यसरी दिन काट्छिन् मनीषा

manisha_koiralaसुजीत मैनाली– पाठेघरको शल्यक्रिया गराएर घरमा आराम गर्न नआई अभिनेत्री मनीषा कोइराला कर्मभूमि मुम्बई फर्किइन्। क्यान्सरको चपेटाबाट मुक्त हुनुलाई उनले आफ्नो पुनर्जन्म ठानेकी छिन्। त्यसो भए के पुनर्जन्मपछि पुनः बलिउडमा जम्ने तरखरमा छिन् उनी? हो, बलिउडमा फर्किने योजना छ उनको। यसबाहेक अरू योजना पनि छन् उनका।
गत वर्षको नोभेम्बरमा पाठेघरमा क्यान्सर लागेपछि छ महिनाको उपचारपछि अन्ततः मनीषाले क्यान्सरमाथि विजय हासिल गरिन्। उपचारबाट तंग्रिएपछि जुन २६ मा उनी मुम्बई पुगिन्। फुर्सदिलो समयलाई उनले आराम र चिन्तनमा खर्चिन थालेकी छिन्। हलिउड निर्देशकद्वय वुडी एलेन र ड्यानी बोयलका फिल्म हेरेर समय कटाउन थालेकी छिन् उनी। घरछेउको अर्ग्यानिक पसलमा पनि आक्कलझुक्कल भेटिन्छिन्।
पाठेघरको क्यान्सरको उपचार गर्न अमेरिका गएकी थिइन्। ‘ममीको एकजना साथीले चिनेको नामी डाक्टर रैछन्, अमेरिकामा। गर्नुपर्ने काम तत्काल गरिहाल्नुपर्थ्याे, नत्र ढिलो हुन्थ्यो। मैले आमाकै चिनजानका मानिसलाई पछ्याउने निधो गरेँ,’ उनले भनिन्।
न्युयोर्कको स्लोन केटरिङ हस्पिटलमा डा. डेनिस चिको निगरानीमा उनको शल्यक्रिया भयो। डा. विक्की मक्करको समूहले केमोथेरापी गर्योङ। डाक्टरहरूले उनलाई कपाल खौरन सल्लाह दिए किनकि केमोथेरापी गर्दा जम्मै कपाल झर्छ। मनीषाले कपाल खौरिइन्।
‘अस्पतालमा रहँदा मैले दुई जना अद्भुत मान्छे भेटेँ,’ उनले भनिन्, ‘ ‘डा. नरुला र डा. नरेन। सायद उहाँहरू पूर्वजन्ममा मेरो दाजु पो हुनुहुन्थ्यो कि? उहाँहरूले मलाई र मेरो परिवारलाई राम्रोसँग सम्हाल्नुभयो। चुनौतीलाई झेल्न सक्षम पार्नुभयो।’
उपचारपछि मनीषाको दिनचर्या बदलिएको छ। ‘अब प्रोटिनयुक्त पोषिलो खानेकुरा खानुपर्ने भएको छ। दिनहँु कसरत, प्रार्थना, ध्यान गर्न थालेकी छु। जीवनप्रति आशावादी हुने र सकारात्मक सोच राख्ने मानिसको माझमा सकेसम्म आफूलाई पार्न थालेकी छु,’ मनीषाले सुनाइन्।
खान्कीमा उनी अझ बढी जोड दिन्छिन्। ‘मुम्बई आएपछि सुरुमै मैले अर्ग्यानिक खानेकुरा कहाँ पाइन्छ भनेर खोजिहेरेँ,’ उनले भनिन्, ‘दुईचार पसल फेला पारेँ। अहिले म भेज खानेकुरा रुचाउन थालेकी छु। मटन, चिकेन, माछा आदिबाट सकेसम्म टाढै रहन्छु किनकि भारतमा भेजिटेरियन खानाको गुणस्तर अलिक राम्रो छ। दूधबाट पनि टाढै रहन थालेकी छु। न्युयोर्कमा रहँदा मैले थाहा पाएँ– गाईलाई हर्मोन एन्टिबायोटिक दिइँदो रै’छ। यस्तोमा दूध पनि अब अर्ग्यानिक कहाँ रह्यो र?’ यस्तो लाग्छ, उनलाई क्यान्सरले सात्विक भोजनको पाठ पढायो।
मनीषालाई कसैले भन्ने गरेका छन्– तपाईले क्यान्सरविरुद्ध लडाइँ लड्नुभएन, बरु क्यान्सर पो तपार्इंविरुद्ध लडाइँ गर्न आइपुग्यो। तर ‘लडाइँ’ शब्द मनीषालाई त्यति उपयुक्त लाग्दैन। ‘क्यान्सरविरुद्ध मैले आफै लडाइँ गरेको होइन, उच्च कोटीको उपचारले मलाई बचाएको हो। यसका लागि मैले मेरो स्वास्थ्यको प्रार्थना र कामना गर्ने सबैलाई धन्यवाद दिएकी छु,’ उनले भनिन्।
न्युयोर्कमा उपचारका क्रममा उनी स्काइपबाट आफ्ना गुरु नमनजीसँग नियमित कुराकानी गरिरहन्थिइन्। ‘म न्युयोर्कमै छँदा मेरी आमाका सद्गुरु पाइलट बाबा मलाई भेट्न आउनुभयो र आशीर्वाद दिएर मलाई धन्य पार्नुभयो,’ गौरवपूर्वक उनले सुनाइन् ‘परमपूज्य पिताजी र भारत तथा अमेरिकामा रहेका साथीहरूले पनि मेरो सुस्वास्थ्यका लागि नियमित प्रार्थना गर्नुभयो। सबैप्रति कृतज्ञ छु म। भारतको सहारा समूहका मालिक उद्योगपनि सुब्रतो राय पनि मलाई भेट्न आउनुभयो। उहाँले नै मलाई न्युयोर्कका नामी डाक्टरको उपचार मिलाइदिनुभयो।’
अब अक्टोबरदेखि पुनः काममा फर्किने सोच उनले बनाएकी छिन्। बलिउडमा भिन्न धारका फिल्म बनेको देखेर उनी ज्यादै उत्साहित छिन्। भारतका गन्यमान्य थुप्रै निर्देशकसँग उनले काम गरिसकेकी छिन्। अब फरक खालको चुनौती बेहोर्न भिन्न धारका फिल्ममा काम गर्ने सोचाइ छ, उनको।
तर, उनको मनमा फिल्मबाहेक अर्कै ठूलो कुरा पनि खेलिरहेको रहेछ। न्युयोर्कमा उपचार गराउने क्रममा दिनभरि ओछ्यानमा पल्टिएर बस्दा उनलाई दिक्क लाग्थ्यो। त्यतिबेला मनमा उब्जने कुरालाई डायरीमा टिप्न थालिन्। ‘यसलाई पुस्तकाकार रूप दिने सोचकी छु। एउटा आत्मसंस्मरण प्रकाशित गर्ने रहर पलाएको छ,’ उनले भनिन्। यसका लागि प्रकाशकहरूसँग उनको कुराकानी चलिरहेको छ। ‘मलाई क्यान्सर किन र कसरी लाग्यो होला भन्ने कुरामा एक्लै घोत्लिएको बेला संस्मरण लेख्ने कुरा मनमा फुरेको हो,’ उनले भनिन्। मेडिकल साइन्सले भन्छ– व्यस्त दिनचर्या, बढ्दो विकिरण र खानपानमा परहेज तथा अनुशासन कायम गर्न नसक्दा यस्तो रोग लाग्छ। ‘तर, मैले नराम्रा विचार मनमा ढिम्किन पनि दिएकी छैन। यत्रो अर्बौं मानिसको हुलमा मलाई मात्रै किन यस्तो रोग लाग्यो भनेर मैले आफूलाई कहिल्यै सोधेको छैन,’ उनले भनिन्।
(एजेन्सीका सहयोगमा)

Leave a Reply

Your email address will not be published.