चुनावी सरकारबारे प्रमुख दलले के भने ?

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएपछि प्रमुख राजनीतिक दलका नेताहरूले यसलाई सकारात्मक रूपमा लिँदै अब मुलुकमा चुनाव हुने र देशले समाधान पाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले अहिलको अवस्था चुनौतीपूर्ण रहेपनि यो अवसरलाई उपयोग गरी राजनीतिक निकासका लागि चुनावमा एकसाथ जानुपर्ने र चुनावलाई राजनीतिक दल तथा नागरिक समाज सबै मिलेर सफल पार्नुपर्ने धारणा व्यक्त गरेका छन्।
मन्त्रिपरिषद्का अध्यक्षले आज बिहान शपथ लिएपछि राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिने क्रममा एमाओवादी, नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूले राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठन गरिएको बताउँदै चुनाव हुने कुरामा शङ्का गर्न नहुने धारणा व्यक्त गरे।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अहिलेको अवस्था लोकतन्त्र जोगाउने ठूलो अवसर हो भन्दै यो अवसरलई उपयोग गर्न चाहेको बताए। ‘यो ठूलो अवसर हो प्रजातन्त्रलाई जोगाउने, यसलाई नेपाली कांग्रेसले सहजताका साथ लिएको छ,’ सभापति कोइरालाले भने। नेपाली कांग्रेस लोकतन्त्रका मूल्य, मान्यता र आदर्शमा अडिग रहेको र त्यसमा कसैसँग सम्झौता नगर्ने उनले बताए।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न गर्न आफूहरूले राजनीतिक सहमतिको सरकार निर्माण गरिसकेको बताए। ‘हामीलाई विश्वास छ कि तोकिएको समयमा संविधानसभाको निर्वाचन हुन्छ, नेपाली जनताले ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनबाट जुन उपलब्धिबाट प्राप्त गरेका छन् ती उपलब्धिहरू संस्थागत हुनेछन्,’ उपाध्यक्ष गौतमले भने।
केही राजनीतिक दलले अहिलेको घटनाक्रमलाई विरोध गरेका छन् नी भन्ने प्रश्नमा उपाध्यक्ष गौतमले विरोध विगतमा पनि हुने गरेको, अहिले पनि हुने र भविष्यमा हुने भएपनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने र सबैलाई मिलाएर चुनावमा जाने बताए।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न पाएकामा सन्तुष्ट रहेको बताए। ‘यो सरकारलाई असारको पहिलो साताभित्र संविधानसभाको नयाँ निर्वाचन गराउने चुनौती छ तर हामी सबै दल, नागरिक समाज र नेपाली जनताले साथ दिएर त्यसलाई सफल पार्नुपर्छ,’ उपाध्यक्ष श्रेष्ठले भने।

उनले नयाँ सरकार निर्माणले देशलाई अनिर्णयको बन्दी बनाइराख्ने स्थितिको अन्त भएकाले यो सकारात्मक कुरा हो भन्दै नयाँ संविधान निर्माणका बाँकी काम पूरा गर्दै नयाँ नेपाल निर्माणका काममा अघि बढ्न यो कदम सहयोगिसिद्ध हुने बताए।

‘लामो समयदेखि राजनीतिक गतिरोध र देश अनिर्णयको बन्दी जस्तो थियो त्यसमा निकास मिलेको छ, चुनौती रहेपनि एउटा फड्को मारेको छ अब चुनाव सफल पार्नुपर्छ,’ उपाध्यक्ष श्रेष्ठले भने। उनले अहिलेको सरकार निर्माणमा असन्तुष्ट दलहरूसँग कुरा गर्ने र उहाँहरूले आफ्ना कोणबाट राखेका चिन्तालाई जायज रूपमा लिँदै चुनावी वातावरण तयार गर्ने बताए।

Leave a Reply

Your email address will not be published.