निर्वाचन सुनिश्चितताका लागि कांग्रेस नेतृत्वको सरकार : गगन थापा

स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा निर्वाचन सुनिश्चितताका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका छन्। नेता थापाले मुलुकमा निर्वाचन गराउनका लागि काँग्रेस नेतृत्व मात्रै सफल भएको दाबीसमेत गरे। नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले यदि कुनै दलले निर्वाचनको सुनिश्चितता गर्न सक्छ भने काँग्रेस सत्तामा नजाने पनि स्पष्ट पारे।
एमाओवादीले पटकपटक निर्वाचनको नाममा सत्ताको आयु लम्ब्याउने प्रपञ्चमा लागेको आरोप लगाउँदै नेता थापाले भने– “निर्वाचनको घोषणा गरेजस्तो पनि गर्ने अनि निर्वाचनमा जान नचाहने माओवादी प्रवृत्तिका कारण मुलुकमा चुनाव हुन नसकेको हो।”
प्रतिपक्ष दलहरुले घोषणा गरेका विरोधका कार्यक्रम सहमतिका लागि भएको बताए। “विरोध कार्यक्रमबाट सहमति जुटे त्यो सहमति एमाओवादी सहितको सहमति हुन्छ”– नेता थापाले भने– “यदि त्यसबाट सहमति नजुटेर जनआन्दोलन भयो भने त्यो एमाओवादी बाहेकको सहमति हुन्छ, त्यो कुरा एमाओवादीले बुझ्न जरुरी छ।”
दलीय सहमतिबाट प्रधानमन्त्रीको टुङ्गो लाग्न नसकेपछि राष्ट्रपतिले अर्को विकल्प निकाल्न जरुरी रहेको थापाले बताउनुभयो। उहाँले अन्तरिम संविधानको धारा ३८ को उपधारा १ बाट सहमति जुट्न नसकेपछि धारा ३८ को उपधारा २ अनुसार सरकार निर्माणका लागि राष्ट्रपति लाग्नुपर्ने बताए।
अन्तरिम संविधानको संरक्षकका हैसियले राष्ट्रपतिले सरकार गठनका लागि प्रक्रिया थालेपछि रोक्न नमिल्ने तर्क गर्दै उनले भने– “धारा ३८ (१) बाट सहमति भएन, अब धारा ३८ (२) अनुसार विघटित संविधानसभाको बहुमतका आधारमा दलहरुलाई आह्‍वान गरेर सरकार गठन गर्नुपर्छ, अहिलेका लागि उत्तम विकल्प नै यही हो।” रासस

Leave a Reply

Your email address will not be published.