जसले बलिउडको इज्जत राखे

Katrina-Aamir_dhoo3

व्यापारिक दृष्टिकोणबाट बलिउडका लागि सन् २०१३ फलदायी रह्यो। सय करोड क्लबमा थुप्रै फिल्म दर्ता भए। चेन्नई एक्सप्रेस, क्रिस–३ र धुम–३ ले कारोबारका हिसाबले तहल्का मच्चाए। सिक्वेल फिल्मको ओइरो लाग्यो, यो वर्ष। धुम–३, क्रिस–३, रेस–२ र वान्स अपन अ टाइम इन मुम्बई–२, सत्या–२ र यम्ला पगला दिवाना–२, सुटआउट एड वडालाजस्ता फिल्मले राम्रो प्रशंसा कमाए। चेन्नई एक्सप्रेस, ये जवानी है दिवानी, रामलीला, भाग मिल्का भाग, ग्रान्ड मस्ती आदि फिल्मले पनि बक्स अफिसमा राम्रो उपस्थिति दर्शाए। बक्स अफिसमा राम्रो कारोबार गरे पनि यी फिल्म स्तरीयताका कसीमा भने खरो उत्रन सकेनन्। केही फिल्मले उति राम्रो कारोबार नगरे पनि फिल्म समीक्षकहरूबाट मनग्गे तारिफ पाए। यिनलाई बलिउडको ‘इज्जत’ धानिदिने फिल्ममा गनियो।
प्रतिभाशाली अभिनेता इरफान खानद्वारा अभिनीत फिल्म ‘लन्चबक्स’लाई समीक्षकहरूले राम्रो फिल्मको संज्ञा दिए। एक  विधुरको प्रेमकथामा आधारित यो फिल्म रितेश भत्राले लेखेका हुन्। निर्देशक आनन्द गान्धीको फिल्म ‘सिप अफ थेसस’ ले ंअन्तर्राष्ट्रिय बजारमा बलिउडको साख राख्न मद्दत गर्योन। अहिंसा, परोपकार र दायित्वबोधको भावनालाई मुखरित गरिएको यस फिल्मले बलिउडमा नयाँ गोरेटो कोरेको भारतीय पत्रिका टीओआईले जनाएको छ। सन् २०१० मा भारतीय शहर मुम्बईमा मारिएका शहीद अज्मीको जीवनमा आधारित रहेर निर्देशक हन्सल मेहताले तयार पारेको फिल्मले भारतको सामाजिक–राजनीतिक परिवेशलाई बडो कुशलताका साथ चित्रण गरेको छ।  ‘बम्बई टाकिज’ यस वर्ष निस्किएको सर्वथा नयाँ खालको फिल्म हो। यसमा अनुराग कश्यप, दिवाकर बनर्जी, जोया अख्तर र करन जौहरजस्ता भारतका उम्दा निर्देशकका चार वटा छोटा फिल्मलाई संग्रह गरिएको छ। त्यसै गरी ‘बीए पास’ फिल्मले शिक्षालाई पृष्ठभूमि बनाएर यौन र धोकाधडीबारे गरेको प्रस्तुतिलाई धेरैले तारिफ गरेका छन्।
सुवास कपुरको निर्देशनमा बनेको फिल्म ‘जोली एलएलबी’लाई अभिनेताद्वय अर्सद वार्सी र बोमन इरानीको जीवन्त अभिनयले तारिफयोग्य बनाएको छ। अंग्रेजी लेखक ओ हेनरीको कथा ‘द लास्ट लिफ’को कथावस्तुमाथि आधारित फिल्म ‘लुटेरा’ यस वर्षको अर्को सुन्दर फिल्म हो, जसलाई विक्रमादित्य मोट्वानेले निर्देशन गरेका हुन्। चेतन भगतको उपन्यास ‘द थ्री मिस्टेक अफ माई लाइफ’मा आधारित फिल्म ‘काई पो ची’ ले पनि समीक्षकहरूबाट तारिफ पाएको छ। फिल्मलाई सुशान्त सिंह राजपुत र राजकुमार यादवजस्ता मूलधारमा नचिनिएका कलाकारले जीवन्त बनाएका छन्।
निर्देशक निखिल आड्वाणीको फिल्म ‘डी डे’ यस वर्षको अर्को सफल फिल्म हो। भारतका एक गुप्तचर अधिकारीलाई मुख्य पात्र बनाइएको  फिल्म मुम्बईको अन्डरवर्ल्ड जीवनको सेरोफेरोमा घुमेको छ। यो फिल्मलाई बलिउडकै अहिलेसम्मकै सबैभन्दा विवादास्पद ‘थि्रलर मुभी’का रूपमा विश्लेषकहरूले स्वीकार गरेका छन्।
‘स्पेसल–२६’ र ‘सुटआउट एट वडाला’ यस वर्षका सफल एक्सन फिल्म हुन्। दुवै फिल्ममा बलिउडका चुनिन्दा अभिनेता मनोज बाजपेयीको भूमिका छ। ‘स्पेसल–२६’ मा मनोज बाजपेयीसँगै अक्षय कुमार र अनुमप खेरको मुख्य भूमिका छ। सुरक्षा अधिकारीहरूलाई चक्मा दिएर खरखजाना लुटिएको कथावस्तुमा आधारित फिल्मलाई समीक्षकहरूले ‘उत्तम फिल्म’को संज्ञा दिएका छन्। ‘सुटआउट एट वडाला’ अन्डरर्वल्डसम्बन्धी कथावस्तुमा आधारित फिल्म हो।
बलिउडको हैसियत मापन गर्न ‘बक्स अफिस’मा केन्द्रित हुनेहरूलाई यी फिल्महरूको भेउ नहुन सक्छ। यद्यपि, अन्तर्राष्ट्रिय फोरममा यी र यस्तै फिल्मले बलिउडको साख जोगाइदिने गरेका छन्।
एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published.