थारुवान पत्रकारिता पुरस्कार घोषणा, सम्पादकमा सर्वाहरी

DSC02475 newकाठमाडौं– थारुवान डटकमले दस हजार राशि बराबरको ‘थारुवान पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ। सोमबार राजधानीमा आयोजित प्रथम वार्षिकोत्सवको अवसरमा थारुवान डटकमका सञ्चालक मदन चौधरी सो पुरस्कारको घोषणा गरेका हुन्। थारुवान डटकममा प्रकाशित उत्कृष्ट समाचार/फिचरलाई पुरस्कार दिइने चौधरीले बताए। उनले पुरस्कारको मापदण्ड भने पाठकले रुचाएको आधारमा र सम्पाक मण्डलले तय गर्ने बताए।

थारुवान डटकमले सम्पादकीय मण्डलको चयनसमेत गरेको छ। सञ्चालक चौधरीले पत्रकार कृष्णराज सर्वाहरीको नेतृत्वमा सम्पादकीय मण्डल चयन गरेका हुन्। कार्यक्रमका सहभागीहरुले थारुवान डटकमलाई एउटै समुदायमा नखुम्चिन आग्रह गरेका थिए।

‘मिडिया ब्यक्ति वा जाति विशेष हुनु हुँदैन,’ नागरिक पार्टी नेपालका अध्यक्ष  राजकुमारी लेखीले भने, ‘थारुवान डटकम पनि कुनै राजनीतिक पार्टीको भातृ संगठन नबनोस्।’ मुलुकलाई राजनीतिक रुपान्तरणका लागि मिडियाको प्रमुख भूमिका रहने हुँदा थारुवान डटकमले त्यस्तो भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए।

कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति विषणु निष्ठुरीले हावा पानी कसैको नभएजस्तै मिडिया पनि कसैको नहुने बताए। उनले मिडियालाई एउटै दायराभित्र नराख्न पनि सल्लाह दिए। ‘हावा पानी जसरी सबैलाई स्वीकार्य हुन्छ, मिडिया पनि सबैलाई स्वीकार्य बनाउन जरुरी छ,’ निष्ठुरीले भने, ‘मिडियालाई भौगोलिक सीमाजस्तै दायरा तोक्न हुँदैन।’ उनले मिडिया सार्वभौम भएको भन्दै पत्रकारिताको आफ्नै आचार संहिता रहेको हुँदा त्यसभित्र रहेर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाए। उनले मिडियाले सबैको रुचिका कुराहरु दिनसक्नुपर्ने भन्दै थारुवान डटकमले पनि अगामि दिनमा यस्ता कुरामा ध्यान दिनपर्ने बताए।DSC02506 new

थरुहट तराई पार्टी नेपालका वरिषठ नेता गोपाल दहितले मिडिया नामभन्दा पनि सत्य तथ्यमा अडिग रहनुपर्ने बताए। उनले एउटा गलत सन्देशले आम जनतामाथि भ्रम सिर्जना पैदा गर्ने भएकोले सत्य तथ्य समाचार मात्र पस्किन मिडियालाई सुझाए। उनले थारुहरु आर्थिकरुपले पछाडि भए पनि विगत एक वर्षमा थारुवान डटकले थारु समुदायका मुद्दालाई उठाएको प्रष्ट्याए।

कार्यक्रममा थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरीले अनलाइन पत्रकारिताबारे प्रष्ट पारेका थिए। उनले अहिलेको इन्टरनेट सञ्जालमा अनलाइन पत्रकारिताको ब्यापक उदय भइरहेको बताए।

कार्यक्रमा पत्रकार सुशील पन्त, मधेसी पत्रकार संघका अध्यक्ष कुमार विवेकानन्द मिश्र, थारु कल्याणकारिणी सभाका अध्यक्ष सुमन थारु, थारु विद्यार्थी समाजका महासचिव चन्द्र प्रसाद चौधरी, बर्दियाली थारु विकास मञ्च नेपालका अध्यक्ष सीताराम चौधरीलगायतले थारुवान डटकमलाई प्रगतिको शुभकामना दिए।

Leave a Reply

Your email address will not be published.