किसान नेता राधाकृष्ण थारू

तस्बिर : मानबहादुर चौधरी
तस्बिर : मानबहादुर चौधरी

कृष्णराज सर्वहारी– राजनीतिलाई कमाई खाने भाँडो बनाउने त धेरै छन् तर राजनीतिमै निष्ठापूर्वक आजीवन लागेर प्राण उत्सर्ग गर्ने राजनेताहरूको कमी छ। बर्दियाका राधाकृष्ण थारू त्यस्तै मध्ये एक थिए, जो भूमिहीन किसान सुकुम्वासीका अगुवा रहे।
२०१५ सालमा बर्दिया क्षेत्र नं ६४ बाट प्रतिनिधि सभामा नेपाली कांगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमीहीनहरूलाई अधिकार दिलाउनमा ठूलो योगदान छ। त्यसताका वीपी कोइरालाले उनलाई मंत्रीमण्डलकेा सदस्य बनाउन प्रस्ताव गर्दा उनले परशुनारायण चौधरीलाई सिफारिश गर्दै भनेका थिए– परशुबाबु पढे लेखेका शिक्षित गे्रजुएट छन्। म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ।
परशुनारायण शिक्षा मन्त्री तत्काल बनाइए पनि। परशुनारायण नेपाली कांगे्रसको महामन्त्री सम्म रही पछि पञ्चायत प्रवेश गरेर मन्त्री भइ सुविधा भोगी राजनीतिमा लागे तर राधाकृष्ण थारू कांगे्रसको राजनीतिक लिकबाट कहिल्यै टसमस भएनन्। बिस. १९६७ मा जन्मिएका उनको २०४५ साल मंसिर २५ गते निधन भयो, त्यसबेलासम्म उनी नेपाली कांगे्रस बर्दियाको जिल्ला सभापति थिए। राजा महेन्द्रले तत्कालिन लोकतान्त्रिक सरकारलाई २०१७ पुस १ गते ‘कू’ गरी निरकुंश पञ्चायती व्यवस्था थोपरे। त्यसबेला राधाकृष्णको बर्दिया कोठिया र रत्नापुर गाउँस्थित घर प्रशासनले सिल गर्‍यो। पक्राउ पूर्जी जारी गरिएका उनी सपरिवार भारत प्रवास हुन बाध्य भए। पछि वीपीको मेलमिलाप नीति अन्तर्गत उनी २०२५ सालमा नेपाल आए।

राधाकृष्णको विगतको राजनीतिक यात्रा केलाउँदा धार्मिक अभियानबाट शुरुवात गरेको देखिन्छ। राणाकालमा सभा, भेला गर्न गराउन पाइँदैनथ्यो। तर २००१ सालमा उनले बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी) हरूको सम्मेलन गराए। सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे। उनले रैतीहरूको नाममा जग्गा हुनुपर्ने आवाज उठाए। २००३ सालमा उनले रैतीहरूबाट सही छाप गराएर उनीहरूको नाममा जग्गा हुनुपर्ने भनी विन्ती पत्र चढाउन श्री ३ पद्यमशमशेर कहाँ काठमाडौँ गए। व्यवस्था विरोधी कांगे्रसी भएको विरोधीहरूले बात लगाएपछि डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे। उनले श्री ३ समक्ष विन्ती चढाए– हामी व्यवस्था विरोधी होइनौँ। थारू रैतीहरूको वारेस भई उनीहरूको नाममा जग्गा जमिन हुनुपर्‍यो भनेर विन्ती चढाउन आएका हौं।

त्यसपछि राधाकृष्णले छुटकारा पाए। उनले चढाएको विन्ती पत्रले काम गर्‍यो। २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो। टोलीले १३ हजार विगहा जग्गा भूमीहिन रैतीहरूको नाममा गरिदियो। तर उनीहरूले सो जग्गा एक वर्ष पनि राम्ररी उपभोग गर्न पाएनन्। राधाकृष्ण थारूले पुनः आन्दोलन चलाए। पछि अधिकार सम्पन्न कमिशन बर्दियामा पठाइयो, जसले २५ हजार विगहा जग्गा भूमीहप्नहरूको नाममा गरिदियो। त्यसपछि उनी जमिन्दारहरू विरुद्ध बेठबेगारी विरुद्धको अभियानमा पनि लागे।
राणा शासन ढलाउन २००७ सालको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाईमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो। क्रान्तिकारीहरूले बजार कब्जा गरेपछि उनकै अध्यक्षतमा स्थानीय प्रशासन चलाउन स्थानीय क्रान्तिकारी सरकारको रुपमा समिति समेत गठन गरिएको थियो। राधाकृष्णका दुई भाइ छोरा पनि पछि सभासद भए। २०५६ को प्रतिनिधि सभामा मंगल प्रसाद थारू कांगे्रसबाट सभासद चुनिएका थिए भने अर्का छोरा गोविन्द थारू नेपाल सदभावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा आन्तरिक विधायक चुनिएका थिए। यसरी थारू समुदायमा एकै घरका ३ जना सदस्य सभासद चुनिएको राधाकृष्ण परिवार मात्र हो।

मेलमिलापको नीति पछि स्वदेश फिर्ता भएका राधाकृष्ण थारू अस्वस्थ थिए। तर ४ वर्ष लगातार प्रशासनमा तारेख धाए। पछि केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधानपञ्चको उम्मेद्वारी दिएपछि उनलाई प्रशासनले दुःख दिन छाड्यो। प्रशासनलाई लाग्यो, राधाकृष्णले पञ्चायतको समर्थन गर्‍यो तर उनको मनमा कांगे्रस बाहेक अर्को राजनीतिक आस्थाले स्थान पाएन। २०१७ सालको कू मा जफत गरिएको सेफ प्रशासनले उनको छोरा मंगलप्रसाद २०५६ मा सभासद भएपछि मात्रै फिर्ता गर्‍यो। अर्को छोरा गोविन्द थारूको अनुसार सेफभित्र आमाको विहेका कपडा बाहेक अरु केही थिएन। चालीसौँ वर्षसम्म प्रशासनको चौरमा राखिएको सेफ खियाले थोरै खाएको थियो तर राधाकृष्णको परिवारले साँचो फेला नपर्दा, फुटाएर पनि सम्भव नभएपछि सेफ खोलेर हेर्न सकेन।

राधाकृष्ण थारूको सम्मानमा बर्दियाको सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामाकरण गरिएको छ। चोकमा उनको अर्धकदको शालिक पनि ठड्याइएको छ। भूमीहीन विरुद्ध राधाकृष्ण आजीवन लडे तर बर्दियामा भूमीहीन, मुक्त कमैयाहरू अझै पनि उनकै शालिक घेरा हालेर पुर्नस्थापनाको लागि धर्ना दिन बाध्य छन्। आफूले सोचेको सपना पूरा नभएपछि उनको आत्माले पक्कै पनि शान्ति पाएको छैन होला। उनको नाममा राधाकृष्ण थारू जनसेवा केन्द्र संस्था समेत खोलिएको छ। संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले राधाकृष्णको नाममा पार्क बनाउने घोषण गरे पनि अझैसम्म गर्भमै हराएको छ। सभासद रहिसकेका छोराहरूले समाजसेवामा राधाकृष्णले गरेको लगानीको ब्याज त खाइरहेका छन् तर उनको सपना पूरा गर्ने खाका बनाएका छैनन्।
साभारः २०७० नागरिक दैनिक

 

One thought on “किसान नेता राधाकृष्ण थारू

  1. I salute this great personnel who encourage us; who really great warrior, I suggest to all tharu leaders…Learn something from him

Leave a Reply

Your email address will not be published.