एमाओवादीको महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रचण्ड निर्वाचित

हेटौंडा- एकीकृत नेकपा (माओवादी)को सातौं राष्ट्रिय महाधिवेशनले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतिले निर्वाचित गरेको छ। हेटौंडाको औद्योगिक क्षेत्रमा शुक्रबार सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि सर्वसम्मतिका रुपमा निर्वाचित भएका हुन्।
महासचिवमा पोष्टबहादुर बोगटी निर्वाचित भए। साथै, महाधिवेशनले एकसय ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरी ९८ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। पार्टीको सचिवलगायत अन्य पदाधिकारीहरु, पार्टी स्थायी समिति र पोलिटब्युरो केन्द्रीय समितिको बैठकले पछि मनोनयन गर्ने पार्टीले जनाएको छ।

अन्य सदस्यहरु भने पार्टी केन्द्रीय समितिको बैठक बसी आदिवासी, महिला, जनजाति, दलित, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यकबाट मनोनीत गरिने बताइएको छ। महाधिवेशनको बन्दसत्रमा ज्येष्ठताको आधारमा पार्टी नेता अमिक शेरचनले पार्टी अध्यक्षका लागि डा बाबुराम भट्टराईलाई प्रस्ताव गरेका थिए। सो प्रस्ताव आइसकेपछि भट्टराईले ‘नेताको पनि नेता प्रचण्ड’ नै भएको भन्दै उहाँलाई नै अध्यक्षका लागि प्रस्ताव गरेका थिए। सो प्रस्तावमा अर्का नेता नारायणकाजी श्रेष्ठले समर्थन जनाए।
महाधिवेशनमा समापन मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि सबैले भरोसा गर्ने व्यक्तिको रुपमा बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर अगाडि जाने आफ्नो पार्टीको निर्णय भएको र अरु राजनीतिक दलहरुसँग वार्ता र सम्वादमार्फत सो निर्णयलाई कार्यान्वयन गरिने बताए।
“हालको गत्यावरोध तोड्नका लागि हामीले हाम्रै नेतृत्वको राष्ट्रिय सहमतिको सरकार, त्यो नभए गठबन्धनबाट सरकार र त्यो पनि नभए स्वतन्त्र व्यक्तिबाट सरकार गठन गर्ने प्रस्ताव अगाडि सारेका थियौं, विपक्षी दलहरु त्यसका लागि सहमत नभएपछि प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव अगाडि सारेको हो,” उनले भने।
उनले अगाडि भने, “खुला हृदयका साथ हामीले यो प्रस्ताव ल्याएका हौं, यो प्रस्तावअनुसार विपक्षी दलहरु सहमतिमा आउँछन् र जेठ १५ भित्र संविधानसभाको नयाँ निर्वाचन हुन्छ भन्ने विश्वास पनि हामीले लिएका छौं।”
अध्यक्ष प्रचण्डले जनतालाई श्रमसँग जोड्नका लागि समाजवादी आर्थिक नीति अगाडि सारिएको र त्यो नीतिअन्तर्गत पुँजीवादी जनवादी क्रान्ति सम्पन्न हुने समेत विश्वास व्यक्त गरे।
समापन मन्तव्यअघि बन्दसत्र हलमा अध्यक्ष प्रचण्डले स्वयम् हललाई साक्षी राखी प्रतिबद्धता पत्र वाचन गरेका थिए। उनले सो प्रतिबद्धता पत्र वाचन गरिसकेपछि पार्टी उपाध्यक्षद्वय, महासचिव र नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रतिबद्धता पत्र वाचन गर्न लगाइएको थियो।
अध्यक्षको समापन मन्तव्यसँगै एमाओवादीको एकताको सातौं महाधिवेशन सम्पन्न भएको छ। सो महाधिवेशन यही माघ २० गते सुरु भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.