काठमाडौं- सात वर्ष उमेरका बालबालिका स्कुल जाने र साथीभाइसँग खेल्ने गर्छन्। तर, एलिसा चौधरीको जीवनमा त्यस्तो भएन। उनी सात वर्षकै उमेरमा अर्काको घरमा कमलरी बस्न गइन्। पढ्ने उमेरमा कमलरी बस्न उनलाई कहाँ मन थियो र। दाङ, घोराहीबाट लिन आएका नरबहादुर शाहलाई छल्दै उनी दुई–तीनपटक घरबाटै भागिन्। तर, उनले सधैं त्यसो गर्न पनि सकिनन्। घरको कमजोर आर्थिक अवस्था र परिवारले लिएको १ हजार ५ सय ऋण तिर्न उनी शाहको घरमा कमलरी बस्न बाध्य भइन्। शाहले वार्षिक २ हजार ५ सय दिने शर्तमा एलिसालाई कमलरी राखे।
शाहको घर पुगे पनि आमाबुबाको याद आएकाले उनी त्यहाँ बस्न सकिनन्। त्यहाँबाट फेरि भागिन्। एलिसालाई खोज्न शाह घरमै आए। उनले एलिसालाई बेस्मारी थर्काए। आइन्दा भागेमा प्रहरीले पक्रने भन्दै उनलाई तर्साए। अनततः सानी फुच्चीको केही चलेन। एक वर्षका लागि उनी शाहको घरमा दासी जीवन बिताउन बाध्य भइन्।
मुक्त कमलरी विकास मञ्चले मंगलबारदेखि राजधानीमा सुरु गरेको धर्नामा सहभागी हुन अहिले उनी राजधानी आएकी छन् । दाङ, नारायणपुर–४, दक्षिण अमराईमा उनको घर छ। बुबाआमासहित ९ जनाको परिवार छ। उनले कमलरीमाथि भइरहेको अत्याचार सहन नसकेकै कारण राजधानीमा आएर धर्ना बस्नुपरेको बताइन्।
अहिले उनी १७ वर्षकी भइन्। एक वर्षमा खेप्नुपरेको पीडा जिन्दगीभर नभुल्ने उनले बताइन्। शाहको घरमा काम गर्दा उनकी श्रीमती सीताले पीडा दिएकी थिइन्। उनले भनिन्, ‘सात वर्षको उमेरमा मलाई कौसीमा जबरजस्ती लुगा सुकाउन लगाइयो। नसुकाए चुलेसीले हात काट्ने भनेपछि डराइडराइ गएँ,’ उनले थपिन्, ‘घरको दोस्रो तलाबाट भुँइमा खसेछु। मेरो होस् हरायो। होस खुल्दा म नेपालगन्जको अस्पतालमा उपचार गराइरहेको रहेछु। मेरो खुट्टामा स्टिल हालिएको थियो।’ त्यो सम्भि्कँदा अझै आङ सिरिंग हुने उनको भनाइ छ। देब्रे खुट्टाको घाउको खत देखाउँदै उनले भनिन्, ‘मरेको भए यति पीडा त खेप्नु पर्थेन।’
एलिसा अस्पताल भर्ना भएका बेला शाह परिवारले उनकी आमालाई काम गराउन लगे। डाक्टरले तीन महिना वैशाखी लाएर हिँड्नु भनेपछि एलिसा घरमा थन्किइन्। जब एलिसाको खुट्टाबाट स्टिल झिकियो, त्यतिखेर उनकी आमाको पनि खुट्टा भाँचिसकेको रहेछ। सीताले उनकी आमालाई पनि जबर्जस्ती काममा लगाउँदा खुट्टा भाँचिएको थियो। ‘बल्ल विदेशीले मेरो खुट्टाको उपचार गरिदिए,’ उनले भनिन्, ‘खै आमाको उपचार चाहिँ कसले गरिदेला?’ उपचार नपाएकै कारण अहिले उनकी आमा हिँडडुल गर्न सक्दिनन्।
तीन महिनापछि एलिसाले फेरि त्यही नर्कमा काम गर्न जानु पर्यो। शाहको घरसँगै रहेको चर्च उनीहरूकै जिम्मामा भएकाले एलिसाले दैनिक २ सय जनाका लागि खाना बनाउनुपर्थ्यो। बुधबार, शुक्रबार र शनिबार भने पाँच सयसम्मलाई खाना बनाउनुपरेको उनी सम्भि्कन्छन्। ‘सबैका लागि दालभात बनाउँथे,’ उनले भनिन्, ‘तर, मलाई मालिकले ढिँडोमात्र पकाएर खा भन्थे।’ काम गर्दागर्दै राति १२ बज्थ्यो। बिहान २ नबज्दै उठेर फेरि काम गर्नुपर्थ्यो।
सम्झौता सकिएपछि उनी रित्तो हात घर फर्किइन्। ‘जेलबाट मुक्त भएजस्तै लागेका थियो,’ त्यो दिन सम्भि्कँदै उनले भनिन्, ‘तर घर गएपछि समस्या फेरिएन।’ हलिया बसेका बुबाले मालिकको घरबाट ल्याएको आफ्नो भागको भात हामीले बाँडेर खान्थ्यौं। जसोतसो गुजारा चल्दै थियो। केही दिनमै उनको परिवारमा अर्को ठूलो समस्या आइपर्यो।
शाहकी श्रीमती सीताले उनको उपचार गर्दा १ लाख ८० हजार लागेको भन्दै फिर्ता गर्न धम्की दिइन्। ‘मेरो दाइ माओवादी हो, तिमीहरूलाई जे पनि गराउन सक्छु भन्दै सीताले धम्क्याइन्,’ उनले भनिन्, ‘त्यही कुराले मेरो परिवार अहिले पनि तनावमा छ।’
१ हजार ५ सय ऋण तिर्न वार्षिक २ हजार ५ सयमा काम गर्न गएकी उनी १ लाख ८० हजार थप ऋण बोकेर फर्किइन्। ‘त्यो कुरा सुनेर अहिलेको अहिले मरौंझैं लाग्छ,’ उनले भनिन्, ‘तर सकिनँ।’ सीताले अहिले पनि उनको परिवारलाई पैसा तिर्न धम्की दिँदै आएको उनले बताइन्।
उनी जेलमुक्त भएर घर फर्किएपछि अनौपचारिक पढाइ सुरु गरेर कक्षा ४ मा भर्ना भइन्। अहिले उनी एसएलसी दिएर बसेकी छन्। उनको आमाले एलिसाको एसएलसी तयारीका लागि ७ हजार ऋण लिएकी छन्। एसएलसी पास भए पनि आर्थिक अवस्थाले पढ्न नसक्ने उनले बताइन्। ‘थप पढेर केही काम गर्ने इच्छा छ, पढ्दा लागेको ऋण तिर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘तर, त्यो सजिलै सम्भव छैन।’ पढाइ छाडेर केही काम गरेर भए पनि ऋण तिर्ने योजना उनले बनाएकी छन्।