कञ्चनपुरमा हरदहुवाको चहलपहल

लखन चौधरी, धनगढी- धान रोपाईको कार्य सिद्धिएलगत्तै कैलाली–कञ्चलपुरस्थित थारु समुदायमा यतिबेला हरदहुवा पर्वको चहलपहल निकै बढेको छ। महिनौ दिनसम्मको रोपाईको क्रममा भएका दुःख पीडालाई बिर्सने माध्यमको रुपमा लिइ थारु समुदायमा उत्सवको रुपमा मनाइने हरदहुवा पर्वको चहलपहल यतिबेला बढेको हो। 
गाउँ पिच्छे आ–आफ्नै तिथिअनुसार पुर्खौंदेखि रोपाईको कार्य सकिएलगत्तै मनाइने हरदहुवा पर्वमा समुदायमा आफ्ना विवाहित चेलीहरुका साथै इस्टमित्रहरुलाई बोलाएर आपसमा खुसीका साथ मनाउने प्रचलन रहँदै आएको छ। यतिमात्र नभइ थारु समुदायमा हरदहुवा पर्व सद्‍भावको प्रतीकको रुपमा रहेको थारु बुद्धिजीबीहरुको भनाइ छ। यस पर्वमा बंगुर, खसी, बोकालगायत पशुको मासुसँगै परम्परागत खानपिन बनाइ खाने प्रचलन रहेको बताइन्छ।
उदासीपुर–७ दुधियाका भलमन्सा राजाराम चौधरीले गाउँमा सबैले रोपाई सिद्धएको बताए। रोपाई सकिएलगत्तै हरदहुवाको तयारीमा लागेको बताउँदै भलमन्सा चौधरीले हरदहुवाको तिथि गाउँ समाजको निर्णयअनुसार निर्धारण गरिनेसमेत उनको भनाइ छ।
थारु बुद्धिजीबी लाहुराम चौधरीले धान रोपाई सकिएपछि सामूहिकरुपमा मनाइने पर्व रहेको बताए। केही दिनयता कैलाली र कञ्चनपुर जिल्लाका थारु समुदायमा हरदहुवा पर्वको रौनक बढेको जानकारी दिए। थारु समुदायको पहिचानको रुपमा रहेको बताउँदै उनले आ–आफ्नो क्षमता अनुसारको खानपिन बनाई नाचगान गरी मनाउने गरिएको उल्लेख गरे। हरदहुवा पर्वको पृष्ठभूमिबारे उल्लेख गर्र्दै चौधरीले भने– ‘हरदहुवालाई हलोले खेत जोत्नेै क्रममा भएका दुःख–पीडालाई पखाल्न निम्त्याएको पर्वका साथै हलो र निम्तोको रुपमा बुझिन्छ।’
थारु युवा एवं द पोलिटेक्नीकस इन्ष्टिच्युट धनगढीका कार्यक्रम संयोजक बाँधुराम चौधरीले हरदहुवा पर्वलाई अलगै ढंगले प्रष्ट पारे। उनले हरदहुवा पर्व हलो र खेतको प्रतीकको रुपमा रहेको बताए। थारु समुदायको प्रमुख खानपिनका साथ मनाइने हरदहुवा पर्व गाउँ पिच्छे फरक–फरक दिनमा मनाइने गरेको उनले उल्लेख गरे। समयको जतिलताका कारण थारु समुदाय भित्र पनि जसले जति छिटो रोपाई सक्यो उसले उति नै छिटो हरदहुवा पर्व मनाउने गरेको संयोजक चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.