जिप दुर्घटनामा पाँचको मृत्यु, १० घाइते

 हरिकुमार राई, उदयपुर- कटारीबाट आइतबार साँझ घुर्मी जाँदै गरेको एक जिप उदयपुरको सिरीसे गाविस–७ अँधेरीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्। जिप दुर्घटनामा मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको र बाँकी दुईको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। मृतक तीन जनामध्ये खोटाङ विजयखर्क– ९ बस्ने वर्ष ७३ का नारायणप्रसाद पोखेरल, खोटाङ बाक्सिला–४ का ३५ वर्षीय बालकुमार खत्री र सुनसरी धरान घर भई उदयपुरको घुर्मी बस्दै आएकी वर्ष २४ की सरिता रानामगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख किसनसिंह थापाले बताए।
यस्तै उदयपुर हर्देनी घुर्मीका २३ वर्षीय घमण्ड परियार, वर्ष ६ की भूमिका परियार र वर्ष १४ का राजन परियार गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुने अन्यमा ओखलढुङ्गा सल्लेरी–१ का वर्ष २७ का मोहनबहादुर श्रेष्ठ, सोलुखुम्बु नेचा–८ का वर्ष २६ की पञ्ची सुब्बा, खोटाङ विजयखर्क–४ का वर्ष ७३ की तुलसा खनाल र वर्ष ७१ का नन्दराम खनाल रहेका छन्।
सो दुर्घटनामा उदयपुर कटारीका वर्ष ५१ का खेमराज बस्नेत र हेटौंडाका वर्ष २४ का सरोज राई पनि घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था गम्भीर रहेकाले उनीहरुलाई कटारी अस्पताल उदयपुरमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर सिफारिस गरिएको पनि प्रहरीले बताएको छ।
मृतकको शव आज बिहान सिरीसेबाट कटारी अस्पतालमा ल्याएर परीक्षण गरी आफन्तलाई बुझाउने काम भइरहेको प्रहरीले बताएको छ। दुर्घटना भएको  ज१ज  १७६ नम्बरको उक्त जिप आइतबार साँझ कटारीबाट यात्रुहरु लिएर उदयपुरको घुर्मीतर्फ जाँदै गर्दा सिरीसेमा सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले बताएको छ। जिपका चालक भने फरार रहेकाले खोजी भइरहेको समेत इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। रासस

Leave a Reply

Your email address will not be published.