मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो?

Singh Durbarकाठमाडौं- सरकारले बहराइन र ओमानमा दूतावास खोल्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा धेरै नेपाली जाने ती दुई देशमा दूतावास खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। यस्तै, सरकारले चीनको ग्वाङजाउ र साउदी अरबको जेद्दामा कन्सुलर कार्यालय खोल्ने पनि निर्णय गरेको छ। यस्तै, सरकारले उज्वेकिस्तान र सामोआसँग कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय गरेको छ।
भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको नाम परिवर्तन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बनाइएको समेत प्रवक्ता यादवले जानकारी दिए। मन्त्रिपरिषद वैठकले कृषि विकास मन्त्रालयअन्तर्गतको पशु चिकित्सा परिषद्को अध्यक्षमा धनराज रताल, रजिस्टारमा डा नारायण घिमिरे र सदस्यसचिवमा डा सीताराम अर्याललाई नियुक्त गरिएको छ।
गरिबी घरपरिवार परिचयपत्र वितरणका लागि तयार पारिएको आर्थिक कार्यविधि २०६९ पारित गरिएको पनि प्रवक्ता यादवले जानकारी दिए। त्यस्तै, सगरमाथा आरोहणको हिरक महोत्सव मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीको संयोजकत्वमा एक समिति गठन गरिएको छ।
यस्तै, मन्त्रिपरिषद्ले साना किसान तथा उद्यमी ऋण मिनाहा कार्यविधि २०६९ समेत पारित गरेको छ भने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसन मण्डिखाटारका लागि रु २९ लाख ६६ हजार जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।
यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय रूपमा महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था सेडाको २०१५–२०१८ का लागि महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई नेपालको तर्फबाट उम्मेदवार बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
यसैगरी, उदयपुरको त्रियुगामा रहेको अव्यवस्थित जग्गा दर्ताका लागि समिति गठन गरेको छ भने पूर्णचन्द्र पौडेलको अध्यक्षतामा नगर सेवा निर्धारण समिति गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता यादवले जानकारी दिए।
मन्त्रिपरिषद्ले बिपी कोइराला विज्ञान सङ्ग्रहालय विकास समितिको अध्यक्षमा शोभाकान्त लामिछानेलाई नियुक्त गरेको भने नेपाल पारवहन व्यवस्था कम्पनी लिमिटेडको कार्यकारी निर्देशक उग्रसेन राना र व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक सुरेन्द्रधर सिग्देलको राजीनामा स्वीकृत गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.