थारु नमूना ग्राममा पुस्तकको अभाव

नविन चौधरी, दाङ- दाङको सिसहनियामा अवस्थित थारु नमूना ग्राममा पुस्तकालय स्थापना भएको थाहा पाएपछि गत शनिबार घोराही १ मघैका कालिदास चौधरी सिसहनियाको थारु ग्राममा पुगे। पर्याप्त पुस्तक नदेखेपछि उनी तत्काले फर्किए। ‘फुर्सद मिलाएर पुस्तकालयमा आएको थिएँ, आफूले पढन् चाहेको पुस्तक नभएपछि फर्कँदैछु,’ उनले भने।

चौधरीजस्तै दिनहुँ  मानिसहरु पुस्तकालय आएर त्यसै फर्किन बाध्य भएका छन्। थारु नमूना ग्रामका अध्यक्ष बेचलाल चौधरीका अनुसार अहिले पुस्तकहरुको धेरै अभाव भएकाले पुस्तकालय नाममात्रमा सीमित छ। सबन्धित निकायले पनि सहयोग नगरेको उनको गुनासो छ।

नमूना ग्राममा पुस्तकालय यही जेठ महिनामा स्थापना गरिएको थियो। नमूना थारु ग्रामलाई प्रभावकारी ढंगबाट पर्यटकीयरुपमा विकास गर्न पुस्तकालयको स्थापना गरिए पनि यसको विकासका लागि कसैले पनि चासो नदेखाएको स्थानीयको गुणासो छ।

गाउँका सबैजना विभिन्न खालका ज्ञानमूलक पुस्तक पढ्ने चासो देखाए पनि ती पुस्तक नहुँदा समस्या देखिएको स्थानीय शेरबहादुर चौधरीले बताए। उनका अनुसार विभिन्न ठाउँबाट मानिसहरु पुस्तकालय आए पनि पुस्तक नभएर त्यस्तै फर्केर जान्छन्।

थारु ग्रामका अध्यक्ष बेचलाल चौधरीले आफूहरुले ग्रामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुको साथै शैक्षिक क्षेत्रमा पनि विकास गर्न पुस्तकालयको स्थापना गरिएको भए पनि अझैसम्म कुनै प्रगति नदेखिएको बताए। उनले भने, ‘पहिले थारुहरुको संस्कृति संरक्षणको लागि भनेर बुक्रा घरहरु बनाइयो। अहिले पुस्तकालयको स्थापना गरिएको छ।’ अहिले पुस्तकालयमा साहित्यिकबाहेक अरु किताब छैनन्। उनले सम्बन्धित निकायसँग सबै किसिमका पुस्तक उपलब्ध गराइदिन आग्रह गरेका छन्।

स्थानीय समाजसेवी जनकुलाल चौधरीले पुस्तकालयको छुट्टै भवन नहँदा ठूलो समस्या देखा परेको बताए। ‘पुस्तक राख्‍ने भौतिक सामाग्री पनि छैन। भएको पुस्तकहरु एउटा बाकसमा राख्‍नुपर्छ,’ उनले भने। सम्बन्धित निकायले आवश्यक पुस्तक उपलब्ध गराइदिएर पुस्तकालयको उचित व्यवस्थापनमा ध्यान पुर्‍याइदिएको भए थारु नमूना ग्रामलाई साँच्चिकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने चौधरीको भनाइ थियो।

Leave a Reply

Your email address will not be published.