मोर पहुरा : पुस्तक समिक्षा

Coverपत्रकार तथा साहित्यकार लक्की चौधरीको पछिल्लो कृति मोर पहुरा भर्खर बजारमा आएको छ। यसअघि तीनवटा कृति प्रकाशन गरेका चौधरीको यो चौथो कृति हो। यसअघि दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय उनले प्रकाशन गरिसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा कलम चलाउन रुचाउने लेखक तथा पत्रकार चौधरी थारु भाषा, साहित्य तथा संस्कृतिमा पनि अब्बल मानिन्छन्। राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका चौधरी थारु समुदायसँगै नेपाली भाषा साहित्यको पनि उत्तिकै ज्ञान राख्छन्।

कैलालीको धनगढीबाट २०५९ सालदेखि थारु भाषामा प्रथम दैनिक पत्रिका हमार पहुरा प्रकाशनारम्भ गरी थारु भाषा तथा साहित्यको श्रीबृद्धिमा उनले अतुलनीय योगदान दिए। त्यसको आलावा साप्ताहिक, पाक्षिक तथा वार्षिक पत्रपत्रिकाको सम्पादनमा उनी व्यस्त रहँदै आएका छन्।  २०६६ साल माघ २७ देखि गोरखापत्र दैनिकमा आवद्ध रही चौधरी काठमाडौंमा कार्यक्षेत्र बनाएर काम गर्दैआएका छन्। कैलालीको उर्मा –४, रामपुरमा जन्मिएका चौधरीले भर्खरै प्रकाशनमा आएको पूर्व सभासद शान्ता चौधरीको जीवनीमा आधारित कमलरीदेखि सभासदसम्म पुस्तकको सहलेखन तथा सम्पादन गरेका थिए। उनको लेखनीको क्रियाशीलताले आउने दिनमा नेपाली भाषा, साहित्यको फाँटमा उनको योगदान प्रशंसायुक्त हुने आशा गर्न सकिन्छ।

२०७० वैशाखमा प्रकाशित मोर पहुरा कृति उनको विभिन्न समयमा लेखिएको अनुसन्धानमुलक लेखको संकलन संग्रह हो। यस कृतिमा उनको विभिन्न शीर्षकका १८ वटा लेखहरु संकलित छन्। थारु बरघर प्रथा, बरघर सञ्चार प्रणाली, थारुको नयाँवर्ष माघी, दशैंमा दिइने पशुबलिको प्रसंगलाई जोड्दै पशुबलि कि पशुत्व बली, थारुको विशेष चाडमध्येको अत्वारी, जीतिया, थारु समुदायमा लगाइने सेता टीका (उज्जर टीका) मुक्त कमैयाको विषयमा केन्द्रित मुक्तीक् पाइला, मुक्त कमलरीहरुको पीडा, थारु प्रकृतिकपूजक, सदियौंदेखि राज्यबाट उपेक्षामा परेका थारु समुदायले २०६५ यता गरेको विभिन्न आन्दोलनलाई उनले थारु आन्दोलन :  ऐतिहासिक पक्ष, देश संघीयतामा गए थारुहरुको स्थान कहाँ हुने? थारु समुदायका व्यक्तिहरुको राजनीतिमा सक्रियता र पहुँच, अहिले अधिकारको नाममा उठ्ने गरेको जातीयता, जातजातिको पहिचानको खोजी, पूर्व मन्त्री तथा थारु कल्याणकारिणी सभाका संस्थापक नेता परशुनारायण चौधरी तथा थारु भाषा साहित्यको विषयमा यस पुस्तकमा विशेषगरी चर्चा गरिएको छ।

लेखक चौधरीले थारु समुदायमा विशेष महत्व राख्ने बरघर प्रथा कसरी सुचारु भएको छ? गाउँमा बरघरको भूमिका के रहन्छ? यावत विषयमा स्पष्ट पारेका छन्। थारु समुदायमा बरघरले गाउँको नीति नियम बनाउने, उसैको नेतृत्वमा गाउँ सुचारु हुने, गाउँमा केही समस्या परे बरघरकै पहलमा आपसमा छलफल गरी समस्या समाधान गर्ने पक्ष पनि स्पष्टसँग उठाइएका छन्। थारु बरघरको सक्रियता र भूमिकाले गाउँको एकता कायम हुने र लोकतान्त्रिक प्रक्रियाबाट गाउँमा आवश्यक पर्ने अन्य चौकीदार, सूचिकार,कूचीकार तथा गुरुवा, वैदवाको चयन गर्ने प्रसंग पनि यस पुस्तकमा उल्लेख छ।

यसैगरी बरघले गाउँमा प्रयोग गर्ने सञ्चार प्रणाली, गाउँलेहरुलाई छलफलका लागि बोलाउँदा बरघरले उहिलेदेखि अहिलेसम्म कस्तो सञ्चारका माध्यमलाई प्रयोग गरे त? थारु समुदायमा विद्यमान परम्परागत सञ्चारका साधनहरु के–के छन्? त्यसको उपयोग र जगेर्ना कसरी गरिएको छ र किन आवश्यक छ बारेमा पनि पुस्तकमा लेखकले प्रष्ट्याएका छन्। थारुहरुको माघी सबैभन्दा ठूलो चाड हो। यही चाडको प्रसंग र माघ महिनामा नै सबै चिजवस्तुको छिनोफानो हुने गर्छ। गाउँको बरघर, गुरुवा, चोकीदार, सुचीकार, कुचीकार सबैको चयन र नियुक्ती माघ महिनामै हुनेगर्छ। त्यसको चयन प्रक्रिया र गाउँमा ती पात्रहरुको महत्वको विषयलाई गहनताकासाथ लेखकले उठाएका छन्। माघीलाई उनले मेलमिलापको पर्वकोरुपमा अर्थ्याएका छन्। यद्यपि विकृतिहरु फैलिदै गइरहेकाले थारु समुदायलाई उनले सचेत गराएका छन्।

त्यस्तै, दशैंमा दिइने अनावश्यक पशुबलिको विरोध गर्दै लेखकले मानिसभित्र रहेको पशुत्वको बलि दिनुपर्ने धारणा राखेका छन्। अनाहकमा आफ्नो खुशी मनाउका लागि निर्दोस पशुपंक्षीको बलिदिने प्रसंगको लेखकले विरोध गरेका छन्। पशुको बलिदिएर भगवान खुशी नहुने र इच्छाएको मनोकामना पनि पूरा हुननसक्ने विषयमा लेखकले जोड दिएका छन्। थारु समुदायमा पुरुषले वर्षको एकदिनमात्र व्रत बस्ने गर्छ। त्यो चाड हो अत्वारी। यस चाडमा पुरुषले आधादिन ब्रत बसी चाड मनाउने गर्छन्। घर परिवारको सुख शान्ति र प्रगतिको कामना गर्दै व्रत बस्ने गरिन्छ। चेलीबेटीलाई उपहार दिने र आपसी सम्बन्ध पनि सुमधुर बनाइराख्ने माध्यमकोरुपमा यस अत्वारीलाई लेखकले प्रष्ट्याएका छन्।

थारु समुदायमा प्रायः रातो, पहेलो रंगको टीका चल्दैन। सदियौंदेखि थारु समुदायले सेतो टीका प्रयोग गर्छन्। शुद्धताको प्रतिककोरुपमा मानिने सेतो टीकालाई थारुहरुले दशैं, तिहार तथा अन्य बेलामा पनि उपयोग गर्दछन्। सेतो रंगलाई लेखकले प्रकृतिसँग तुलना गरेका छन्। यसैगरी दासीदासी जीवन विताउन बाध्य मुक्त कमैया तथा कमलरीको जीवन र समस्या, सरकारले निभाउनु पर्ने भूमिकाबारेमा लेखक चौधरीले प्रष्ट्याएका छन्।

सबै जातजाति र वर्गले नयाँ नेपाल बनाउने यस ऐतिहासिक घडीमा पहिचान र अधिकारका लागि लडिरहेका बेला थारु समुदाय पनि आफ्नो पहिचान र अस्तित्वका लागि लडाई लडिरहेको र तयसका लागि विभिन्न चरणमा गरेको आन्दोलन तथा सरकारसँगको सम्झौता कार्यान्वयनमा लेखकले जोड दिएका छन्। संघीयतामा थारुहरुको थातथलो कहाँ रहने? थरुहट प्रदेश कहाँदेखि कहाँसम्म रहने? संघीयताले थारुको अधिकार सुनिश्चित हुने कि नहुने यावत विषयमा पनि यस पुस्तकले प्रष्ट्याउने प्रयास गरेको छ। जातजातिको राज्यभन्दा पनि सबै जातिजातिलाई शिक्षित र सीप सम्पन्न बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

पत्रकार, लेखक तथा साहित्यकार लक्की चौधरीको यस पछिल्लो प्रकाशित पुस्तकले थारु समुदायको परिचय, संस्कृतिका बारेमा आवश्यक खोज अनुसन्धान गर्न चाहने सोधकर्ताहरुका लागि उपयोगी हुने देखिन्छ। लेखक चौधरीको कलम यसैगरी तिव्रगतिमा चल्दै जाओस् भन्ने कामना गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

प्रस्तुती :  आकाश चौधरी

2 thoughts on “मोर पहुरा : पुस्तक समिक्षा

  1. मोर बहुत डहुल लगलइ इ किताब यसने याको किताब यतै त बहुत डहुल हतिय आकास दादा हमार थारुक पहिचान इ समाजमा हेराइक बडइ दादा!

Leave a Reply

Your email address will not be published.