कम्प्युटरको प्रयोगपछि तपाईं कलम कत्तिको चलाउनुहुन्छ? लामो समयसम्म कम्प्युटरमा नै टाइप गर्ने बानी बसेपछि परीक्षा दिन बस्दा कस्तो अनुभव गर्नुभएको छ? धेरैले दिने उत्तर हो– कठिन। हो, सूचना प्रविधिमा अब्बल हुने होडमा कलम समात्ने बानी बिर्सने क्रम बढ्दो छ। अनि अक्षर नि? कुनै समय राम्रैमा गनिने तपाईंको अक्षर अहिले देखाउन लाज लाग्ने भइसकेको हुनसक्छ।
कम्प्युटर, ट्याब्लेट र स्मार्टफोनले दैनिक जीवनबाट पेन र पेन्सिललाई आउट गरिसकेका छन्। के लेखनी युगको अब अन्त्य हुन लागेको हो? अब के मानिसका लागि कलम चाहिन्न? या कलम र पेन्सिल उत्पादन अब बन्द हुने हो? प्रविधिको चर्को प्रयोग गर्नेहरू पनि यस्ताखाले प्रश्न उठाउन थालेका छन्। विश्वका धेरै कलम उत्पादकहरू पनि अब भर्चुअल कलमले भौतिक कलमको अस्तित्व खतरामा पर्न सक्नेमा सचेत छन्।
प्रख्यात पेन्सिल निर्माता फरेस्ट ग्रिनले उत्पादन कायम नै राख्ने बताएको छ। विकासशील मुलुकमा साक्षरता दर बढाउने रफ्तार जारी छ। विकसित मुलुकमा माग घट्दै गए पनि कम साक्षरता भएकाहरू अहिले नै प्रविधिमा पुगिहाल्ने अवस्था छैन। त्यसैले कलमको बजार घट्नेछैन।
‘मानिसहरूले लेख्ने क्रम घटाएका छन् तर जसले लेख्न चाहन्छन्, उनीहरू राम्रो होस् भन्ने चाहन्छन्,’ पेन विशेषज्ञ रहेका उल्फग्याङ फाइबर क्यासलका प्रमुख कार्यकारी काउन्ट एन्टोनले भने।
लेख्ने क्रमले कलममात्र होइन, कापीको उत्पादन पनि कम गर्दै लगेको छ। कुनै बेला राजधानीको ठमेलमा पत्राचार गर्ने कागजको माग यति हुन्थ्यो कि पसलेहरूले अर्डर पूरा गर्न सक्दैन थिए। ठमेलमा अहिले चिठी लेख्ने आकर्षक नेपाली कागज खोज्न जानुभयो भने पाउन मुस्किल छ। पाइयो भने पनि कुनै पुरानो स्टकभन्दा नयाँ फेला पार्नुुहुन्न। न त नयाँ डिजाइनमा नै पाइन्छ। ‘पोस्ट अफिसकै काम बन्द भएजस्तो भइसक्यो, पोस्टकार्ड र चिठीको कागज दुवै कसरी टिक्थ्यो,’ ठमेलमा कागजको व्यापार गर्दै आएका सुदीप महर्जनले भने।
नेपाली कागजमा बनेका लोभलाग्दा पोस्टकार्ड बजारमा छिटफुट अझै फेला पर्छन् तर नेपाली कागजमा नै तयार हुने चिठी–कागत भेटिन्न।
अमेरिकामा भएको एक अध्ययनले लेख्ने क्रम ह्वात्तै घटाएको देखाएको छ। ‘लेख्ने क्रम यतिसम्म घटेको छ कि मानिसहरू हस्ताक्षर गर्न पनि चाहन्नन्,’ अध्ययनमा उल्लेख छ। लेख्ने परम्परालाई नयाँ प्रविधिले बिस्तारै मिच्दै लगेको छ। पत्राचार गर्ने प्रचलनलाई इमेलले करिब समाप्तै पारेको छ। मानिसहरू कलम च्यापेर लेख्न छोड्दै दशै औँलाले कम्प्युटरमा अक्षर कुँद्न तयार छन्। औँला खेलाएर ट्याब्लेट र स्मार्टफोनबाटै लेखनी अघि बढाउँदै छन्। खर्च, समय, दीर्घकालसम्म टिक्ने सबै आधारमा लेखनीलाई डिजिटलाइज्ड माध्यमले उछिनेको छ।
प्रविधिले पेन र पेन्सिलको बजार एकातिर खोसिरहेको छ भने अर्कोतिर दक्षिण अमेरिका र एसिया भने नयाँ बजारका रूपमा उदाइरहेका छन्। स्कुल जाने केटाकेटीको संख्या एसियातिर हरेक वर्ष बढ्दो छ। यसले कलम उत्पादकहरूलाई राहत दिएको छ। तर, भारतजस्तो ठूलो जनसंख्या भएको देशले पनि कम आय भएका बालबालिकाका लागि भनेर नयाँ ट्याब्लेट तयार गरिरहेको छ। नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउन सकिएन भने विश्व बजारमा भिड्न नसक्ने यथार्थलाई स्वीकार गर्दै उसले यसमा ठूलो लगानी गरेको हो। आकाश ट्याब्लेट त्यसैको उदाहरण हो। तर, लेखन सभ्यताको पुरानो इतिहास बोकेको भारत र नेपाल दुवैबाट कलम चल्ने क्रम कम हुन थालेको छ।
परीक्षा कम्प्युटर प्रणाली जोडिने हो भने वर्षमा तीन घण्टे परीक्षा दिनेबाहेक कलम चलाउने प्रचलन केहीमा पनि नजोडिन सक्छ। पुस्तकहरू इलेक्ट्रोनिक भर्सनमा बिक्री हुन थाल्ने, भर्चुअल कलमको प्रयोग हुने र सेन्सरको भरमा हाजिरी हुने परम्पराले मसी र कागत त बचाएका छन् तर एउटा परम्परालाई निस्तेज पारिरहेका छन्।
यसको मतलब प्रविधिलाई रोक लगाउने हो त? पक्कै होइन। प्रविधिको प्रयोग जतिसक्यो धेरै गर्ने नै हो। यसबाट लिनुपर्ने सुविधा पनि नछोड्ने नै हो। तर, सँगै लेखन शैली र परम्परालाई जोगाउँदा खेर केही पनि जाँदैन। त्यसैले आजैबाट परम्परागत रूपमा लेखनीको थालनी गराँै। बाध्यतावश कुनै दिन लेख्नपर्यो भने औँलाबाट पसिना आउला।