दा लोप हुने खतरा समेत बढेको स्थानीयहरु बताउँछन्।
‘नयाँ पुस्ताले मघौटा नाचहरुलाई स्वीकारेन वा राम्रोसंग सिक्न पाएन भने यी लोप हुने खतरामा पुग्नेछन्’, भादा गाउँ पर्यटन होमस्टेय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लक्ष्मी नारायण चौधरी अगाडि थप्छन्–’त्यसैले हामीले हाम्रो गाउँमा हरेक किसिमको नाचगान अनिवार्य गर्ने गरेका छौं।’ चौधरीले आफ्नो गाउँलाई थारु संस्कृतिको राजधानी बनाउने प्रयासमा रहेको बताए।