जीनत ६१ मा बिहे गर्दै

मुम्बई– आफ्नो जमानामा ‘सेक्स सिम्बोल’ रहेकी अभिनेत्री जीनत अमानले दोस्रोपटक बिहे गर्ने भएकी छन्। ‘हरे राम हरे कृष्ण (१९७२)’, ‘यादों की बारात (१९७३)’, ‘डन (१९७८)’ जस्ता फिल्मबाट तहल्का मच्चाएकी जीनत अहिले ६१ वर्ष पुगिन्। उनले सन् १९८५ मा मजार खानसँग बिहे गरेका थिए, जोसँगको सम्बन्धबाट उनका दुई छोरा अजान (२६) र जहान (२३) छन्। पति मजारको सन् १९९८ मा निधन भएपछि जीनत छोराहरुसँगै बस्दै आएकी छन्। सन् १९८० देखि एक वर्ष जीनतको नाम फिल्म निर्माता, अभिनेता सञ्जय खानसँग जोडिएको थियो।
आमाले बिहे गर्ने निर्णय लिएपछि दुई छोरा आश्चर्यमा परेका छन्। तर दुवैले आमालाई बिहेको लागि शुभकामना दिइसकेका छन्। जीनतले आफूले बिहे गर्न लागेको पुरुषको नाम खुलाएकी छैनन्। यद्यपि हुनेवाला पति भारतीय भएको चाहिँ उनले अवगत गराइन्।
हिन्दु आमा र मुस्लिम बुबाको परिवारमा जन्मिएकी जीनत मिस इन्डियामा सेकेन्ड रनरअप हुँदै सन् १९७० मा मिस एसिया प्यासिफिकमा भाग लिएर ताज पहिरिएकी थिइन्।
‘मेरो पतिको निधन एउटा दुःखद पाटो हो, अहिले अर्को बिहे गर्ने निर्णय सामान्य होइन तैपनि मैले जुन बाटो रोजेकी छु, भगवानको इच्छाविपरीत चाहिँ होइन,’ उनले भनिन्, ‘मेरो जीवनमा केही वर्षदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको व्यक्तिसँग बिहे हुन लागेको हो, अहिले म आफूलाई फेरि जवान भएको महसुस गर्दैछु।’

Leave a Reply

Your email address will not be published.