गौशाला- बडादसैंको आगमनसँगै महोत्तरीलगायत मिथिलाञ्चलको गाउँगाउँमा अहिले झिझिया नृत्य सुरु भएको छ। मिथिलाको संस्कृतिको विकाससँगै जन्मेको यस झिझिया नृत्य मैथिल समुदाय र मिथिलावासीको लोकनृत्यको रूपमा चिनिन्छ। प्रत्येक वर्ष दसैँको घटास्थापनाकै दिनदेखि मिथिलाको प्रत्येक गाउँगाउँमा झिझिया नृत्य नाच्ने चलन छ भने विजयादशमीको दिनमा गाउँका राजा ब्रम्ह स्थान र दुर्गा भवानीको प्रतिमा अगाडि अन्तिम पटक विशेष नाच नाचेर झिझिया नृत्य सम्पन्न हुने गर्दछ।
गाउँघरमा बोक्साबोक्सीलाई धपाउन, निजको कालो जादू टुनाबाट परिवारलाई जोगाउन र भगवानसँग परिवाजनको दीर्घायुको कामना गर्दै झिझिया नृत्य नाच्ने गरिन्छ। गाउँको राजाको रूपमा चिनिने ब्रम्ह बाबा र असुर नासिनी माँ भवानीलाई साक्षी मानी झिझिया नृत्यको लागि घैँटोमा असङ्ख्य प्वाल पारी एक, दुई, चार, पाँच, सात वा एघारवटा घैँटोलाई एक ठाउँमा बाँसको लट्ठीमा बाँधेर झिझिया तयार परिन्छ।
घैँटोबाट तयार पारिएका झिझियालाई टाउकामा राखी मिथिलाकी ७ वर्षीया बालिकादेखि ७० वर्षीया महिलाहरू विभिन्न उमेर समूहमा रातिको बेला गाउँगाउँका प्रत्येक चोक र टोलमा राति अबेरसम्म सामूहिक रूपमा झिझिया नाच नाच्ने गर्छन्।
टाउकोमा घैँटो राखेर नाच्दै गरेकी महिला र साथीहरूको समूहले गीति लयमा बोक्साबोक्सीलाई विभिन्न गाली गर्ने र निजको जादू टुना भङ्ग हुने खालका गतिविधि समेटेर गाउँ टोलमा हो–हल्ला मचाएका हुन्छन्।
टाउकोमा घैँटो राखी नाचिरहेका महिलाको घैँटोको प्वाल यदि कुनै बोक्साबोक्सीले गन्न सक्षम भएमा ती महिलाको तत्काल मृत्यु हुने जनविश्वास रहेकाले टाउकोमा घँैटो राखेकी महिला प्रत्येक क्षण घुमिरहेका हुन्छन्। रासस