कमलरीका हत्यारालाई कारबाही माग गर्दै ५ जिल्ला बन्द घोषणा

माधव चौधरी, दाङ- थारु समुदायका विभिन्न संगठनले वैशाख ३ र ४ गते दाङसहित ५ जिल्ला बन्द आह्‍वान गरेका छन्। रहस्यम तरिकाले मृत्यु भएका कमलरीको दाषी पहिचान गरी कानुनबमोजिम कारबाहीको माग गर्दै करिब दुई दर्जन थारु संगठनले बन्दको आह्‍वान गरेका हुन्। गत चैत १४ गते दाङका युवराज पौडेलको ललितपुरको चाकुपाटस्थित घरमा काम गर्ने दाङ लालमटियाकि १२ वर्षीया सृजना चौधरी, २०६५ वैशाख २ गते दाङ लमहीका इन्द्रमणि खनालको घरमा कैलाली टिकापुर ९ की १५ वर्षीया सरिता चौधरी, २०६४ पुस ३० गते लमहीकै दंगाली होटलमा दाङ रामपुरकी १३ वर्षीया सीमा होजा मगर र कैलाली धनगढीका प्रकाश विष्टको घरमा धनगढीकै १५ वर्षीया उर्मिला रानाथारुको रहस्यमय तरिकाले मृत्यु भएको तथा र २०६८ भदौ १ गते कैलाली दैदवारीकि १६ वर्षीया मेघी चौधरीको दाङका बालकृष्ण शाहको काठमाडौं नयाबानेश्वरस्थित घरमा जलाएर विभित्स हत्या भएको बन्द आयोजकको संघर्ष समितिद्वारा जारी अपिलमा जनाइएको छ।

अधिकांश घटनामा बालिकाले आत्महत्या गरेको भनिएका पनि घटना रहस्मय रहेको उनीहरुको भनाइ छ। आत्महत्या नै भए पनि आत्महत्या गर्ने परिस्थिति सृजना हुनुको कारणबारे अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने उनीहरुको माग छ। त्यसैगरी, कानुन बिपरित कमलहरी राख्‍ने र दिनेलाई कारबाही गरी कमलहरी प्रथाको अन्त्य गर्न माग गरेका छन्।

अवोध एवं विवश कमलरी बालिकाको हत्या गर्ने, बेपत्ता पार्ने, बलात्कार गर्ने, जलाएर मार्नेजस्ता संगिन प्रकृतिको अपराधमा संलग्न व्यक्ति विभिन्न प्रकारका आवरणमा हालःसम्म संरक्षित भइ खुलेआम मोजमस्ती गर्दै हिँडिरहेको पनि अपिलमा उल्लेख छ।
त्यस्ता व्यक्तिविरुद्ध विभिन्न मुद्दा चलाइए पनि हालसम्म सामान्य सोधपुछ पनि नभएकाले आम महिला र कमलरी बालिकाको अस्मिता रक्षा गर्न सबै घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै बन्दको घोषणा गर्न बाध्य भएको अपिलमा भनिएको छ।

बन्द आह्‍वान गर्ने संघर्ष समितिमा सबै ठुला दल सम्बद्ध थारु संगठन, थारु कल्याणकारिणी सभा, जनजाति महासंघ, थारु नेतृत्वमा रहेका स्थानीय गैरसरकारी संस्था, मुक्त कमलहरी विकास मञ्चलगायतका करिव २ दर्जन संगठन छन्।

Leave a Reply

Your email address will not be published.