सर्वहारीलाई मातृभाषा सेवा पुरस्कार

KRISHNA SARBAHARI PHOTO.docकाठमाडौं- मातृभाषा थारूमा विशेष योगदान पुर्‍याएवापत चैलाही–६ दाङदेउखुरीका कृष्णराज सर्वहारी राष्ट्र मातृभाषा सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट यसै बर्षबाट स्थापना गरिएको पुरस्कार मातृभाषा दिवसका दिन आगामी फरवरी २१ मा प्रदान गरिने छ। 
सर्वहारीले थारू भाषाको विभिन्न बिधामा पहिलो कृति दिएका छन्। उपन्यास फुटल करम (२०५५), मुक्तक संग्रह दोसर घर जाइबेर (२०५६), थारू–नेपाली हाइकु संग्रह समयका उच्छबासहरू (२०५९), लोककथा संग्रह मामा भान्जा, (२०६०), बालकथा संग्रह सुख्ली (२०६२) बालकविता संग्रह जोन्हू मामा (२०६२) तथा हाँस्यब्यंग्य संग्रह ढों ढों पों पों (२०६८) तत् बिधामा थारू भाषामा पहिलो कृति हुन्।
त्यस्तै उनको अन्य कृतिमा मुक्त कमैया सम्बन्धी उपन्यास गन्तव्य (२०५९), बिब्लियोग्राफी अफ इण्डिजिनियस इथ्निक थारू (२०६३, सहलेखन ), शान्तिको खोजीमा बालबालिका (२०६४), थारू इन्डिजिनियस नलेज एण्ड प्रेक्टिसेज (सन् २००६, सहलेखन), थारू लोककथा–१, (२०६७), छट्टु स्यालको बिहे (बालकथा २०६७), थारू गुर्‍वा र मंत्र ज्ञान (२०६९) पुस्तक प्रकाशित छन्।
बालपुस्तक अन्तर्गत सचित्रमय कथाको संगालो हलो जोत्ने माछा, अनारकलीको अन्तरकथा, तुलारामको चर्तिकला, सत्तलसिंहको कथा गरी ४ पुस्तक २०६६ सालमा प्रकाशित भएका छन्। यी नेपाली थारू दुवै भाषामा छन्।
कक्षा १ देखि ५ सम्मका थारू भाषाका पाठ्यपुस्तक लेखकसमेत रहेका सर्वहारीको आउनुहोस् थारू भाषा सिकौं (२०६८) पुस्तक साझा प्रकाशनबाट प्रकाशित छ। त्यस्तै थारू भाषामा लील बहादुर क्षेत्रीको बसाइ उपन्यासको अनुवाद साझाबाट प्रकाशनबाट प्रकाशोन्मुख रहेको छ।
उनले महिलाका हात (२०६४), द्वन्द्वका सुस्केरा (२०६४) तथा जीवलालके फूलरिया (२०६७) पुस्तक सम्पादन गरेका छन् भने बिहान, थारू संस्कृति, पहुरा (बार्षिक) लावा बिहान, गुर्वावा (चौमासिक) अग्रासन, सुचारू, जनपहुँच (मासिक) हमार सैडान, दंगाली आवाज, सर्वसम्मत बाटो (स्मारिका) लगायत पत्रिका सम्पादन गरेका छन्।
हालको राष्ट्र मातृभाषा सेवा पुरस्कारबाहेक उनले पद्मनाभ—तिलकुमारी राणा पुरस्कार (२०६०, दाङ्ग सहित्य तथा संस्कृति प्रतिष्ठान), तोयाराम–ईश्वरादेवी पाण्डेय साहित्य पुरस्कार (२०६३, लेखक संघ दाङ), देवीचन्द्र साहित्य पुरस्कार (२०६६, राप्ती साहित्य परिषद, दाङ), क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७, संस्कृति मंत्रालय), साझा लोकसाहित्य पुरस्कार (२०६७, साझा प्रकाशन) तथा ज्योतिसिंह साहित्य पुरस्कार (२०६८, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङ) प्राप्त गरेका छन्।
राष्ट्र मातृभाषा सेवा पुरस्कारबाट अमृत योञ्जन (तामाङ भाषा), गणेश राई (वाम्बुले राई भाषा) तथा बेचन उराँव (उराँव भाषा) पनि पुरस्कृत भएका छन्। पुरस्कारको रकम जनही १५ हजार रुपैया रहेको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सोही दिन फरवरी २१ मा मातृभाषी विशेष कवि गोष्ठी पनि आयोजना गर्दैछ।

Leave a Reply

Your email address will not be published.