प्रहरी निरीक्षकको गोली हानी हत्या

दैलेख- दैलेखका एक प्रहरी निरीक्षकको जिल्ला प्रहरी कार्यालयभित्र गोली हानी हत्या गरिएको छ। प्रहरी निरीक्षक हेमराज भट्टको उनकै अङ्गरक्षक कमल शर्माद्वारा गोली हानी हत्या गरिएको बताइएको छ। तर यसको वास्तविक विवरण भने आउन बाँकी छ। कार्यालय कोठमा सुतिरहेको अवस्थामा आज बिहान ५ बजेर २० मिनेटको समयमा टाउकोमा गोली हानी भट्टको हत्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ। उनको टाउकोमा तीनवटा गोली लागेको बताइएको छ।

भट्टको हत्यापछि प्रहरी जवान शर्माले आफ्नो पेटमा तीनवटा गोली हानेको र उनको पनि उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालयमा मृत्यु भएको बताइएको छ। घटनामा कस्तो हतियार प्रयोग गरिएको थियो र गोली प्रहार गर्नुको कारणबारे आधिकारिक जवाफ दिन जिल्ला प्रहरी प्रमुख प्रज्वल महर्जनले अस्वीकार गरे। छानबिनका लागि प्रहरी टोली सुर्खेत र नेपालगन्जबाट हिँडेकाले टोलीको छानबिनपछि मात्र आधिकारिक कुरा बाहिर आउने र अहिले कसैलाई पनि कार्यालयभित्र प्रवेश गर्न नदिएको प्रहरीले बताएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले बताए। महेन्द्रनगर घर भएका प्रहरी निरीक्षक भट्ट गत वैशाखमा दैलेख खटिएका थिए। प्रहरी जवान शर्माको घर भने दैलेख जिल्ला खडकाबाडा गाविस–४ मा रहेको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.